काठमाडौं- बलिउड बादशाह शाहरुख खान र अभिनेत्री करिना कपूरलाई पर्दामा सँगै हेर्ने दर्शकको चाहना अब फेरि पूरा हुने भएको छ । शाहरुखको बहुप्रतीक्षित एक्सन फिल्म ‘किङ’ मा करिना विशेष गीतमार्फत जोडिने तयारीमा छिन् । यदि यो योजना अनुसार अघि बढ्यो भने दुई कलाकार करिब १५ वर्षपछि एकैपटक पर्दामा देखिनेछन् ।
भारतीय सञ्चारमाध्यम पिङ्कभिल्लाका अनुसार करिनाले ‘किङ’ का लागि शाहरुखसँग विशेष गीतमा नृत्य गर्ने भएकी छन् । ‘ड्याडी कुल’ नाम दिइएको उक्त गीतको छायाङ्कन दक्षिण अफ्रिकामा गर्ने तयारी भइरहेको छ । गीतका लागि करिनाले करिब पाँच दिन समय छुट्याएको बताइएको छ ।
यो गीतलाई सामान्य आइटम गीतभन्दा फरक र विशेष बनाउने तयारी भइरहेको छ । शाहरुख र करिनालाई दर्शकले यसअघि नदेखेको शैलीमा प्रस्तुत गर्ने निर्माण पक्षको योजना छ । गीतमा भारतका साथै अन्तर्राष्ट्रिय कलाकारको समेत सहभागिता रहने बताइएको छ । यद्यपि उनीहरूको नाम र गीतमा सहभागी हुने गायकको परिचय भने अहिलेसम्म गोप्य राखिएको छ। गीतमा सचिन–जिगरको संगीत रहनेछ ।
शाहरुख र करिनाको जोडीले यसअघि ‘रा-वन’मा सँगै काम गरेको थियो । सन् २०११ मा रिलिज भएको उक्त फिल्मपछि उनीहरूलाई पर्दामा सँगै देखिएको छैन । त्यसैले ‘किङ’को यो विशेष गीतले दर्शकमाझ थप उत्सुकता जगाउने देखिन्छ ।
सिद्धार्थ आनन्दको निर्देशनमा बनिरहेको ‘किङ’मा शाहरुखसँगै उनकी छोरी सुहाना खान, दीपिका पादुकोण, अभिषेक बच्चन र अनिल कपुरलगायत कलाकारको अभिनय छ । फिल्म २४ डिसेम्बर २०२६ मा प्रदर्शनमा आउने तयारीमा छ । निर्माण पक्षले शाहरुखको जन्मदिनको अवसर पारेर नोभेम्बर २ आसपास फिल्मसँग सम्बन्धित महत्वपूर्ण सामग्री सार्वजनिक गर्ने तयारीसमेत गरेको बताइएको छ ।














प्रतिक्रिया