जुटखेती घटेपछि तिहारको हुकाहुकी पर्वका लागि सन्ठीको अभाव « Khabarhub

जुटखेती घटेपछि तिहारको हुकाहुकी पर्वका लागि सन्ठीको अभाव


२० कार्तिक २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

भद्रपुर- परम्परागत जुटखेती घट्दै गएपछि तिहारमा लक्ष्मीपूजाका दिन मनाइने हुकाहुकी पर्वका लागि आवश्यक सन्ठी

(जुटको सुकेको डाँठ) जुटाउन झापाका आदिवासी समुदायलाई कठिन हुन थालेको छ। कुनै समय गाउँघरमै सहजै पाइने सन्ठी अहिले खोज्दै हिँड्नुपर्ने अवस्था आएको छ।

झापाको बिर्तामोड, कनकाई र भद्रपुर आसपासका क्षेत्रमा सन्ठी पाउन छाडेपछि हुकाहुकी पर्वका लागि अन्य क्षेत्रबाट ल्याउनुपर्ने अवस्था छ। बिर्तामोड–९ गरामनीमा यही कात्तिक २१ गते आयोजना हुने सामूहिक हुकाहुकी कार्यक्रमका लागि आयोजकले गौरीगन्जबाट एक ट्र्याक्टर सन्ठी ल्याउनुपरेको छ।

राजवंशी युवा समितिका अध्यक्ष विश्वदीप राजवंशीका अनुसार आसपासका क्षेत्रमा खोज्दा पनि सन्ठी नपाएपछि गौरीगन्जबाट ल्याइएको हो।

बिर्तामोड–९ की सकुन राजवंशीले एक मुठा सन्ठीलाई एक सय तिरेर किन्नुभएको छ। लक्ष्मीपूजाका दिन हुकाहुकी खेल्न सन्ठी अनिवार्य हुने भएकाले हटिया लागेको दिन बिर्ताबजार पुगेर खरिद गर्नुपरेको उनले बताए। 

‘गाउँघरमा पहिले जताततै पाइने सन्ठी अहिले खोज्दा पनि पाउन गाह्रो छ’, उनले भने।

राजवंशी, ताजपुरिया, गनगाई र माझीलगायत आदिवासी समुदायमा लक्ष्मीपूजाका दिन सन्ठीको मुठो बनाएर पूजा गर्ने र त्यसमा आगो सल्काएर हुकाहुकी खेल्ने परम्परा छ। तर, पर्वसँग प्रत्यक्ष जोडिएको सन्ठीको मुख्य स्रोत जुटखेती नै घट्दै गएपछि यसको उपलब्धता कम भएको हो।

कुनै समय झापाको प्रमुख नगदेबालीका रूपमा रहेको जुटखेती अहिले सीमित क्षेत्रमा मात्र हुँदै आएको छ। कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टका अनुसार यस वर्ष जिल्लामा करिब ५२५ हेक्टर क्षेत्रफलमा जुटखेती गरिएको छ।

बाह्रदशी गाउँपालिका–१ का पूर्ववडाध्यक्ष शम्भुसिंह राजवंशीका अनुसार उचित मूल्य नपाउनु र खेती झन्झटिलो हुनुका कारण किसानले जुटखेती छाड्दै गएका छन्। जुट प्रशोधनका लागि पाटा कुहाउन खोला वा पोखरी आवश्यक पर्ने भए पनि जलाशय हराउँदै जाँदा समस्या थपिएको उनले बताए।

‘पाटा कुहाउन खोला वा पोखरी चाहिन्छ, जलाशय हराउँदै गए। बीउ छरेदेखि तयार पाटा सुकाउँदासम्म धेरै मिहिनेत गर्नुपर्ने भएकाले किसानले खेती छाड्दै गएका हुन्’, उनले भने।

उनका अनुसार पहिले बिघौँबिघा जमिनमा जुटखेती गर्ने किसान अहिले घरायसी प्रयोजनका लागि थोरै क्षेत्रफलमा मात्र खेती गर्छन्। बाह्रदशी–१ का किसान रुपलाल राजवंशीले पनि गत वर्ष एक कठ्ठामा जुटखेती गरेका थिए। उनले जुटको पाटाभन्दा पनि सन्ठीको आवश्यकताका लागि खेती गर्ने गरेको बताए।

घरायसी प्रयोजनमा पनि उपयोगी सन्ठी

सन्ठी हुकाहुकी पर्वमा मात्र नभई आगो सल्काउन, गुइँठा बनाउन तथा अन्य घरायसी काममा समेत प्रयोग हुँदै आएको छ। पहिले जुटबाट घरमै डोरी बनाउने चलन रहे पनि अहिले बजारबाटै डोरी किन्ने गरिएको स्थानीय रुपलाल राजवंशी बताउँछन्।

‘सन्ठी नभई हुँदैन, त्यसैले थोरै भए पनि पाटा लगाउने गरेका छौँ’, उन भने।

कृषि ज्ञान केन्द्रका अनुसार झापाको कचनकवल, बाह्रदशी, झापा र गौरीगन्ज गाउँपालिकाका केही क्षेत्रमा अझै जुटखेती हुँदै आएको छ।

जुटखेतीको क्षेत्रफल घट्दै जाँदा यसमा आधारित परम्परागत प्रयोग, स्थानीय जीवनशैली र सांस्कृतिक अभ्याससमेत प्रभावित हुन थालेका छन्।

प्रकाशित मिति : २० कार्तिक २०८३, शुक्रबार  ७ : १४ बजे

हुम्लामा ४.२ म्याग्निच्युडको भूकम्प, ठेहे आसपास केन्द्रबिन्दु

काठमाडौँ – हुम्लामा शुक्रबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प

यस्तो छ प्रहरीको चाडपर्वलक्षित विशेष सुरक्षा योजना

काठमाडौँ– नेपालीको महत्त्वपूर्ण पर्व तिहार, नेपाल संवत् तथा छठपर्वलाई लक्षित

फूलैफूलको मौसम तिमीलाई…

गण्डकी– फूलैफूलको पर्व तिहार ढोकैमा आइपुगेको छ । यही छेकोमा

हराउँदै ‘फेरी’को भाका, परम्परा धान्दै अर्जुन

भोजपुर– पुर्खौँदेखि चलिआएको परम्परागत ‘फेरी’ लगाउने पेसा लोप हुने अवस्थामा

जिल्ला अस्पताललाई भवन हस्तान्तरण, तिहारपछि सेवा शुभारम्भ

खोटाङ– सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालय ओखलढुङ्गाले जिल्ला