युवाको असन्तुष्टि सम्बोधन नगरे लोकतन्त्र संकटमा पर्छ : उपेन्द्र यादव « Khabarhub

युवाको असन्तुष्टि सम्बोधन नगरे लोकतन्त्र संकटमा पर्छ : उपेन्द्र यादव


२० कार्तिक २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री उपेन्द्र यादवले युवापुस्ताको बढ्दो राजनीतिक असन्तुष्टि र परम्परागत नेतृत्वप्रतिको अविश्वास सम्बोधन गर्न नसके लोकतन्त्रको स्थायित्व नै संकटमा पर्ने बताएका छन्।

दक्षिण कोरियाको राजधानी सियोलमा आयोजित एसियाली राजनीतिक दलहरूको अन्तर्राष्ट्रिय सम्मेलन (आईक्याप) को १३औँ महासभालाई शुक्रबार सम्बोधन गर्दै यादवले युवा आन्दोलनलाई राजनीतिक संस्थाप्रतिको घट्दो विश्वास, बेरोजगारी, अवसरको अभाव र राज्यसत्तामा जवाफदेहिताको मागसँग जोडेर व्याख्या गरेका हुन्।

श्रीलङ्का, बङ्गलादेश, केन्या र नेपाललगायत देशमा भएका युवा आन्दोलनले राजनीतिक प्रणालीमा सुधारको आवश्यकता औँल्याएको उनको भनाइ थियो। उनले युवाका आवाजलाई बेवास्ता गर्नुको सट्टा नीति निर्माण, राजनीतिक दलको नेतृत्व र राज्यका निर्णय प्रक्रियामा उनीहरूको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्नुपर्नेमा जोड दिए।

‘जनताको आवाज सुन्ने नेतृत्व, परिणाम दिन सक्ने संस्था र जवाफदेही राजनीतिक दलबाट मात्रै जनविश्वास पुनःस्थापित गर्न सकिन्छ,’ यादवले भने।

उनले लोकतन्त्र निर्वाचनमा मात्र सीमित नहुने उल्लेख गर्दै समान अधिकार, समावेशिता, सामाजिक न्याय, सार्थक प्रतिनिधित्व र उत्तरदायी संस्थालाई लोकतन्त्रका आधारभूत स्तम्भका रूपमा व्याख्या गरे।

सम्मेलनमा यादवले विश्वव्यवस्था भूराजनीतिक प्रतिस्पर्धा, क्षेत्रीय द्वन्द्व, आर्थिक अनिश्चितता, जलवायु परिवर्तन र बढ्दो असमानताजस्ता चुनौतीबाट गुज्रिरहेको पनि बताए। यस्ता चुनौती समाधानका लागि शक्ति र प्रभावभन्दा अन्तर्राष्ट्रिय कानुन, सार्वभौमिक समानता र पारस्परिक सम्मानमा आधारित सहकार्य आवश्यक रहेको उनको भनाइ थियो।

नेपालको परराष्ट्र नीतिबारे धारणा राख्दै उनले सार्वभौमिकता, भौगोलिक अखण्डता, असंलग्नता, आन्तरिक मामिलामा अहस्तक्षेप र शान्तिपूर्ण सहअस्तित्वका सिद्धान्तप्रति नेपालको प्रतिबद्धता दोहोर्‍याए। नेपालजस्ता विकासशील राष्ट्रलाई कुनै शक्तिराष्ट्रको पक्ष लिन बाध्य पार्न नहुने उनको धारणा थियो।

त्यस्तै, जलवायु परिवर्तनको असरबारे चर्चा गर्दै यादवले विश्वव्यापी हरितगृह ग्यास उत्सर्जनमा नेपालको योगदान न्यून भए पनि जलवायु संकटको प्रत्यक्ष असर भोग्नुपरेको बताए। हिमनदी पग्लिने क्रम, बाढी र पहिरोजस्ता विपद्ले नेपालको जनजीवन तथा अर्थतन्त्रमा गम्भीर असर पारिरहेको उल्लेख गर्दै उनले जलवायु न्यायका लागि प्रमुख उत्सर्जनकर्ता राष्ट्रले बढी जिम्मेवारी लिनुपर्ने बताए।

उनले जोखिममा रहेका मुलुकलाई पर्याप्त जलवायु वित्त उपलब्ध गराउन र आवश्यक प्रविधि हस्तान्तरण गर्न पनि अन्तर्राष्ट्रिय समुदायसँग आग्रह गरे।

यादवले लोकतान्त्रिक मूल्यको संरक्षण, जवाफदेही शासन, युवाको अर्थपूर्ण सहभागिता, अन्तर्राष्ट्रिय कानुनको सम्मान र जलवायु न्यायलाई अन्तर्राष्ट्रिय राजनीतिक सहकार्यका प्राथमिकतामा राख्न सम्मेलनका सहभागी दलहरूलाई आह्वान गरेका छन्।

प्रकाशित मिति : २० कार्तिक २०८३, शुक्रबार  १० : ३१ बजे

कर्णालीले टस जितेर बलिङ रोज्यो

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) मा शुक्रबारको पहिलो खेलमा कर्णाली

प्रजिअ नहुँदा दैलेखको प्रशासनिक काम प्रभावित, कर्मचारीले पाएनन् तलब

दैलेख– दैलेखमा प्रमुख जिल्ला अधिकारी (प्रजिअ) नहुँदा झन्डै एक महिनादेखि

कोप ३१ मा क्रिएसनद्धारा जिरो वेस्ट शिर्षकमा छलफल गर्दै 

काठमाडौं– क्रिएसन नेपालले कोप ३१ को सम्मेलनमा जिरो वेस्ट शिर्षकमा

सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीशको सुनुवाइ, पाण्डेविरुद्ध उजुरीकर्तासँग छलफल

काठमाडौँ – संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीशहरूको सुनुवाइ प्रक्रिया

एमाले नेतालाई आश्रय दिने पोखरेलप्रति श्रद्धाञ्जली

काठमाडौँ – पञ्चायतकालमा भूमिगत जीवन बिताइरहेका वामपन्थी नेताहरूलाई दोलखामा आश्रय