नयाँदिल्ली– भारतमा सञ्चालनमा रहेका सेभेन–इलेभेनका सबै कन्भिनियन्स स्टोर बन्द भएका छन्। कम्पनीको जापानी मातृ संस्था ‘सेभेन एन्ड आई होल्डिङ्स’ले भारतमा रहेका आफ्ना सबै स्टोर सेप्टेम्बर ३० देखि बन्द भएको मंगलबार पुष्टि गरेको हो।
मुम्बई र पुणेमा सञ्चालनमा रहेका ३१ वटा सेभेन–इलेभेन स्टोर मास्टर फ्रान्चाइजी रिलायन्स रिटेलले बन्द गरेको कम्पनीले जनाएको छ।
‘सेभेन एन्ड आई होल्डिङ्स’का अनुसार रिलायन्स रिटेलले ३० सेप्टेम्बरमा भारतमा सञ्चालन गरिरहेका सबै ३१ स्टोर बन्द गरेको हो। कम्पनीले स्टोर बन्द गर्नुको विस्तृत कारण भने सार्वजनिक गरेको छैन।
स्थानीय सञ्चारमाध्यमका अनुसार भारतीय खुद्रा बजारमा बढ्दो प्रतिस्पर्धाका कारण सेभेन–इलेभेनलाई व्यवसाय सञ्चालन गर्न चुनौती भएको थियो। जापानका राष्ट्रिय दैनिक ‘निक्केई’ र ‘योमिउरी’ले पनि स्थानीय खुद्रा विक्रेतासँगको कडा प्रतिस्पर्धाका कारण कम्पनीले चुनौती सामना गर्नुपरेको उल्लेख गरेका छन्।
रिलायन्स रिटेलसँग इजाजतपत्र सम्झौता गरेपछि सेभेन–इलेभेनले सन् २०२१ को अक्टोबरमा मुम्बईमा आफ्नो पहिलो भारतीय स्टोर सञ्चालनमा ल्याएको थियो। त्यसपछि कम्पनीको विस्तार करिब ६० स्थानसम्म भएको ‘सेभेन एन्ड आई होल्डिङ्स’का प्रवक्ताले बताएका छन्।
विश्वकै ठूलो कन्भिनियन्स स्टोर शृङ्खलामध्ये एक सेभेन–इलेभेनका स्टोरहरू प्रायः लामो समय वा २४ घण्टा सञ्चालन हुने गर्छन्। यस्ता स्टोरमा छिटो खरिद गर्न सकिने खाजा, पेय पदार्थ तथा दैनिक उपभोग्य सामग्री बिक्री गरिन्छ।
यद्यपि, सेभेन–इलेभेनले भारतबाट दीर्घकालीन रूपमा बाहिरिने निर्णय नगरेको जनाएको छ। कम्पनीले भारतमा ग्राहकलाई सेवा दिने आफ्नो चाहना कायमै रहेको भन्दै दीर्घकालीन रूपमा बजारमा उपस्थिति विस्तार गर्न विभिन्न विकल्प खोज्ने जनाएको छ।
यसैबीच, सेभेन–इलेभेनको प्रतिस्पर्धी जापानी कम्पनी ‘लसन’ले सन् २०२७ मा भारतमा आफ्नो पहिलो स्टोर खोल्ने तयारी गरेको छ। लसनले सन् २०३० सम्म भारतमा करिब १०० वटा स्टोर सञ्चालन गर्ने लक्ष्य राखेको बताइएको छ।














प्रतिक्रिया