यमदीप दान आज बेलुकीदेखि सुरु « Khabarhub

यमदीप दान आज बेलुकीदेखि सुरु


२० कार्तिक २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि सुरु हुँदैछ । कार्तिक कृष्ण त्रयोदशी तिथि परेकाले आज बेलुकी यमदीपदान सुरु गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । 

यसैगरी धन त्रयोदशी पर्व पनि आजै परेको छ । यस वर्ष यमदीपदान आजदेखि सुरु हुने भए पनि काग तिहार कात्तिक २१ गते शनिबार परेको समितिका अध्यक्ष सहप्रा डा पुरुषोत्तम भट्टराईले जानकारी दिए । आज बेलुकी त्रयोदशी तिथि परेका दिन यमदीपदान सुरु हुन्छ । त्रयोदशीमा सूर्योदय भएका दिन काग तिहार मनाइन्छ ।  

‘सायंकालमा त्रयोदशी भएका दिन यमदीपदान सुरु गर्नुपर्ने र प्रात: कालमा त्रयोदशी भएका दिन काग तिहार मनाउनुपर्ने शास्त्रीय व्यवस्थाअनुसार यस्तो निर्णय गरिएको हो’, उनले भने । यमपञ्चकका अवसरमा यमदीप दान गरे यमयातनाबाट मुक्ति पाइने शास्त्रीय मान्यता छ ।

यसैगरी धनत्रयोदशी (धनतेरस) पर्व पनि आजै परेको छ । धनवन्तरी जयन्ती भने कात्तिक २१ गते शनिबार परेको छ । तिथिको घटबढका कारण आइतबार कुकुर तिहार र लक्ष्मीपूजा एकै दिन परेको समितिले जनाएको छ ।

यमदीपदान परिवारका सदस्य सङ्ख्याका आधारमा गरिन्छ । यमदीपदान गर्दा दक्षिण फर्काएर गर्नुपर्ने धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले जानकारी दिए । उनका अनुसार कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीया अर्थात् भाइटीकाका दिनसम्म यमदीपदान गर्ने शास्त्रीय विधि छ ।

कात्तिक २२ गते आइतबार अरुणोदयकालमा नरक स्नान गरेर बिहान कुकुर तिहार पर्व मनाइन्छ । बेलुकी लक्ष्मीपूजा गर्नुपर्ने समितिका अध्यक्ष भट्टराईले बताए ।

आइतबार बिहान अरुणोदयकालअघि अपामार्गसहित स्नान गरिन्छ । यसलाई नरक स्नान पनि भनिन्छ । यस दिन बिहान विधिपूर्वक स्नान गरेर बत्ती बालेर नदीमा बगाउनाले नरकको यातना सहनु नपर्ने शास्त्रीय मान्यता रहेको उनले उल्लेख गरे ।

गाईपूजा कात्तिक २३ गते सोमबार परेको छ । गोरुपूजा, हलितिहार, गोवर्द्धनपूजा, बलीपूजा र आत्म (म्ह) पूजा कात्तिक २४ गते मङ्गलबार परेको समितिले जनाएको छ । कार्तिक शुक्ल प्रतिपदाका दिन गाई, गोरु, गोवर्द्धन र आत्म (म्ह:) पूजा गर्नुपर्ने शास्त्रीय वचन रहेको छ । प्रतिपदाका दिन सूर्योदय भएकै दिन नयाँ वर्ष मनाउनुपर्ने शास्त्रीय वचनअनुसार नेपाल संवत् ११४७ पनि यसै दिनदेखि सुरु हुन्छ ।   
 
भाइटीको उत्तम साइत कात्तिक २५ गते ११:०७ बजे 

कात्तिक २५ गते बुधबार भाइटीका लगाउनुपर्ने समितिले जनाएको छ । यस दिन बिहान ११:०७ बजे भाइटीकाको उत्तम साइत रहेको समितिका अध्यक्ष भट्टराईले जानकारी दिए ।

सर्वसाधारणका लागि मध्याह्नकालमा टीका लगाउनु पनि शास्त्रसम्मत् नै हुने समितिले जनाएको छ । राज्य सञ्चालकले भने साइतमा टीका लगाउनुपर्छ । भाइपूजा र नेवारी भाषामा किजापूजा  कात्तिक २५ गते नै गरिन्छ । बेलुकी सूर्यास्त नभएसम्म भाइटीका लगाउन कुनै समस्या नरहेको समितिले जनाएको छ ।

झिलीमिलीको चाड पनि भनिने तिहारका अवसरमा एक हप्ता अघिदेखि नै राजधानीसहित प्रमुख सहरमा थरीथरीका बत्ती बाल्न सुरु भइसकेको छ । बत्तीको उज्यालोले सहरमा घुम्दा पनि मन आनन्दित हुन्छ । केहीले आश्विन शुक्ल पूर्णिमा अर्थात् कोजाग्रत पूर्णिमाकै दिनदेखि दीपावलीलाई निरन्तरता दिन्छन् ।

यस अवसरमा विकृतिका रुपमा फैलिएको पटाका पट्काउनेले गर्दा दुर्घटना पनि हुने गरेको छ । जताततै पटाका पड्काउँदा आगलागी, अरुलाई लागेर घाइते हुने, आँखालगायत अङ्गभङ्ग हुने समस्यासमेत बढ्न थालेको छ ।

नेपाल प्रहरीले पटाका नपट्काई सभ्य रुपमा पर्व मनाउन आह्वान गरेको छ । तिहारअघि ठूलो सङ्ख्यामा पटाका बरामद हुने गरेपनि पडक्न भने छोडेको छैन । रासस
 

प्रकाशित मिति : २० कार्तिक २०८३, शुक्रबार  ६ : २५ बजे

झापामा सशस्त्र प्रहरीद्वारा २३ लाख बढीका पटका नष्ट

भद्रपुर– सशस्त्र प्रहरी बल नेपाल नं २ गण झापाले करिब

पोखराले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत शुक्रबारको दोस्रो खेलमा अहिले

धनतेरसमा गरगहना र भाँडाकुँडा खरिद गर्नेको चहलपहल (तस्बिरहरू)

काठमाडौं– धनतेरसको अवसरमा काठमाडौँको न्यूरोड, असन क्षेत्रमा सर्वसाधारण सुनचाँदीका गरगहना

ओकिनावा टापुमा अपराध रोक्ने उपाय खोज्न जापान र अमेरिका सहमत

टोकियो- जापान र अमेरिकाले शुक्रबार ओकिनावा टापुमा अमेरिकी सैनिकहरूबाट हुने