काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पदाधिकारी चयनका लागि मंगलबार राष्ट्रिय सभागृहस्थित निर्वाचन कार्यालयमा नेताको मनोनयन दर्ता तीव्र बनेको छ।
पार्टीको उपसभापति पदका लागि डा. मिनेन्द्र रिजाल, पुष्पा भुषाल, गोविन्द भट्टराई, देवराज चालिसे, विनोद चौधरी र मधु आचार्य गरेर ६ जना नेताहरूले उम्मेदवारी दर्ता गराएका छन्।
संशोधित विधानअनुसार यस पटक एक वरिष्ठ र एक महिलासहित कुल चार जना उपसभापति निर्वाचित हुने व्यवस्था गरिएको छ।
उम्मेदवारी दर्तापछि नेविसंघका पूर्वअध्यक्षसमेत रहेका नेता गोविन्द भट्टराईले पार्टीलाई गुटमुक्त, एकताबद्ध र बलियो बनाउन उपसभापतिमा दाबी पेस गरेको बताएका छन्।
त्यस्तै, विशेष महाधिवेशनपछि प्रवक्ताको जिम्मेवारी सम्हालेका देवराज चालिसेले साङ्गठनिक सुदृढीकरणका लागि उपसभापतिमा मनोनयन गराएको जानकारी दिए।
उता, मोरङबाट महाधिवेशन प्रतिनिधि बनेका पूर्वमन्त्री डा. मिनेन्द्र रिजाल र काभ्रेका पूर्वसभापति मधु आचार्यले पनि उपसभापतिमा उम्मेदवारी दर्ता गराएका छन्।
उद्योगी एवं केन्द्रीय सदस्य विनोद चौधरीले समावेशी समूहबाट र पूर्वउपसभामुख पुष्पा भुषालले महिला उपसभापति समूहबाट मनोनयन पत्र दर्ता गराएकी हुन्।
वरिष्ठ उपसभापति पदमा भने उपसभापति विश्वप्रकाश शर्माको मात्र उम्मेदवारी दर्ता भएको छ । कांग्रेस महाधिवेशन निर्वाचन समितिले उम्मेदवारी दर्ताका लागि साँझ ६ बजेसम्मको समय दिएको छ ।
महाधिवेशनमार्फत चयन हुने नयाँ नेतृत्वका लागि देशभरबाट आएका ७ हजार १ सय १४ जना महाधिवेशन प्रतिनिधिले मतदान गर्नेछन्। निर्वाचन तालिकाअनुसार आगामी बिहीबार मतदान हुने कार्यक्रम छ।














प्रतिक्रिया