सौगात मल्ल : फिल्म नचल्दा पनि डिमान्डमा रहने नायक « Khabarhub

सौगात मल्ल : फिल्म नचल्दा पनि डिमान्डमा रहने नायक


२२ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 4 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायक सौगात मल्ल सामाजिक सञ्जालमा कम सक्रिय हुन रुचाउँछन् ।

नियत होइन, वास्ता नै नभएर सामाजिक सञ्जाल कम चलाउने उनी सेयर गर्छन् । उनी भन्छन्, ‘म सामाजिक सञ्जाल प्रयोगमा निकैपछि छु । मन नै नभएर हो ।’

नायकको व्यवसायिक पक्ष अहिले प्रमुखरुपमा सामाजिक सञ्जालसँग जोडिन्छ, उनी त्यसैमा वास्ता गर्दैनन् ।

संयोग, उनकै फिल्म ‘भाइरल गार्खे’ माघ १ बाट प्रदर्शनमा आउँदैछ । जुन सामाजिक सञ्जाल टिकटकबारे बनेको छ ।

सौगातकै भाषाभन्दा ‘भाइरल गोर्खे’ टिकटकमा भाइरल हुन चाहाने युवाको कथामा बनेको फिल्म हो । जुन फिल्मका प्रचार सामाग्रीहरु र ट्रेलरले पनि प्रष्ट पारेको छ ।

अब प्रश्न उठ्छ– चासो नै नभएको सामाजिक सञ्जालको विषयको फिल्ममा उनी कसरी अनुबन्ध भए त ? के पक्षले उनलाई आकर्षण गर्‍यो ?

अनुबन्ध हुन राजी हुनुको कारणबारे उनी भन्छन्, ‘यो फिल्मको स्क्रिप्ट अरु जो कोहीलाई प्रस्ताव गएको भए पनि नाइँ भन्नुहुँदैन थियो होला । टिकटक मात्रै जोडिएको भए मैले फिल्म गर्दैनँ थिएँ, तर यहाँ एक पात्रको जीवन छ । यो फिल्मको कथालाई धेरै व्यक्तिले रिलेट गर्न सक्छन् । त्यही भएर मैले यो फिल्म गरेको हो ।’

सफलताको आश

सौगातले अभिनय गरेको फिल्महरुले व्यवसायिक सफलता नपाएको धेरै भयो । उनी एक हिट फिल्मको दबाबमा पनि छन् ।
यो फिल्मको व्यापारिक सफलताको आशबारे गरिएको प्रश्नमा उनी भूमिका बाँधेर जवाफ दिन्छन् ।

हरेक फिल्ममा अनुबन्ध हुँदा व्यवसायिक सफलताको आश हुने तर सबैले सोच जस्तो व्यापार नगर्ने तथ्य आफूमा पूरा लागू भएको उनी बताउँछन् ।

व्यापारिक रुपमा आश गरेर अनुबन्ध भएका फिल्म छायाङ्कनकै क्रममा कमशल बनेको थाहा हुने उनी सुनाउँछन् ।

भन्छन्, ‘छायाङ्कनमा निस्किएको केही दिनमै त्यहाँको काम गर्ने माहोलले फिल्म राम्रो निस्किँदैन भन्ने थाहा हुन्छ । तर, के गर्नु दर्शकलाई फिल्म झुर बनेको छ भन्दै हिड्नु नायकको व्यवसायिक चरित्र होइन ।’

‘भाइरल गोर्खे’को हकमा भने आफूलाई छायाङ्कन पनि चित्त बुझेको र स्क्रिप्टमा पनि विश्वास रहेको पक्षमा उनी खुले ।
भन्छन्, ‘यो फिल्मको मैले छायाङ्कन निकै इन्जोय गरेँ । स्क्रिप्ट पढ्दा र अभ्यास गर्दा मलाई निकै मज्जा आयो ।’

अर्थात्, यो फिल्म सोचे अनुरुप छायाङ्नक भएकाले स्क्रिप्टमा देखिएको व्यापारिक सफलताको सम्भावना पूरा हुने उनको आश हो ।

उनी दाबी गर्छन्, ‘यो वर्ष प्रदर्शनमा आउने उत्कृष्ट फिल्म मध्येमा यो पर्छ भन्ने मेरो कन्फिडेन्ट हो । व्यापार पनि राम्रो गर्नुपर्ने हो ।’

नायकका रुपमा आफूले ‘भाइरल गार्खे’का लागि १२ दिनको प¥र्याप्त अभ्यास–तयारी गर्न पाएकाले चरित्रमा निर्वाह पक्षमा पनि उनी सन्तुष्ट छन् ।

उनी भन्छन्, ‘मैले अभिनय राम्रो गर्न सकिनँ भने यो मेरै कमजोरी हो । यो फिल्मका लागि मैले प¥र्याप्त तयारी पाएको छु ।’

सौगात र श्रृष्टिको सहकार्य

सौगात र नायिका श्रृष्टि श्रेष्ठले केन्द्रीय भूमिकामा ४ फिल्महरू ‘पोइ पर्यो‍ काले’, ‘माइकल अधिकारी’, ‘द सेक्रेट अफ राधा’ र ‘द रेड सुटकेस’मा सहकार्य गरेका छन् ।

यी दुईको सहकार्य रहेको कुनै फिल्म व्यवसायिक रुपमा हिट बनेका छैनन् । यसले उनीहरूको सहकार्य सुखद नरहेको प्रष्ट हुन्छ ।

‘भाइरल गोर्खे’ उनीहरूको पाँचौँ सहकार्य हो । यहाँसम्म आइपुग्दा पछिल्लो सहकार्यले व्यवसायिक रुपमा सकारात्मक नतिजा दिनेमा सौगात आशावादी छन् ।

श्रृष्टिसँगको सहकार्यबारे उनी भन्छन्, ‘हामी काम गर्दा सहजरुपमा गर्छौं । व्यापारको पाटो फरक कुरा हो । हामी काममा इन्जोय गर्छौं ।’

श्रृष्टिसँगको सहकार्यको व्यवसायिक सफलता र असफताको विषयमा सौगातले किटान गरेर बोल्न नचाहेकै बुझिन्छ । तर, तथ्य ‘ओपन सिक्रेट’ छ । कुनै नायक–नायिका जोडीको फिल्म लगातर फ्लप हुन्छ भने त्यसलाई राम्रो मानिदैन ।

डिमान्ड उस्तै

‘तपाईंलाई लिड नायक लिएको फिल्म चल्दैन भन्ने भाष्य छ नि ?’ भन्ने प्रश्नमा सौगातको जवाफ छ, ‘लुट छ नि ?’

तथ्य पनि यही हो ।

सौगात शीर्ष भूमिकामा रहेको पछिल्लो हिट फिल्म ‘लुट २’ हो । जुन प्रदर्शनमा आएको ८ वर्ष बढी भयो ।

नायक दयाहाङ राईसँग सहकार्य गरेको उनका केही फिल्म हिट छन् । जसमा ‘कबड्डी’ सिरिज पर्छन् । दयाहाङ र उनको सहकार्य रहेको पछिल्लो हिट फिल्म ‘कबड्डी ४’ हो । जुन प्रदर्शनमा आएको ४ वर्ष भयो ।

एकल लिड रहेको फिल्म लगातर फ्लप हुँदा पनि सौगातको व्यस्ततामा कमी आएको छैन । उनले हरेक वर्ष ३–४ फिल्ममा अभिनय गरिरहेका हुन्छन् । उनी आफैँ स्वीकार गर्छन्, ‘मैले अभिनय गरेका फिल्मको व्यापार हेर्ने हो भने प्रस्ताव नआउनुपर्ने हो ।’

तर, आफ्नो डिमान्डमा कमी नआउनुको कारण उनी ‘अभिनय क्षमता’ नै मान्छन् ।

उनको बुझाइ छ, ‘म लिडमा भएको फिल्मले राम्रो व्यापार नगरेको थाहा हुँदा हुँदै पनि मेकरहरु मलाई प्रस्ताव गर्न आउनुहुन्छ । फिल्म पैसाकै लागि बन्छन् । तर, पनि कथाले मागेको भूमिका मैले निर्वाह गर्न सक्छु, चरित्रलाई अभिनयबाट न्याय गर्नसक्छु भन्ने विश्वास मेकरहरुलाई दिलाएको छु ।’

हुन पनि एक भाष्य नै बनेको छ– सौगात अभिनय गर्नकै लागि जन्मिएका हुन् ।

आफूसँग आएका उत्कृष्ट स्क्रिप्टमा काम गर्दा पनि व्यापारिक सफलता हात पार्न नसकेको उनी सेयर गर्छन् । अर्थात्, आफू स्क्रिप्ट चयनमा नचुकेको उनको दाबी हो ।

भन्छन्, ‘प्रस्ताव आएका मध्येमा उत्कृष्ट स्क्रिप्ट चयन गर्ने हो । अब व्यापार राम्रो हुँदैन के गर्ने ? फेरि मैले नराम्रो लागेर छोडेका फिल्म पनि चलेका छैनन् । चयन त राम्रो नै गरेको हो ।’

क्यारेक्टर भन्दा स्क्रिप्टकै खोजी

सौगातको अर्को खुबी पात्र निर्माण हो । तर, उनीसँग अब ड्रिम क्यारेक्टर बाँकी छैन ।

उनी भन्छन्, ‘पहिला मात्रै क्यारेक्टर यस्तो आए हुन्थ्यो भन्ने सोच आउने रहेछ । अहिले मन भएको सबै क्यारेक्टर निर्वाह गरी सकेँ । अब यस्तो क्यारेक्टर निर्वाह गर्न पाए हुन्थ्यो भन्ने छैन । सकियो ।’

आफ्नो पात्र सशक्त भए पनि पटकथा कमजोर भएपछि फिल्मले औचित्य पुष्टि गर्न नसक्ने बुझाइ उनीमा विकास भएको छ । सोहीकारण उनी अहिले राम्रो क्यारेक्टर खोज्नभन्दा राम्रो स्क्रिप्टमै केन्द्रित छन् ।

उनी भन्छन्, ‘राम्रो पटकथा भएको फिल्ममा आफैँमा एउटा गज्जबको क्यारेक्टर हुन्छ । पात्र ठूलो कुरा होइन रहेछ । राम्रो स्क्रिप्ट पात्र दर्शकलाई स्वभाविक नै मन पर्छ ।’

प्रकाशित मिति : २२ पुस २०८२, मंगलबार  १० : ३६ बजे

कुलमानको राजीनामा बुझ्दै प्रधानमन्त्रीले भनिन् : देशको लागि ठूलो गुन लगाउनुभयो

काठमाडाैं- प्रधानमन्त्री सुशीला कार्कीसमक्ष ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार

भेरीगङ्गामा बाघको आक्रमणबाट महिलाको मृत्यु

कर्णाली – बाघको आक्रमणबाट सुर्खेत भेरीगङ्गा नगरपालिका निवासी एक महिलाको

कुलमानले प्रधानमन्त्रीसमक्ष बुझाए राजीनामा

काठमाडौँ । काठमाडौं- ऊर्जा, भौतिक तथा सहरी विकास मन्त्री कुलमान

जर्सिङपौवा दुर्घटनामा मृत्यु हुनेको संख्या चार पुग्यो

काठमाडौं- काठमाडौंको शंखरापुर नगरपालिका- ३, लप्सीफेदीस्थित जर्सिङपौवा–साँखु सडकखण्डमा भएको बस

ओली र लिङ्देनबीच भेटवार्ता

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय