एजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि जारी अमेरिकी सैन्य कारबाहीको बचाउ गर्दै त्यसलाई युद्धका रूपमा व्याख्या गर्न अस्वीकार गरेका छन्।
मध्यावधि निर्वाचनमा आफ्नो रिपब्लिकन पार्टीले ठूलो पराजय बेहोरेपछि दिएको प्रतिक्रियामा ट्रम्पले इरानविरुद्धको सैन्य अभियान सफल भइरहेको दाबी गरेका हुन्।
उनले इरानसँगको युद्धबारे प्रश्न उठाउँदै भने, ‘कसले इरानसँगको युद्धको कुरा गर्यो ? होइन, हामीले नाकाबन्दीको मामिलामा शानदार सफलता हासिल गरेका छौँ।’
ट्रम्पले अमेरिकी सैन्य अभियानका कारण इरानलाई त्यसबाट उठ्न २५ देखि ३० वर्षसम्म लाग्न सक्ने अनुमानसमेत गरे। उनले अभियान प्रभावकारी रूपमा अघि बढिरहेको दाबी गर्दै यसलाई केहीले ‘कब्जा’ का रूपमा व्याख्या गरेको पनि उल्लेख गरे।
‘यो लगभग कब्जाजस्तै हो। हामी कुनै चालबाजी गर्न खोजिरहेका छैनौँ। तर यो कब्जा हो,’ उनले भने।
यसैबीच, ट्रम्पले रक्षा मन्त्री पीट हेगसेथले केही वरिष्ठ सैन्य जनरललाई पदबाट हटाएको विषयमा पनि टिप्पणी गरेका छन्। जनरलहरूलाई हटाइनुको कारण उनीहरूले विरोधको सामना गरिरहेको हुन सक्ने उनको भनाइ थियो।
हेगसेथ प्रशासनबाट बाहिरिन लागेको भन्ने पछिल्ला समाचारका सन्दर्भमा ट्रम्पको यस्तो प्रतिक्रिया आएको हो।
ट्रम्पले इरानसँगको सैन्य कारबाहीका क्रममा १८ अमेरिकी नागरिकको मृत्यु हुनु ‘धेरै’ भएको स्वीकार गरे। यद्यपि उनले भियतनाम र अफगानिस्तान युद्धमा हजारौँ अमेरिकी सैनिक मारिएको घटनासँग तुलना गर्दै आफ्नो भनाइ राखे।
उनको पछिल्लो अभिव्यक्ति मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीले ठूलो हार बेहोरेपछि आएको हो। निर्वाचन परिणामपछि ट्रम्प प्रशासनको विदेश तथा रक्षा नीतिमाथि थप प्रश्न उठिरहेका बेला उनले इरानविरुद्धको अभियानको बचाउ गरेका हुन्।














प्रतिक्रिया