काठमाडौं– कृषि कुनै साधारण उत्पादन प्रणाली मात्र नभएर राष्ट्रको जीवन शक्ति नै हो भन्दा फरक पर्दैन । हाम्रो खानपान, संस्कृति, गाउँको अस्तित्व, रोजगारी, खाद्य सुरक्षा र आर्थिक स्वाधीनता सबैको जरो नै कृषि हो ।
कृषि कमजोर भयो भने गाउँ कमजोर हुन्छ, गाउँ कमजोर भयो भने समाज अस्थिर हुन्छ र समाज अस्थिर भयो भने राष्ट्र आत्मनिर्भर रहन सक्दैन ।
नेपालवादको दृष्टिमा कृषि भनेको राष्ट्रलाई भोकबाट मात्र होइन, परनिर्भरताबाट जोगाउने आधार पनि हो । त्यसैले कृषि बलियो नभएसम्म राष्ट्र पनि आत्मनिर्भर हुँदैन ।
आजको यथार्थ कठोर छ । किसान परिश्रम गर्छ, तर पनि उसको आम्दानी भने अनिश्चित रहन्छ । उत्पादन हुन्छ, तर मूल्य किसानले निर्धारण गर्न सक्दैन । मल, बीउ, सिँचाइ चाहिन्छ, तर समयमा र गुणस्तरसहित उपलब्ध हुँदैन । नीति बनाइन्छ, तर कार्यान्वयन ढिलो र खण्डित हुन्छ ।
यो स्रोतको अभाव मात्र नभई नीति, संरचना र प्रणालीको कमजोरी हो । अनुदान बाँडेर नभई, संरचना सुधारेर मात्र कृषि उठ्छ । त्यसैले यसो भन्नुपर्छ कि कृषि सङ्कट किसानको कमजोरी होइन, प्रणालीको असफलता हो ।
आत्मनिर्भरता सुरु हुन्छ, उत्पादकत्वबाट । उन्नत बीउ, माटोअनुकूल जात, जलवायु–सहनशील बाली, वैज्ञानिक खेती र प्रविधिको प्रयोग बिना उत्पादन बढ्दैन ।
तर हाम्रो अनुसन्धान किसानसम्म पुग्दैन, बीउ परीक्षण कमजोर छ, विस्तार सेवा सुस्त छ । प्रविधिले उत्पादन दोब्बर बनाउन सक्छ, तर प्रविधि किसानको हातमा पुग्ने बाटो भने धेरै नै जटिल छ ।
प्रयोगशालाबाट खेतसम्म पुग्ने प्रणाली नै परिवर्तनको मेरुदण्ड हो । प्रविधि किसानको हातमा पुगेपछि मात्र उत्पादन उकालो लाग्न सक्छ ।
सिँचाइ कृषि उत्पादनको धड्कन हो । पानी प्रशस्त भएर पनि सिँचाइ असमान छ, कतै स्रोत छ तर प्रणाली कमजोर, कतै स्रोत छ तर पहुँच छैन । सिँचाइ नहुँदा खेती मौसममा निर्भर हुन्छ, जोखिम बढ्छ, किसान वर्षेनी घाटामा जान्छ ।
सिँचाइलाई परियोजना होइन, राष्ट्रिय उत्पादन प्रणालीको आधार मान्नुपर्छ । साना, मध्यम र ठूला सिँचाइ संरचना एकीकृत रूपमा बनेपछि मात्रै खेती योजना बन्छ ।
सिँचाइ बिनाको कृषि आकासे फलजस्तै हो, त्यसैले सिँचाइसँगै कृषि योजना बन्छ ।
दिगो कृषि माटो स्वास्थ्यमा मात्र टिक्छ । अत्यधिक रासायनिक मल, माटो परीक्षण अभाव, जैविक पदार्थको कमी र क्षरणले उर्वराशक्ति घट्दै छ । माटो कमजोर हुँदा उत्पादन घट्छ तर उता लागत भने बढ्छ ।
यसबाट किसान निराश हुन्छ । माटोको संरक्षण दीर्घकालीन राष्ट्रिय सम्पत्ति संरक्षण हो । माटो परीक्षण, सन्तुलित मल प्रयोग, जैविक पदार्थ थप्ने अभ्यास, बाली चक्र परिवर्तन बिना टिकाउ कृषि सम्भव छैन । माटो जोगाइएन भने स्वभावतः खेती पनि जोगिँदैन ।
आधुनिक कृषि प्रणालीको प्रवेशद्वार हो यान्त्रीकरण र सीप । हातमा मात्र आधारित खेतीले सीमित उत्पादन दिन्छ । मेसिन, सानो सिँचाइ प्रविधि, हरितगृह, आधुनिक कटानी, बाली सङ्कलन, स्मार्ट खेती बिना प्रतिस्पर्धा सम्भव छैन ।
तर यान्त्रीकरण महँगो छ, वित्त पहुँच कठिन छ, तालिम सीमित छ । नेपालवाद किसानलाई श्रमिक मात्र होइन, कृषि उद्यमीका रूपमा उभ्याउने पक्षमा छ । किसान सीपयुक्त भयो भने खेती व्यवसाय बन्छ ।
हाम्रो कृषिको सबैभन्दा कमजोर कडी हो भण्डारण र चिस्यान । उत्पादन प्रशस्त हुँदा पनि सुरक्षित भण्डारण नहुँदा फलफूल, तरकारी र अन्न नष्ट हुन्छन्, मूल्य अस्थिर बन्छ, किसान घाटामा जान्छ । उत्पादन जोगाउन नसक्नु, उत्पादन गर्न नसक्नु जत्तिकै ठूलो कमजोरी हो ।
भण्डारण गृह, चिस्यान केन्द्र, अन्न भण्डार, फसल बीमा यी सबै कृषि मूल्य शृङ्खलाका अनिवार्य आधार हुन् । त्यसैले पनि उत्पादन जोगाउन सक्ने राष्ट्र मात्र आत्मनिर्भर हुन्छन् भनिएको हो ।
किसानको वास्तविक शक्ति हो बजारमा पहुँच । तर दलाल–केन्द्रित मूल्य निर्धारण, कमजोर स्थानीय बजार, महँगो ढुवानी र अपारदर्शी व्यापार प्रणालीले किसानलाई कमजोर बनाएको छ ।
किसान–बजारसँग प्रत्यक्ष जोडिन चाहन्छन् तर परिस्थिति त्यस्तो छैन । सहकारी, सङ्कलन केन्द्र, पारदर्शी मूल्य सूचना, करार खेती, डिजिटल व्यापारजस्ता संरचनाबाट किसानलाई मूल्य निर्धारणको केन्द्रमा ल्याउनुपर्छ । किसानले मूल्य नपाएसम्म कृषि न्याय हुँदैन ।
खाद्य आपूर्ति शृङ्खला राष्ट्रको पेट हो । खेतदेखि भान्सासम्म दूध, मासु, अन्न, तरकारी सुरक्षित, छिटो र स्वच्छ रूपमा पुग्नुपर्छ । आपूर्ति शृङ्खला कमजोर हुँदा कहिले अभाव, कहिले मूल्यवृद्धि, कहिले गुणस्तर समस्या देखिन्छ । खाद्य आपूर्तिलाई राष्ट्रिय सुरक्षा सरह प्राथमिकता दिनुपर्छ, किनकि भोको नागरिकले राष्ट्र निर्माण गर्न सक्दैन । खाद्य आपूर्ति कमजोर भयो भने राष्ट्र कमजोर हुन्छ ।
अब भविष्यको बाटो दिगो र जैविक कृषि हो । रासायनिक निर्भरता घटाउने, पानी बचत प्रविधि, जैविक प्रमाणीकरण, हरित बजार, जलवायु–स्मार्ट खेतीले मात्र दीर्घकालीन उत्पादन सुनिश्चित गर्छ । यो विकल्प होइन भविष्य हो । किसानको स्वास्थ्य, उपभोक्ताको स्वास्थ्य र वातावरण तीनैलाई सन्तुलनमा राख्ने रणनीति यही हो । कृषि दिगो भयो भने राष्ट्र दिगो हुन्छ ।
खाद्य सुरक्षा उत्पादन मात्रै होइन पोषण, पहुँच, संरक्षण र सङ्कट व्यवस्थापन हो । बाढी, सुक्खा, महामारी वा बजार सङ्कटमा नागरिक भोकै बस्नु राष्ट्रको सबैभन्दा ठूलो असफलता हो ।
नेपालवाद खाद्य सुरक्षा र पोषणलाई राष्ट्रिय सुरक्षाको स्तरमा राख्छ, ताकि सङ्कटमा पनि नागरिक सुरक्षित रहून् । भोकमुक्त राष्ट्र मात्र स्वतन्त्र राष्ट्र हो ।
कृषि उठ्यो भने गाउँ उठ्छ, गाउँ उठ्यो भने समाज स्थिर हुन्छ, समाज स्थिर भयो भने राष्ट्र आत्मनिर्भर बन्छ । नेपाल अब परनिर्भर कृषि होइन, आधुनिक, दिगो, उत्पादनशील र प्रतिस्पर्धी कृषि राष्ट्र बन्न सक्छ । यही नेपालवादको कृषि प्रतिज्ञा हो ।
नेपाल उत्पादन गर्छ, नेपाल खान्छ, र नेपाल आत्मनिर्भर बन्छ । यसका लागि निम्न विषयहरूमा थप जोड दिँदा राम्रो हुनेछ ।
कृषि नीति तथा उत्पादन वृद्धि रणनीति
कृषिमा सुधार टुक्रे कार्यक्रम होइन १५–२० वर्षको दीर्घकालीन दृष्टि हो । माटो, हावापानी र भूगोलअनुसार बालीको क्षेत्र निर्धारण, व्यावसायिक खेती करिडोर, उत्पादन लक्ष्य र जोखिम व्यवस्थापन स्पष्ट हुनुपर्छ ।
नीति स्पष्ट भए किसानको के रोप्ने भन्ने अन्योल हट्छ । लगानी सही ठाउँमा जान्छ र बजारसमेत अनुशासित हुन्छ । उत्पादन वृद्धि सिँचाइ, बीउ, माटो, बजार र भण्डारण एकै शृङ्खलामा बाँध्दा मात्रै सम्भव हुन्छ । दृष्टि स्पष्ट भयो भने खेतले दिशा पाउँछ ।
उन्नत बीउ, प्रविधि तथा आधुनिक खेती प्रणाली
बीउ केवल दाना होइन उत्पादनको भविष्य हो । गुणस्तरीय बीउ, रोग–प्रतिरोधी जात, माटो–अनुकूल बाली, खेतीमा रोग पहिचान, मौसम सूचना र कृषि परामर्श किसानसम्म सजिलो ढङ्गले पुग्नुपर्छ ।
अनुसन्धान प्रयोगशालामा सीमित भयो भने किसानको खेत उही पुरानै रहन्छ । नमूना खेत, किसान, मैदान विद्यालय, स्थानीय बीउ बैङ्क र प्रमाणीकरण प्रणालीले उन्नत बीउको भरोसा बढाउँछ । बीउ गुणस्तरीय भयो भने खेतले भविष्य उमार्छ ।
सिँचाइ सुविधा विस्तार तथा पानी व्यवस्थापन
सिँचाइ बिना कृषि जोखिम हो । नहर मर्मत, लिफ्ट सिँचाइ, साना जलाशय, पानी सञ्चित गर्ने संरचना र सूक्ष्म सिँचाइ प्रविधिले पानीलाई योजनाअनुसार चलाउन सकिन्छ । पानी वितरण न्यायपूर्ण र अनुशासित भए किसानले बाली चक्र मिलाउँछ, उत्पादन स्थिर हुन्छ र घाटा घट्छ ।
पानीको नक्सा, प्राथमिकता क्षेत्र र स्थानीय सहभागितासहित सिँचाइलाई राष्ट्रिय उत्पादन प्रणाली बनाउनु आवश्यक छ । पानी चलेपछि खेत पनि बोल्न थाल्छ अनि किसान पनि बाँच्दछ ।
माटो स्वास्थ्य संरक्षण तथा मल–बीउको नियमित उपलब्धता
माटो थाक्यो भने खेती थाक्छ । माटो परीक्षण, सन्तुलित मल प्रयोग, जैविक पदार्थ थप्ने अभ्यास, बाली चक्र परिवर्तन र क्षरण रोक्ने काम अनिवार्य छन् ।
मल र बीउको नियमित, पारदर्शी र गुणस्तरीय आपूर्तिले किसानलाई अनिश्चितताबाट निकाल्छ । डिजिटल ट्र्याकिङ, किसान परिचयपत्रमार्फत लक्षित वितरण र स्थानीय बीउ/मल केन्द्रले समयमै उपलब्धता सुनिश्चित गर्छ । माटो बच्यो भने कृषि बच्छ, कृषि बच्यो भने राष्ट्र बच्छ ।
कृषि यान्त्रिकीकरण, सीप विकास तथा किसान प्रशिक्षण
कृषि अब श्रमको घोटाइ होइन कि दक्षतामा आधारित व्यवसाय बन्नुपर्छ । भूगोलअनुसार उपयुक्त मेसिन, सहकारीमार्फत साझा मेसिन केन्द्र, मर्मत–कार्यशाला र तालिमले यान्त्रिकीकरण सुलभ बनाउँछ । किसानलाई मेसिन चलाउन, लागत गणना गर्न, उत्पादन योजना बनाउन र बजार बुझ्न सिकाएपछि खेती व्यवसाय बन्छ । युवालाई कृषि प्रविधिमा जोड्दा गाउँमै रोजगारी र उत्पादन दुवै बढ्छ । सीप र उपकरण मिलेपछि किसान उद्यमी बन्छ ।
भण्डारण संरचना, चिस्यान केन्द्र तथा फसल–सुरक्षा प्रणाली
भण्डारण बिना उत्पादन अधुरो छ । अन्न भण्डार, चिस्यान केन्द्र, पूर्व–चिस्याउने सुविधा, ढुवानीका चिस्यान साधन र फसल बीमाले नोक्सानी घटाउँछ । उत्पादन धेरै हुँदा मूल्य ढल्छ, त्यसलाई सम्हाल्न भण्डारण र बफर भण्डार आवश्यक हुन्छ । किसानले उत्पादन जोगाउन सकेपछि मात्र बजारसँग सौदाबाजी गर्न सक्छ । फसल जोगियो भने किसानको वर्ष जोगिन्छ ।
बजार पहुँच, मूल्य स्थिरता तथा किसान आय–सुरक्षा
किसानको सबैभन्दा ठूलो प्रश्नमूल्य कति भन्ने नै हो । न्यूनतम समर्थन मूल्य, करार खेती, सहकारीमार्फत सङ्कलन÷बिक्री, पारदर्शी मूल्य सूचना र ढुवानी सहजीकरणले किसानलाई मूल्यअनिश्चितताबाट निकाल्छ । बजारमा दलाली घटाउन किसानबजार प्रत्यक्ष जडान र मूल्य जानकारी खुला हुनुपर्छ । आय स्थिर भयो भने किसानले जोखिम लिन सक्छ, प्रविधि अपनाउन सक्छ, र उत्पादन बढाउँछ । मूल्य स्थिर भयो भने किसान निडर बन्छ ।
दूध, मासु, तरकारी तथा अन्न आपूर्ति शृंङ्खला सुधार
आपूर्ति शृंङ्खला बिग्रियो भने किसान घाटामा र उपभोक्ता महँगोमा पर्छ । दुग्ध चिस्यान केन्द्र, मासु÷दूधको गुणस्तर परीक्षण, अन्न भण्डार, चिस्यान ढुवानी र बजारमा स्वच्छ वितरण प्रणालीले खाद्य सुरक्षालाई बलियो बनाउँछ । किसान–प्रशोधन–बजार एउटै शृङ्खलामा जोड्दा नोक्सानी घट्छ र मूल्य स्थिर हुन्छ । आपूर्ति शृङ्खला बलियो भयो भने कृषि इन्जिन बन्छ ।
जैविक खेती, हरित उत्पादन तथा दिगो कृषि अभ्यास
रासायनिक निर्भरता घटाउँदै माटो, पानी र स्वास्थ्य जोगाउनु अब बाध्यता हो । जैविक मल, कीरा–व्यवस्थापनका सुरक्षित उपाय, पानी बचत प्रविधि, प्रमाणिकरण र हरित बजारको संरचना बनेपछि जैविक खेती जोखिम होइनअवसर बन्छ । यसले किसानको स्वास्थ्य, उपभोक्ताको विश्वास र निर्यात सम्भावना बढाउँछ । स्वस्थ माटो र स्वस्थ खाना नै राष्ट्रको दीगो शक्ति हो ।
खाद्य सुरक्षा, पोषण सन्तुलन तथा जोखिम व्यवस्थापन
खाद्य सुरक्षा भनेको अन्न मात्रै होइन—पोषण र सङ्कट व्यवस्थापन पनि हो । बाढी–सुक्खा–महामारीमा पनि आपूर्ति निरन्तर राख्ने बफर भण्डार, आपतकालीन खाद्य बैंक, जोखिमपूर्वानुमान र वितरण प्रणाली चाहिन्छ । बालबालिका, गर्भवती महिला र वृद्धका लागि पोषण कार्यक्रम खेतसँगै जोडिनुपर्छ । खाद्य सुरक्षा भनेको राष्ट्रको आधार सुरक्षित हुनु हो ।
यो पृष्ठभूमिमा हरेक किसानले आफ्नो क्षेत्रका नेता तथा जनप्रतिनिधिहरुलाई कृषि तथा खाद्यसम्बन्धी निम्न प्रश्नहरु सोध्न र त्यसको जवाफ पनि प्राप्त गर्ने अधिकार राख्दछन् ।
१) पहिलो एक वर्षमा कृषिमा जनताले देख्ने तीन ठोस नतिजा के हुन् र प्रत्येकको समयसीमा के हो ?
२) मल–बीउ समयमै र गुणस्तरीय रुपमा प्रदान गर्ने ठोस व्यवस्था के हो र अनियमितता भए कारबाही कसरी हुन्छ ?
३) सिँचाइ विस्तारमा पहिलो चरणका पालिका÷क्षेत्र कुन हुन् र बजेट, जनशक्ति र मर्मत कसरी सुनिश्चित गर्नुहुन्छ ?
४) माटो परीक्षण र सन्तुलित मल कार्यक्रम छ महिनाभित्र कहाँ–कहाँ सुरु हुन्छ र किसानले रिपोर्ट कसरी हेर्न पाउँछन् ?
५) किसानलाई मेसिन÷तालिम सुलभ बनाउन सहकारी मेसिन केन्द्र कहिले उपलब्ध हुन्छ र कति जिल्लाबाट सुरु हुन्छ ?
६) भण्डारण÷चिस्यान केन्द्र कहाँ कहाँ बन्छ र किसानले शुल्क कति तिर्नुपर्छ ?
७) किसानको आय सुरक्षाका लागि न्यूनतम समर्थन मूल्य÷करार खेती÷सहकारी बजार—पहिलो वर्ष के के लागू हुन्छन ?
८) दलाली र अपारदर्शी मूल्य रोक्न खुला मूल्य सूचना र किसान–बजार प्रत्यक्ष जडान कहिले सुरु हुन्छ ?
९) दूध, मासु, तरकारी, अन्नको आपूर्ति शृंखला सुधारमा मुख्य ३ काम के हुन् ?
१०) बाढी÷सुक्खा÷किरा महामारीमा फसल–जोखिम व्यवस्थापन र बीमा कसरी गरिन्छ र पीडितले कति दिनभित्र राहत पाउँछ ?
११) उक्त समय सीमाभित्र उत्पादन/मूल्य/भण्डारण/सिँचाइमा सुधार देखिएन भने तपाईंको जवाफदेहिता के हो ?
(लेखक शर्मा सरसफाइ तथा प्रकृति संरक्षण सम्बन्धी अभियन्ता हुन् ।)
रासस













प्रतिक्रिया