पेरिस- विश्वव्यापी तापक्रम वृद्धि र जलवायुजन्य क्षति बढिरहेका बेला टर्कीको अन्ताल्यामा आगामी नोभेम्बर ९ देखि सुरु हुने कोप–३१ सम्मेलनमा जलवायु वित्त, ऊर्जा रूपान्तरण र बढ्दो जलवायु सङ्कट प्रमुख मुद्दा बन्ने भएका छन्।
यसपटक टर्कीले सम्मेलन आयोजना गर्दैछ भने अस्ट्रेलियाले वार्ताको नेतृत्व गर्नेछ। जीवाश्म इन्धनको प्रयोग घटाउने उपायका रूपमा ‘विद्युतीकरण’लाई विशेष प्राथमिकता दिइने भएको छ। सन् २०३५ सम्म अन्तिम ऊर्जा मागमा विद्युत्को हिस्सा २० प्रतिशतबाट बढाएर ३५ प्रतिशत पुर्याउने स्वैच्छिक लक्ष्यमा राष्ट्रहरूलाई प्रतिबद्ध गराउने प्रयास हुनेछ।
तर जीवाश्म इन्धनलाई चरणबद्ध रूपमा हटाउने विषयमा भने विश्वव्यापी सहमति जुट्न सकेको छैन। गत वर्षको कोप सम्मेलनमा यस विषयमा सहमति हुन नसकेपछि ब्राजिलले कोइला, तेल र ग्यासबाट टाढा जान मार्गदर्शन गर्ने स्वैच्छिक ‘रोडम्याप’ जारी गर्ने अपेक्षा गरिएको छ। यस वर्ष करिब ६० राष्ट्रले जीवाश्म इन्धनको प्रयोग घटाउन तीव्र कदम चाल्न माग गर्दै छुट्टै सम्मेलनसमेत आयोजना गरेका छन्।
विद्युतीकरणअन्तर्गत डिजेलबाट चल्ने सवारीसाधन तथा ग्यासमा आधारित ताप प्रणालीको स्थानमा विद्युतीय विकल्प प्रयोग गर्ने अवधारणा अघि सारिएको छ। तर विश्वको करिब एकतिहाइ विद्युत् अझै कोइलाबाट उत्पादन हुने भएकाले स्वच्छ ऊर्जाको माग पूरा गर्न थप विद्युत् कसरी उत्पादन गर्ने भन्ने चुनौती पनि रहेको छ।
टर्कीले कृत्रिम बुद्धिमत्ता (एआई), मिथेन उत्सर्जन, फोहोर व्यवस्थापन र जलवायु अनुकूल सहर निर्माणलगायत विषयमा गैरबाध्यकारी पहल अघि बढाउने तयारी गरेको छ। औपचारिक वार्तामा भने अघिल्ला सम्मेलनबाट बाँकी रहेका प्राविधिक विषयमा छलफल हुने अपेक्षा गरिएको छ।
जलवायुजन्य विपद्बाट प्रभावित गरिब राष्ट्रहरूले नवीकरणीय ऊर्जातर्फ रूपान्तरण, जलवायु अनुकूलन तथा विपद्पछिको पुनःस्थापनाका लागि विकसित राष्ट्रबाट थप आर्थिक सहयोग माग्दै आएका छन्। कोप–३१ का अध्यक्ष मुरात कुरुमले जलवायु वित्तको ‘खाडल’ पुर्नु अन्ताल्याको प्रमुख प्राथमिकता हुने बताएका छन्।
यसैबीच, सन् २०२८ मा हुने कोप–३३ मा जलवायु कार्यको प्रगतिको ‘ग्लोबल स्टकटेक’ गरिनेछ। भारतले आफ्नो उम्मेदवारी फिर्ता लिएपछि कोप–३३ को आयोजक देश अझै तय भएको छैन। संयुक्त राज्य अमेरिका जलवायु विषयमा अनुपस्थित रहेको अवस्थामा चीनले कोप–३३ आयोजना गर्नेबारे विचार गरिरहेको बताइएको छ।














प्रतिक्रिया