काठमाडौं– नेपालीको दोस्रो ठुलो चाड तिहार सुरु भएसँगै काठमाडौँको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरमा भाइटीकाको तयारी सुरु गरिएको छ। भाइटीकाको दिन मात्रै सर्वसाधारणका लागि खुला हुने मन्दिर परिसरमा अहिले रङरोगन तथा सरसफाइको काम भइरहेको छ।
काठमाडौं महानगरपालिका वडा नम्बर २८ ले बजेट विनियोजन गरी मन्दिरको रङरोगन तथा सरसफाइ सुरु गरेको हो। भाइटीकाका दिन मन्दिरमा आउने भक्तजनलाई सहज रूपमा दर्शन तथा पूजा गर्ने वातावरण मिलाउने उद्देश्यले तयारी थालिएको हो।
बालगोपालेश्वर मन्दिर तिहारको भाइटीकासँग विशेष रूपमा जोडिएको धार्मिक तथा सांस्कृतिक सम्पदा हो। वर्षभरि बन्द रहने यो मन्दिर भाइटीकाको दिन एक दिनका लागि मात्रै खुला गरिन्छ। विशेषगरी दिदीबहिनी नभएका दाजुभाइहरू मन्दिरमा पुगेर बालगोपालेश्वरको दर्शन गरी टीका ग्रहण गर्ने परम्परा रहिआएको छ।
रानीपोखरीको निर्माण तत्कालीन राजा प्रताप मल्लको शासनकालमा भएको इतिहास छ। सन् १६७१ मा निर्माण गरिएको रानीपोखरीको बीचमा रहेको मन्दिर पनि काठमाडौँको ऐतिहासिक तथा धार्मिक सम्पदाका रूपमा परिचित छ।
२०७२ सालको भूकम्पबाट क्षति पुगेपछि मन्दिरको पुनर्निर्माण गरिएको थियो। पुनर्निर्माणपछि २०७७ सालमा भाइटीकाको दिनदेखि सर्वसाधारणका लागि पुनः खुला गरिएको थियो।
तिहारको मुख्य दिन भाइटीकामा मन्दिरमा दर्शन तथा टीका ग्रहण गर्न बिहानैदेखि भक्तजनको घुइँचो लाग्ने गर्दछ। त्यसैले मन्दिरसम्म पुग्ने पुल, परिसर तथा आसपासको क्षेत्रको सरसफाइ र व्यवस्थापनलाई समेत प्राथमिकता दिइएको छ।
ऐतिहासिक तथा धार्मिक महत्त्व बोकेको बालगोपालेश्वर मन्दिरको संरक्षणसँगै तिहारको परम्परालाई निरन्तरता दिन महानगरपालिका र वडा कार्यालयले गर्दै आएको तयारीले भाइटीकाको रौनकलाई थप बढाएको छ।
तस्बिर : नेपाल फोटो लाइब्रेरी























प्रतिक्रिया