प्रचारको उज्यालो पर्खिरहेको हिमाली तीर्थ–पार्वतीकुण्ड « Khabarhub

प्रचारको उज्यालो पर्खिरहेको हिमाली तीर्थ–पार्वतीकुण्ड


२० कार्तिक २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

रसुवा–  समुद्री सतहबाट दुई हजार ५५० मिटरको उचाइमा अवस्थित रसुवाको पार्वतीकुण्ड धार्मिक आस्था, तामाङ संस्कृति र प्राकृतिक सौन्दर्यको अनुपम सङ्गम हो । 

हिन्दू तथा बौद्ध धर्मावलम्बीको साझा आस्थाको केन्द्र र मनमोहक हिमाली दृश्यले भरिपूर्ण यो क्षेत्र आवश्यक प्रचारप्रसार र पूर्वाधारको अभावमा भने ओझेलमा परेको छ । 

आमाछोदिङ्मो गाउँपालिका–३ गत्लाङको शिरमा रहेको पार्वतीकुण्ड धार्मिक तथा सांस्कृतिक महत्वका साथै पर्यटकीय सम्भावना बोकेको क्षेत्र हो । स्थानीय तामाङ भाषामा पार्वतीलाई ‘आमा’ र ताललाई ‘छोदिङ्मो’ भनिने भएकाले स्थानीय मौलिक पहिचानलाई सम्मान गर्दै गाउँपालिकाको नाम पनि आमाछोदिङ्मो राखिएको हो ।

कुनै समय ‘कालो छाना भएको गाउँ’का रूपमा परिचित गत्लाङको उत्तरतर्फ रहेको यही कुण्डका नामबाट सुरुमा गाउँपालिकाको नाम पार्वतीकुण्ड राखिएको थियो । पछि स्थानीय भाषा र पहिचानलाई प्राथमिकता दिँदै पहिलो निर्वाचित गाउँसभाको सिफारिसमा नाम परिवर्तन गरी आमाछोदिङ्मो कायम गरिएको थियो ।

गाउँपालिकाकी उपाध्यक्ष चण्डिका तामाङका अनुसार पार्वतीकुण्ड प्राकृतिक सौन्दर्यको अनुपम उपहारमात्र नभई हिन्दू र बौद्ध धर्मावलम्बीको ऐतिहासिक तथा धार्मिक धरोहर पनि हो ।  

उनले भनिन्, ‘यहाँ अन्तरराष्ट्रियस्तरको धार्मिक पर्यटन प्रवर्द्धन गर्ने प्रचुर सम्भावना छ । तर, आवश्यक भौतिक पूर्वाधार र राष्ट्रियस्तरमा प्रचारप्रसार हुन नसक्दा यो क्षेत्र अझै ओझेलमा छ । गाउँपालिकाले संरक्षण र स्थानीयस्तरमा प्रवर्द्धनका प्रयास गरिरहेको भए पनि यसको समग्र विकासका लागि सङ्घीय तथा प्रदेश सरकारको विशेष बजेट र रणनीतिक योजनाको आवश्यकता छ ।’

पार्वतीकुण्डको उत्पत्ति र महत्वबारे हिन्दू तथा बौद्ध धर्ममा आआफ्नै धार्मिक आख्यान प्रचलित छन् । हिन्दू धार्मिक किंवदन्तीअनुसार यसको सम्बन्ध गोसाइँकुण्डको उत्पत्तिसँग जोडिएको छ । 

समुद्र मन्थनबाट निस्किएको हलाहल विषको डाह शान्त पार्न भगवान् शिवले नीलकण्ठ बनेर गोसाइँकुण्डको सृजना गरेको धार्मिक विश्वास छ । शिवको खोजीमा माता पार्वती यसै स्थानमा विराजमान भएको स्थानीय जनश्रुति छ । 

यही विश्वासका आधारमा कुण्डलाई पवित्र तीर्थस्थल मानिन्छ । यहाँ स्नान गरे मोक्ष प्राप्त हुने जनविश्वास छ । मानसरोवर तीर्थयात्रा गरेर फर्कने भारतीय तीर्थयात्री पनि यहाँ स्नानका लागि आउने गरेका छन् ।  भारतको हिमाञ्चलस्थित प्रसिद्ध धार्मिकस्थल छोपेमासँग पनि यस कुण्डको पौराणिक सम्बन्ध रहेको विश्वास गरिन्छ ।

बौद्ध धर्मावलम्बीका अनुसार गुरु पद्मसम्भव ९गुरु रिम्पोछे०ले मानव समुदायको सुख, शान्ति र मुक्तिका लागि यस हिमाली क्षेत्रमा तपस्या गरेका थिए।  

तपस्याका क्रममा स्नानका लागि आवश्यक पवित्र जल यहाँका विभिन्न जलाशयमध्ये पार्वतीकुण्डमा सबैभन्दा शुद्ध रहेको विश्वास गत्लाङका स्थानीय अविनाश तामाङ बताउँछिन्।

स्थानीय  फुर्पुसिङ्गी तामाङका अनुसार पार्वतीकुण्ड धार्मिक आस्थाको केन्द्रमात्र नभई प्राकृतिक सौन्दर्य र तामाङ सम्पदाले भरिपूर्ण क्षेत्र पनि हो । यो प्रसिद्ध तामाङ सम्पदा मार्गमा पर्दछ । यहाँ आउने पर्यटकले तामाङ संस्कृति, परम्परागत वेशभूषा र रैथाने जीवनशैलीको प्रत्यक्ष अनुभव गर्न सक्छन् ।  कुण्ड वरपर रहेका गुराँस, खस्रु, लालीगुराँस र काठका रूखले यहाँको वातावरणलाई शान्त र मनमोहक बनाएका छन् ।

कुण्डनजिकै रहेको प्राकृतिक दृश्यावलोकनस्थल ‘ज्यार्सा भ्यूप्वाइन्ट’बाट लाङटाङ, गणेश, मनास्लु, माछापुच्छ्रे, अन्नपूर्ण र जुगललगायतका हिमशृङ्खला स्पष्ट देख्न सकिन्छ । यहाँबाट चीनतर्फका हिमाल, काठमाडौँ उपत्यकाको केही भाग र त्रिशूली नदीको दृश्यावलोकन गर्न सकिन्छ ।

पार्वतीकुण्डभन्दा माथिल्लो भागमा रहेको दूधकुण्डलाई स्थानीय धार्मिक मान्यताअनुसार पार्वतीकुण्डको दिदीबहिनीका रूपमा लिने गरिन्छ । यस क्षेत्रको ऐतिहासिक महत्व बोकेको प्राचीन ‘बोङ्जो घले दरबार’को भग्नावशेष, पार्वती मन्दिर र नेपाली सेनाको ब्यारेक रहेको छ ।

सान्जेन खर्क, सान्जेन हिमाल, गणेश हिमाल, सोमदाङ तथा धादिङका विभिन्न बस्ती पुग्ने प्रमुख पदमार्गका रूपमा पनि यो क्षेत्र परिचित छ ।

पार्वतीकुण्ड क्षेत्र विकास समितिले पर्यटकको आकर्षण बढाउन स्थानीय तामाङ समुदायमार्फत मौलिक सांस्कृतिक झाँकी, म्हेन्दोमाया र सेलोलगायत परम्परागत नृत्य प्रस्तुत गर्ने गरेको छ । यसले पर्यटकलाई स्थानीय संस्कृति र परम्परासँग नजिकबाट परिचित गराउने गरेको छ ।

प्राकृतिक, धार्मिक र सांस्कृतिक सम्पदाले भरिपूर्ण पार्वतीकुण्डको संरक्षण, पूर्वाधार विकास र प्रभावकारी प्रचारप्रसार हुनसके यसलाई मुलुककै प्रमुख पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्न सकिने स्थानीयको अपेक्षा छ । 

यसबाट स्थानीयवासीको आर्थिक जीवनस्तर सुधारमा पनि योगदान पुग्ने देखिन्छ । गत भदौ १० गतेको भोटेकोशी बाढीले सडक सञ्जालमा क्षति पुर्‍याएपछि यो क्षेत्र थप ओझेलमा परेको छ ।

प्रकाशित मिति : २० कार्तिक २०८३, शुक्रबार  ६ : ५३ बजे

फूलैफूलको मौसम तिमीलाई…

गण्डकी– फूलैफूलको पर्व तिहार ढोकैमा आइपुगेको छ । यही छेकोमा

हराउँदै ‘फेरी’को भाका, परम्परा धान्दै अर्जुन

भोजपुर– पुर्खौँदेखि चलिआएको परम्परागत ‘फेरी’ लगाउने पेसा लोप हुने अवस्थामा

जिल्ला अस्पताललाई भवन हस्तान्तरण, तिहारपछि सेवा शुभारम्भ

खोटाङ– सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालय ओखलढुङ्गाले जिल्ला

यु-१९ एसिया कप : नेपाल आज भारतसँग भिड्दै

काठमाडौँ– एसीसी यु-१९ एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत नेपालले शुक्रबार आफ्नो

विद्युत् प्राधिकरणका विभिन्न पदमा स्थायी पदपूर्तिका लागि दरखास्त आह्वान

काठमाडौं– नेपाल विद्युत् प्राधिकरणले विभिन्न पदमा स्थायी पदपूर्तिका लागि खुला