काठमाडौं– तिहारको बिदा र बहुप्रतीक्षित फिल्मको आकर्षणले नेपाली सिनेमा हलमा दर्शकको चहलपहल बढाएको छ ।
यसको प्रत्यक्ष फाइदा बलिउड फिल्म ‘रामायण’लाई मिलेको छ । विश्वभर एकसाथ प्रदर्शनमा आएको फिल्मले नेपालमा पहिलो दिनमै दुई करोड रुपैयाँभन्दा बढी ग्रस कलेक्सन गर्दै आक्रामक सुरुआत गरेको छ ।
कात्तिक १९ गते बिहीबारदेखि प्रदर्शनमा आएको फिल्म पहिलो दिन ५० हजारभन्दा बढी दर्शकले हेरेका छन्। अग्रिम टिकट बिक्री खुला भएसँगै दर्शकको आकर्षण देखिएको थियो । प्रदर्शनपछि पनि हलमा दर्शकको उत्साहजनक उपस्थिति देखिएपछि फिल्मले सुरुआतमै राम्रो व्यापार गर्न सफल भएको हो ।
पहिलो दिनको कमाइ उत्साहजनक भएपछि शुक्रबार पनि फिल्मले राम्रो व्यापार गर्ने अपेक्षा गरिएको छ । उपलब्ध शो संख्या र दर्शकको अकुपेन्सीलाई हेर्दा दोस्रो दिनको कमाइ पनि पहिलो दिनकै हाराहारीमा पुग्ने अनुमान गरिएको छ । तिहारको बिदा र फिल्मप्रतिको बढ्दो चासोले यसको व्यापारलाई थप बल पुर्याउने देखिन्छ ।
नितेश तिवारीको निर्देशनमा बनेको ‘रामायण’मा रणवीर कपुर भगवान् राम, साई पल्लवी सीता, यश रावण, रवि दुबे लक्ष्मण र सनी देओल हनुमानको भूमिकामा छन् ।
पौराणिक कथालाई भव्य स्वरूपमा पर्दामा उतारिएको यस फिल्ममा चर्चित कलाकारहरूको उपस्थितिले पनि दर्शकमाझ उत्सुकता बढाएको छ ।
नेपालमा पहिलो दिन पाएको दर्शकको साथले फिल्मको आगामी व्यापारप्रति अपेक्षा बढाएको छ। अब तिहारको बाँकी बिदामा ‘रामायण’ले नेपाली बक्स अफिसमा कस्तो प्रदर्शन गर्छ भन्ने चासो छ ।














प्रतिक्रिया