बाढीले मध्यकालीगण्डकी जलविद्युत् आयोजनामा २० करोडको क्षति, निर्माण ठप्प « Khabarhub

बाढीले मध्यकालीगण्डकी जलविद्युत् आयोजनामा २० करोडको क्षति, निर्माण ठप्प


२० कार्तिक २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा निर्माणाधीन ६६ दशमलव तीन मेगावाट क्षमताको मध्यकालीगण्डकी जलविद्युत् आयोजनाको निर्माणकार्य बाढीका कारण पछिल्लो एक महिनादेखि ठप्प भएको छ ।

गत असोज ११ गते कालीगण्डकी नदीमा आएको भीषण बाढीले आयोजनाको बाँध, सुरुङ, आवास, मेसिनरी तथा निर्माण उपकरणलगायत भौतिक संरचनामा क्षति पुर्‍याएपछि निर्माणकार्य रोकिएको हो ।

बाढीबाट आयोजनामा करिब रु १८ देखि २० करोडबराबरको क्षति भएको आयोजना प्रमुख अजितविक्रम कार्कीले जानकारी दिए ।

उनका अनुसार कालीगण्डकी बाढीले सुकेबगरमा निर्माणाधीन बाँधको डाइभर्सन भत्काएर निर्माणस्थलमा गेग्रान थुपारेको छ । बाँध निर्माणस्थलमा रहेको सुरुङको अडिटभित्र बाढी पसेर क्षति पुर्‍याएको छ ।

त्यसैगरी अन्नपूर्ण गाउँपालिका वडा नं २ नागढुङ्गा र ६ रातोपानीमा रहेका आयोजनाका आवास भवन भत्किएका छन् । त्यहाँ रहेका निर्माण सामग्री बाढीले बगाएको छ भने आयोजनाको श्रमिक आवास (लेबर क्याम्प) बगाएको छ । मेसिनरी तथा उपकरण, निर्माण सामग्री, डिजेल ट्याङ्की र वर्कसपमा पनि क्षति पुगेको छ ।

आयोजना प्रमुख कार्कीका अनुसार क्षतिग्रस्त संरचनाको पुनर्निर्माण र आवश्यक व्यवस्थापकीय तयारीपछि निर्माणकार्य पुनः सञ्चालन गर्ने योजना बनाइएको छ । बाढीले बगाएका आवास र श्रमिक क्याम्पलगायत संरचना पुनर्निर्माण गरी तिहारलगत्तै आयोजनाको काम अघि बढाउने तयारी गरिएको उनले बताए।

विसं २०८१ देखि निर्माण सुरु भएको आयोजनाको काम बाढी आउनुअघि निरन्तर अघि बढिरहेको थियो । बाढीले निर्माणका महत्त्वपूर्ण संरचनामा क्षति पुर्‍याएपछि निर्धारित समयमै आयोजना सम्पन्न गर्न चुनौती थपिएको छ । 

सुकेबगरमा १३ मिटर अग्लो र ५५ मिटर लामो बाँध निर्माण गरी चार हजार ३१९ मिटर लामो मुख्य सुरुङमार्फत पानी अन्नपूर्ण गाउँपालिका–२ नौनीबगरमा निर्माण हुने भूमिगत विद्युत्गृहमा पुर्‍याइनेछ । बाँधबाट ल्याइएको पानी १५१ मिटरको उचाइबाट खसालेर विद्युत् उत्पादन गरिनेछ ।
 
नदी प्रवाहमा आधारित (रन अफ रिभर) प्रकृतिको यस आयोजनाको विद्युतगृह, स्वीचयार्ड र नियन्त्रणकक्ष भूमिगत रहनेछन् । आयोजनाबाट उत्पादित विद्युत् नौनीबगरदेखि करिब सात किलोमिटरमाथि दानामा रहेको २२० केभी क्षमताको सबस्टेसनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा जोड्ने योजना छ ।

तीन वर्षभित्र अर्थात् २०८५ सालसम्म निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजनाको कुल लागत रु १२ अर्ब ९३ करोड अनुमान गरिएको छ । आयोजनामा नबिल बैंकको नेतृत्वमा छवटा वाणिज्य बैंकले ७५ प्रतिशत लगानी गर्नेछन् भने बाँकी २५ प्रतिशत रकम प्रवर्द्धक कम्पनी र सेयर लगानीकर्तामार्फत जुटाइनेछ ।

हाइड्रो सपोर्ट प्रालि प्रवर्द्धक रहेको आयोजनाको नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरिद बिक्री सम्झौता भइसकेको छ । सम्झौताअनुसार हिउँदयाममा प्रतियुनिट आठ रुपैयाँ ४० पैसा र वर्षायाममा प्रतियुनिट चार रुपैयाँ ८० पैसाका दरले विद्युत् खरिदबिक्री हुनेछ । 

प्रकाशित मिति : २० कार्तिक २०८३, शुक्रबार  ६ : १४ बजे

यु-१९ एसिया कप : नेपाल आज भारतसँग भिड्दै

काठमाडौँ– एसीसी यु-१९ एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत नेपालले शुक्रबार आफ्नो

विद्युत् प्राधिकरणका विभिन्न पदमा स्थायी पदपूर्तिका लागि दरखास्त आह्वान

काठमाडौं– नेपाल विद्युत् प्राधिकरणले विभिन्न पदमा स्थायी पदपूर्तिका लागि खुला

युद्धबारे ट्रम्प : २५-३० वर्षसम्म उठ्न सक्दैन इरान

एजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि जारी अमेरिकी सैन्य कारबाहीको

रविको अभिव्यक्तिपछि बालेनको जवाफ- ‘देश जोगाउने र पार्टी जोगाउनेमा फरक हुन्छ’

काठमाडौँ – प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र

जुटखेती घटेपछि तिहारको हुकाहुकी पर्वका लागि सन्ठीको अभाव

भद्रपुर- परम्परागत जुटखेती घट्दै गएपछि तिहारमा लक्ष्मीपूजाका दिन मनाइने हुकाहुकी पर्वका