काठमाडाैँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शुक्रबारको दोस्रो खेलमा पोखरा एभेन्जर्स र चितवन राइनोज आमनेसामने भएका छन्। पोखरा एभेन्जर्सका नयाँ कप्तान चमिका करुणारत्नेले टस जितेर पहिले बलिङ गर्ने निर्णय गर्दै चितवन राइनोजलाई ब्याटिङको निम्तो दिएका छन्।
पोखराले आजको खेलमा कप्तान परिवर्तन गर्दै नियमित कप्तान कुशल भुर्तेलको स्थानमा श्रीलंकाली अलराउन्डर करुणारत्नेलाई टोलीको कप्तानी सुम्पेको छ। टोलीले आफ्नो पहिलो रोजाइ (प्लेइङ ११) मा तीन ठूला परिवर्तन समेत गरेको छ।
शकिब अल हसनको ठाउँमा युवराज सम्रा पहिलो पटक मैदान उत्रिँदै छन् भने सुदिप अर्याल र सागर ढकालले पनि टोलीमा स्थान बनाएका छन्। आकाश चन्द र विपिन आचार्यलाई भने आज बेन्चमा राखिएको छ।
उता चितवन राइनोजले पनि टोलीमा दुई परिवर्तन गरेको छ। चितवनका मार्की खेलाडी कुशल मल्ल र डान मोस्ली टोलीमा फर्किएका छन् भने देव खनाल र टम टेलरलाई बाहिर राखिएको छ।
















प्रतिक्रिया