काठमाडाैँ – रोजगारी तथा अवसरका लागि विदेशमा रहेका नेपालीले चाडपर्वका बेला भोग्ने एक्लोपन र परिवारप्रतिको सम्झनालाई समेट्दै नयाँ गीत ‘परदेशीको देउसी भैलो’ सार्वजनिक भएको छ।
गायक जितेन्द्र श्रेष्ठ र गायिका मिना डुम्रे पाण्डेको स्वरमा सजिएको यस गीतले तिहारका बेला दाजुभाइ तथा दिदीबहिनीबीचको बिछोडको मार्मिक यथार्थ चित्रण गरेको छ।
अमेरिकाको बोस्टनमा बस्दै आएका गायक श्रेष्ठ र सुदीप पौडेलको शब्द सिर्जना रहेको गीतमा भौगोलिक दूरीले परिवारसँग खुसी बाँड्न नपाए पनि नेपाली संस्कृतिप्रतिको मोह नघट्ने सन्देश दिइएको छ।
प्रसाद खप्तरी मगरको कम्पोज तथा एरेन्ज रहेको गीतमा सिन्धु पोखरेल र जित चोपराको छायांकन तथा वीरेन्द्र भाट ‘विपिन’को सम्पादन रहेको छ। गायक श्रेष्ठकै निर्देशनमा तयार भिडियोमा अरुणा कार्की, मिन केसीलगायत कलाकारले अभिनय गरेका छन्।
सोरंग ब्याण्डको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक यस गीतलाई मनोरञ्जनसँगै सामाजिक उत्तरदायित्वसँग पनि जोडिएको छ। गायक श्रेष्ठका अनुसार गीतबाट संकलन हुने सम्पूर्ण आम्दानी भोटेकोशी बाढीपीडित तथा गर्भवती महिलाको सहयोगका लागि हस्तान्तरण गरिनेछ।














प्रतिक्रिया