‘हिम्मत हारेको छैन, फेरि उठ्नेछु’ « Khabarhub

‘हिम्मत हारेको छैन, फेरि उठ्नेछु’


२० आश्विन २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

गण्डकी– बाढीले उजाड पारेको ‘दरमखोला रेम्बो ट्राउट तथा एग्रो रिसोर्ट’ को भग्नावशेषछेउ बसेर रिसोर्टका सञ्चालक हुम थापाले गत बिहीबार सामाजिक सञ्जाल फेसबुकमा तस्बिरसहित ‘पोस्ट’ साझा गरे, ‘परिस्थिति जस्तो भए पनि सुखदुःखमा साथ दिने प्यारो जङ्गे’ । 

उक्त तस्बिर लिँदा थापाको साथमा थियो उहाँको प्यारो ‘कुकुर’ अर्थात् जङ्गे । जुन रिसोर्टको रेखदेख र सुरक्षामा सहयोगी बन्दै आएको थियो । 

दरमखोलाको बाढीले बागलुङको गलकोट नगरपालिका–७ मल्मका युवा उद्यमी थापाको रिसोर्टसहित त्यस क्षेत्रमा ल्याएको विपद्को कहर बुझ्न त्यही तस्बिर नै प्रयाप्त थियो । 

त्यो देखेपछि धेरै आफन्त र शुभेच्छुकले उनलाई सहानभूति मात्र दिएनन् । संकटका बेला हार नखान ढाडस दिए । कतिले साथ र सहयोगको बचन दिए । थापा अहिले आफूलाई सम्हाल्दै छन्। झण्डै दुई करोडको लगानीमा बनेको रिसोर्टलाई पुनःसञ्चालनमा ल्याउन हिम्मत बटुलिरहेका छन् । 

गलकोट नगरपालिका–३ चिसापानीमा रहेको उक्त रिसोर्ट पछिल्लो समय पर्यटकीय गन्तव्यस्थलका रूपमा समेत विकास भइरहेको थियो । थापाले छ वर्षअघि जिल्लामै पहिलोपटक पौडी पोखरीसहितको रिसोर्ट सञ्चालनमा ल्याएकाथिए । रेम्बो ट्राउट जातको माछापालनका कारण पनि चिसापानीको अलग्गै पहिचान बनेको थियो । थापाले पर्यटकको आकर्षणका लागि पिङ, बगैँचालगायतका संरचना निर्माण गरेका थिए।  

रेम्बो ट्राउट र स्थानीय दरमखोलाको असला माछाका परिकारका लागि रिसोर्ट परिचित थियो । प्राकृतिक वातावरण रुचाउने पर्यटकको बासका लागि पनि परम्परात शैलीको घर पनि निर्माण गरिएको थियो । थापा निकट भविष्यमा ‘स्काइ साइक्लिङ’ र ‘जिपलाइन’ सञ्चालन गर्ने योजनामा थिए। ‘कोभिड–१९’ महामारीपछि रिसोर्ट विस्तारै व्यावसायिक रूपमा सफल हुँदै थियो । पर्यटक र पाहुनाको आकर्षण बढेको थियो । 

सुरुमा रु एक करोड लगानीबाट सुरु गरिएको व्यवसायमा अहिले  दुई करोड बढी लगानी पुगिसकेको थापाले बताए। 

‘रिसोर्टमा बर्सेनि नयाँनयाँ संरचना थप्दै ल्याएको थिएँ, अहिलेको बाढीले सबै सपना क्षणभरमै चकनाचूर पार्‍यो’, उनले भने, ‘प्रकृतिसँग कसैको केही नचल्ने रहेछ, देशविदेशमा रहनुभएका साथीभाइ र आफन्तको साथ–सहयोग र हौसलाले फेरि उठ्ने प्रयासमा छु, नयाँ सोच र नयाँपनका साथ रिसोर्ट पुनःसञ्चालनमा आउनेछ ।’

बाढीले पौडीपोखरी, रेष्टुरेण्ट, बगैँचासहित रिसोर्टका मुख्य संरचनामा क्षति पुर्‍याएको थापाले बताउनुभयो । पुनःनिर्माणमा झण्डै एक करोड खर्च लाग्ने देखिएको उनको भनाइ छ । 

दरमखोला किनारमा रहेको रिसोर्टको जग्गामा बाढीले कटान गरेकाले तटबन्धलगायतका काममा पनि ठूलो खर्च हुने थापाले बताए । विदेश जाने सोच त्यागेर घरगाउँमै बसेर उद्यमी बन्ने थापाको आँट र योजना देखेर धेरैले उनको प्रशंसा गर्ने गरेका छन् । रिसोर्टमा सात जनाले रोजगारी गर्दै आएका थिए । अहिले उनीहरूको रोजीरोटी पनि खोसिएको छ । 

‘व्यवसायलाई फेरी उठाउनुपर्छ भनेर देशविदेशबाट आफन्त र शुभेच्छुकहरूले स्वतःस्फूर्त रूपमा सहयोग गरिरहेका छन्’, थापाले भने, ‘सबैले हामी साथमा छौँ भन्नुभएको छ, हिम्मत दिनुभएको छ, पुनःनिर्माणपछि छिट्टै रिसोर्ट सञ्चालनमा आउनेछ ।’ गलकोट नगरपालिकासहित राज्यका निकायबाट थोरै भएपनि राहत पाउनेमा आफू आशावादी रहेको उनले बताए।  

बाढीले रेम्बो ट्राउट र स्थानीय जातको माछापालनका लागि बनाइएका पोखरीमा भने क्षति पुर्‍याएको छैन । रिसोर्ट करिब २७ रोपनी क्षेत्रफलमा फैलिएको छ । रेम्बो ट्राउटका ३० हजार भुरा छाड्न मिल्ने गरी बनाइएका दश पोखरीले ठूलो क्षेत्रफल ओगटेका छन् । उक्त स्थानमा रहेको पानी परीक्षणपछि उपयुक्त देखिएपछि थापाले ट्राउट माछाापलन सुरु गरेका थिए । 

ट्राउट १२ देखि १८ डिग्रीको तापक्रममा पाल्न सकिने प्राविधिक बताउँछन् । जापानी प्रजातिको ट्राउट माछा स्वाद र स्वास्थ्य दुवै हिसाबले उत्कृष्ट मानिन्छ । बजारमा पनि ट्राउटको माग बढी छ । दरमखोलाको असला माछा पनि त्यस क्षेत्रमा प्रख्यात छ । उक्त माछाको सुकुटी देशविदेशमा कोशेलीको रूपमा लैजाने गरिन्छ । होटल, रेष्टुराँमा पनि असला माछाको रोजाइँ अत्यधिक छ ।

आन्तरिक पर्यटकलाई लक्षित गरी रिसोर्ट खोलेको थापाको भनाइ छ । केही वर्षअघि पौडी पोखरीमा भलिबल प्रतियोगिता सञ्चालन गरेपछि उक्त रिसोर्ट चर्चामा आएको थियो । 

पछिल्लो समय चाडपर्व र बिदाका बेलामा रिसोर्ट घुम्न आउनेको सङ्ख्या उल्लेख्य रहने गरेको थियो । रिसोर्टलाई गलकोट–३ हटिया बजार र गलकोट–७ मल्मको आँगाखेत तर्फबाट सडकले जोडेकाले आउजाउ गर्न पनि सहज छ । 

यही असोज ८ गतेदेखि ११ गतेसम्मको निरन्तरको वर्षाले दरमखोलामा आएको बाढीले व्यावसायिक संरचनासहित घरगोठ, खेत, सडक, भवनलगायत सार्वजनिक पूर्वाधारमा ठूलो क्षति पुगेको गलकोट नगरपालिकाका प्रमुख भरत शर्मा गैरेले बताए। 

नगरभित्र करिब तीन सय रोपनी क्षेत्रफलको धानबाली बाढीसँगै बगेको उनको भनाइ छ । वडा नं। ९ को कार्यालय भवनसँगै ६३ घरमा पूर्ण रूपमा क्षति पुगेको नगरपालिकाले जनाएको छ । बाढीपहिरोमा परी बागलुङ जिल्लाभर १५ जनाको ज्यान गएको छ भने ठूलो भौतिक क्षति भएको छ ।

प्रकाशित मिति : २० आश्विन २०८३, मंगलबार  ५ : २० बजे

बाँकेमा एक वर्षमा ४१७ जनाले लिए सुरक्षित गर्भपतन सेवा

नेपालगञ्ज– बाँके जिल्लामा सुरक्षित गर्भपतन सेवा लिनेको सङ्ख्या अघिल्लो आर्थिक

कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी दर्ता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका लागि गगनकुमार थापाले

दसैँमा देशभर लिङ्गे पिङ निर्माण गर्दै पर्यटन बोर्ड

काठमाडौं– नेपालीहरूको महान् पर्व बडादसैँको अवसरमा मौलिक संस्कृति, परम्परा र

रजनीकान्त फेरि ‘टाइगर’ अवतारमा, ‘जेलर-२’ को ट्रेलर सार्वजनिक

काठमाडौं- दक्षिण भारतीय सुपरस्टार रजनीकान्त फेरि एकपटक आफ्नो चर्चित पात्र

‘हिम्मत हारेको छैन, फेरि उठ्नेछु’

गण्डकी– बाढीले उजाड पारेको ‘दरमखोला रेम्बो ट्राउट तथा एग्रो रिसोर्ट’