काठमाडौं – अभिनेता जितु नेपाल ‘मुन्द्रे’ले फिल्म ‘आई एम जीतबहादुर’ बनाउने घोषणा गरेका छन् । उनले सामाजिक सञ्जाल फेसबुकबाट मंगलबार फिल्म निर्माणको घोषणा गरेका हुन् ।
यही फिल्मबाट जितुले फिल्ममा लगानी गर्ने सोच बनाएका हुन् । यसअघि उनी ‘छक्का पञ्जा’ टिमले बनाउने फिल्ममा कार्यकारी निर्माता जिम्मेवारीमा थिए ।
यस फिल्मको निर्देशक भारतीय नागरिक सुवेन्दु घोष हुन् । उनकै कथामा यो फिल्म बन्न लागेको हो ।
जितु र घोष चिनजानका व्यक्ति हुन् । पहिलादेखि नै घोषको नेपाली फिल्ममा काम गर्ने चासो रहेको र अहिले वातावरण मिलेको जितुले बताए ।
फिल्ममा निर्देशक रहनुको कारण बारे जितु थप्छन् , ‘उहाँ मेरो साथी हुनुहुन्छ । उहाँ मलाई लिएर एउटा नेपाली फिल्म बनाउँछु भनिरहनु भएको थियो । अहिले महोल मिल्यो ।’
यस फिल्मको शीर्ष भूमिकामा जितु नै रहने बुझिएको छ । अन्य कलाकार चयनको काम भने बाँकी रहेको छ । जितु भन्छन्, ‘एक नायिकासँग आजै भेट्ने कुरा छ । फाइनल भएपछि सार्वजनिक गर्छु ।’
भारतीय निर्देशक रहे पनि कथा पूर्ण नेपाली परिवेशकै रहेको जितु बताउँछन् । उनी भन्छन्, ‘नेपाली एयरलाइन्सको विमान विदेशी पाइलटले उडाएको भनेर बुझ्नुस् न ।’
कलाकार बन्ने सपना भएको एक ग्रामिण युवाको कथा आधारित भएर फिल्म बन्ने उनले खुलाए ।
माघ पहिलो साताबाट छायाङ्कनमा निस्कने तयारी रहेको छ । फिल्म तयार भएपछि प्रदर्शन मिति तय गर्ने तयारी रहेको उनले जनाएका छन् ।













प्रतिक्रिया