काठमाडौं– ‘पूर्णबहादुरको सारङ्गी’बाट दर्शकको मन जितेको जोडी विजय बराल र अञ्जना बराइली फेरि ठूलो पर्दामा एकसाथ देखिने भएका छन् ।
उनीहरूको आगामी फिल्म ‘सिन्दुरे जात्रा’को फर्स्टलुक पोस्टर सार्वजनिक भएको छ। सार्वजनिक पोस्टरले फिल्मको कथावस्तुप्रति दर्शकमाझ कौतुहलता बढाएको छ ।
पोस्टरमा विजय र अञ्जनालाई निकै भावुक अवस्थामा देखाइएको छ। विजयको छातीमा टाँसिएकी अञ्जना आँसु झारिरहेकी छन् भने विजयको आँखामा पनि पीडा झल्किन्छ । गाउँले परिवेश, मन्दिर र जात्रामा सहभागी मानिसहरूको भीडले फिल्मको कथा ग्रामीण समाज र त्यहाँको जनजीवनसँग जोडिएको संकेत गर्छ ।
अञ्जनाको परम्परागत पहिरन र गहनाले गाउँले परिवेशलाई थप जीवन्त बनाएको छ । त्यस्तै, उनको बिग्रिएको कपाल र दुवै पात्रको भावुक अवस्थाले उनीहरू कुनै गम्भीर परिस्थिति वा घटनामा फसेको हुन सक्ने अनुमान गर्न सकिन्छ । यद्यपि, पोस्टरमार्फत निर्माण पक्षले फिल्मको वास्तविक कथा भने खुलाएको छैन ।
सरोज पौडेलको निर्देशनमा बनेको ‘सिन्दुरे जात्रा’मा विजय र अञ्जना मुख्य भूमिकामा छन् । ‘पूर्णबहादुरको सारङ्गी’को सफलतापछि उनीहरू दोस्रोपटक एउटै फिल्ममा देखिन लागेका हुन् । त्यसैले यो जोडीको पुनरागमनलाई दर्शकले चासोका साथ हेर्ने अपेक्षा गरिएको छ ।
सारङ्गी फिल्म्सको प्रस्तुतिमा बनेको फिल्ममा विनोद न्यौपाने, उषा खड्गी, रामप्रसाद खनाल, लोकेन्द्र लेखक, कमलमणि नेपाल, भोला राज सापकोटा, हिउँवाला गौतमलगायत कलाकारको पनि अभिनय छ ।
निर्देशक पौडेलकै कथामा आधारित फिल्मको पटकथा तथा संवाद सबिन अधिकारी र वसन्त न्यौपानेले लेखेका हुन् । नेम महर्जन निर्माता रहेको फिल्ममा प्रशान्त सिवाकोटी, रिदम कँडेल र नन्दु परियारको संगीत रहनेछ। ‘सिन्दुरे जात्रा’ आगामी मंसिर १८ गतेदेखि देशभर प्रदर्शनमा आउनेछ ।














प्रतिक्रिया