काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशन प्रतिनिधि बनेका अर्जुन बस्नेतले अब सहरमा बसेर गाउँका कार्यकर्तालाई आदेश दिएकै भरमा पार्टी नचल्ने बताएका छन् ।
बस्नेतले भने, “कांग्रेसमा सहरमा बसेर गाउँका मान्छेलाई आदेश दिने परिपाटी छ। नयाँ नेतृत्वले त्यसको अन्त्य गर्नुपर्छ। जनताका समस्या समाधानका लागि केन्द्रका नेताले भूगोलमै पुगेर आवाज उठाउन सक्नुपर्छ। जनताका समस्या समाधान गर्न नसकेसम्म राजनीति सम्भव छैन भन्ने मलाई लाग्छ।”
अधिवक्तासमेत रहेका केदार कार्कीलाई भोजपुरबाट पराजित गर्दै महाधिवेशन प्रतिनिधि बनेका बस्नेतले अब जनताको सुखदुःखमा साथ नदिने व्यक्ति नेता बन्न नसक्ने दाबी गरे।
“कांग्रेस महाधिवेशनबाट जुझारु नेतृत्व चयन हुनुपर्छ। जनताको पक्षमा नीति बनाएर आवश्यक ठाउँमा बोल्न सक्ने र जनताले प्रत्यक्ष लाभ पाउने निर्णय गर्न सक्ने नेतृत्व १५औँ महाधिवेशनले चुन्नुपर्छ,” उनले थपे।
नेपाली कांग्रेसभित्र आफ्ना निर्विकल्प नेता गगन थापा रहेको बताउने बस्नेत पत्रकारिता क्षेत्र हुँदै राजनीतिमा सक्रिय भएका हुन्। नेपाल प्रेस युनियन भोजपुरका अध्यक्ष बस्नेत नेपाल पत्रकार महासंघ भोजपुर जिल्ला शाखाका सचिवसमेत हुन्। उनी लामो समयदेखि भोजपुरमै रहेर पत्रकारितामा क्रियाशील छन्।














प्रतिक्रिया