काठमाडौं- नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा उम्मेदवारहरूले प्यानल बनाउन नपाउने भएका छन् । कुनै पनि समूहको अथवा साथीभाइको प्यानल बनाउन समेत नपाइने भएको हो ।
बन्दसत्रमा सभापति गगन थापा, उपसभापति विश्वप्रकाश शर्मा र अरु नेताहरुले प्यानल बनाउन नपाइने निर्णय गरेका हुन् । मंगलबार बिहान पनि प्यानलको विषयमा अरु नेताहरुले चासो राखेपछि कसैलाई पनि प्यानल बनाउन नपाइने भएको छ ।
‘महाधिवेशनमा कुनै पनि प्यानल बन्दैन । जसले जित्छ कांग्रेसीले नै जित्छ । उपस्थित हुनुभएका सात हजारभन्दा धेरै प्रतिनिधिले कसलाई मत हाल्न मन पराउनुहुन्छ, त्यसैलाई हाल्न पाउनुहुन्छ,’ उपसभापति शर्माले भने, ‘चिर्कटो बाँड्ने प्यानल वितरण गर्ने सबै काम यसपटक हामीले अन्त्य गर्ने निर्णय गरेका छौँ । यसपालिको महाधिवेशन विशेष र भयरहित हुन्छ ।’
उसो त कांग्रेसको उद्घाटन सत्रमा पनि उपसभापति शर्माले यस्ता गतिविधि रोकिने बताएका थिए । असार ७ देखि १२ गतेसम्म चितवनमा भएको राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनमा पनि प्यानल बनाउन नपाइने निर्णय भएको थियो । तर, पछि प्यानल वितरण भएपछि नेताहरू असन्तुष्ट थिए ।
यसबारे प्रश्न गर्दा महामन्त्री प्रदीप पौडेल कसले के गर्यो भन्ने विषय कांग्रेसमा नचल्ने बताउँदै कुनै पनि नेताले आफ्नो प्यानल बाँडेको खण्डमा तत्काल कारबाहीको प्रक्रियामा गएर उम्मेदवारी समेत खारेज हुन सक्ने बताएका छन् ।
‘एक पटक नेताहरूलाई भनेपछि त्यस्तो अभ्यास कांग्रेसमा गर्नुहुन्न । यदि त्यस्तो अभ्यास कसैले पनि गर्ने आँट गरेछ भने उहाँहरूको उम्मेदवारीसम्म खारेज हुनसक्छ । त्यसकारण कुनै पनि प्यानल बन्दैन । स्वतन्त्र ढंगले आफ्ना उम्मेदवारी राख्न पाउने र प्रचार गर्न पाउने छुट छ,’ पौडेलले अगाडि भने, ‘साथीभाइले कसैलाई मत दिनुहोस् भनेर माग्न त सकियो । तर प्यानलै बनाएर यसलाई भोट हाल्ने यसलाई नहाल्ने भन्ने किसिमका चिर्कटो र पत्रहरु बाँड्ने काम यसपालि हुँदैन ।’
योग्यता पुगेकालाई उम्मेदवारीमा नरोक्ने
यस महाधिवेशनमा योग्यता पुगेका जोकोही व्यक्तिले उम्मेदवारी दिन चाहेको खण्डमा नरोक्ने तयारी छ । अहिले उम्मेदवारी दर्ताको समय नजिकिँदै गर्दा कसैले पनि योग्यता पुगेको खण्डमा उम्मेदवारी दर्ता गर्न पाउने भएका हुन् । सर्वसम्मतिको प्रक्रिया सकिएपछि उम्मेदवारी दर्ता गर्नका लागि कुनै रोकछेक नगरिएको नेताहरुले बताएका छन् ।
‘योग्यता पुगेका जुनसुकै व्यक्तिले पनि उम्मेदवारी दिन पाउनुहुन्छ, सर्वसम्मति नभएपछि जसले पनि उम्मेदवारी दिएर आफ्नो क्षमता अनुसारको पदमा इच्छा जाहेर गर्न छुट छ,’ महामन्त्री गुरु घिमिरे भन्छन्, ‘साथीभाइका बीचमा आपसी समझदारी भएर उहाँहरुले आफै छोड्न चाहनुभयो भने त्यसमा कसैले केही भन्ने कुरा आउँदैन । तर उम्मेदवारी फिर्ता लेउ म अगाडि जान्छु तिमीले यो पदमा उठ्न पाउँदैनौँ, मलाई सहयोग गर भन्ने लगायतका कुराहरुमा कसैले पनि दबाब दिँदैन ।’
नेताहरू सभापति पदमा समेत चुनाव हुने अवस्था रहेको बताउँछन् । सभापतिमा पनि नेताहरूले इच्छाजाहेर गरेकाले सर्वसम्मतिको सम्भावना नरहेको उनीहरूको भनाइ छ । ‘सबै पदहरूमा निर्वाचन हुने सम्भावना छ । सभापतिमा पनि साथीहरुले इच्छाजाहेर गर्नुभएकोले अब उहाँहरुलाई रोकौँ भन्ने अवस्था हुँदैन,’ कांग्रेसका एक नेता भन्छन, ‘लोकतान्त्रिक प्रक्रियालाई अपनाएर जाने विषयमा सबैलाई छुट रहन्छ तर सभापति निर्विकल्प रुपमा आउनुपर्छ भन्ने धेरै जनाको मत थियो । तर साथीहरुले इच्छा जाहेर गरेपछि नरोक्ने भन्ने कुरा भएको छ ।’
गगनले पनि सभापतिको उम्मेदवारमा अरु नेताहरूलाई रोक्नुपर्ने अडान लिएका छैनन् । उनले निर्वाचन नै लड्नुपर्ने अवस्था आएपनि आफू तयार भएको कारण कसैलाई पनि नरोक्न आग्रह गरिएको बताइएको छ । १५औँ महाधिवेशनबाट २९७ सदस्यीय केन्द्रीय समिति बन्नेछ । पदाधिकारीको संख्या पनि २५ पुर्याइएको छ । पार्टीले अहिले महिलासहित एक जना उपसभापति र एक वरिष्ठ उपासभापति थपेको छ । यस्तै, महामन्त्रीमा पनि एक महिला अनिवार्य सहित तीन जना रहने व्यवस्था मिलाइएको छ ।
१५ जनाको सहमहामन्त्री मण्डल हुनेछ । कोषाध्यक्ष तथा ६६ मनोनीत केन्द्रीय पार्टी सभापतिले चुन्नेछन् । अहिले उम्मेदवारी दर्ताका लागि उत्साहित ढङ्गले नेताहरू आफ्ना प्रस्तावक र समर्थक लिएर अगाडि बढेका छन् ।














प्रतिक्रिया