काठमाडौं– नेपाली फिल्मका दुई लोकप्रिय अभिनेता प्रदीप खड्का र पल शाह फेरि एकसाथ पर्दामा देखिने भएका छन्। फरक–फरक फिल्ममार्फत दर्शकको मन जित्दै आएका यी दुई अभिनेतालाई कृषा चौलागाईंको आगामी फिल्म ‘उही तिम्रो’ले एउटै पर्दामा ल्याउने भएको हो। शुक्रबार पूजाआजा गर्दै फिल्मको शुभमुहूर्त गरिएको छ।
केपी फिल्म्स तथा पुरुषोत्तम फिल्म्सको सहकार्यमा निर्माण हुन लागेको फिल्ममा प्रदीप र पलसँगै अभिनेत्री सिम्रन पन्त पनि मुख्य भूमिकामा देखिनेछिन्। त्यस्तै, यही फिल्ममार्फत जुना विश्वकर्माले अभिनयमा डेब्यु गर्दैछिन्। यससँगै फिल्ममा लक्ष्मी गिरी, राजाराम पौडेल, लक्ष्मीनाथ तिमिल्सिना र सुरज तमुलगायत कलाकारको पनि अभिनय रहनेछ।
यसअघि पनि मल्टिस्टारर फिल्म निर्माण गरिसकेको यो टिमले पुनः लोकप्रिय कलाकारलाई एकसाथ ल्याउन लागेको हो। प्रदीप र पलको सहकार्यसँगै नयाँ अभिनेत्री जुनाको डेब्युले पनि फिल्मप्रति चासो बढाएको छ।
निर्देशक कृषा चौलागाईंका अनुसार फिल्मको छायांकन आगामी मंसिरदेखि म्याग्दीका रमणीय स्थानबाट सुरु हुनेछ। त्यसपछि काभ्रेको बनेपामा पनि छायांकन गरिनेछ।
अभिमन्यु निरविले फिल्मको कथा तथा संवाद लेखेका हुन् भने पुरुषोत्तम प्रधानले छायांकनको जिम्मेवारी सम्हाल्नेछन्। फिल्ममा सुरेश अधिकारी, राजनराज सिवाकोटी र हर्क साउदको संगीत रहनेछ। विशाल चौलागाईं निर्माता रहेको फिल्मलाई आरआर फिल्म्सले वितरण गर्नेछ भने ओएसआर डिजिटल डिजिटल पार्टनरका रूपमा जोडिएको छ।
प्रदीप र पललाई एउटै फिल्ममा हेर्न पाउने दर्शकका लागि ‘उही तिम्रो’ प्रतीक्षित बन्न सक्ने देखिन्छ। निर्माण पक्षले फिल्मलाई आगामी नयाँ वर्ष २०८४ मा प्रदर्शन गर्ने लक्ष्य राखेको छ।














प्रतिक्रिया