काठमाडौं – र्यापको सुरुवात सयौं वर्ष पहिला नै भएको तथ्यहरु भेटिन्छ । एकिन मिति ठम्याउन कठिन छ । तर, एक कुरा प्रष्ट छ- क्रान्तिको आवाज उठाउन र्यापको प्रयोग भयो ।
सन् १९७० को दशकमा अमेरिकामा सामाजिक र आर्थिक विभेदमा परेका अश्वेतहरुले गोराहरुविरुद्ध आवाज उठाउन र्यापको प्रयोग गरे । यहीबाट र्याप मौलाएको हो ।
पछि गोराहरु पनि र्यापर बने र यसको अन्य व्यवसायिक पक्षसँग पनि जोडिए । अनि र्याप संगीतको बलियो विधामा स्थापित भयो ।
अर्थात्, र्याप क्रान्तिसँग जोडिएको छ । यसले परिवर्तनको लेगेसी बोकेको छ । अहिले अन्य संगीतको विधाजस्तै र्यापलाई मनोरञ्जनका रुपमा विश्वले स्वीकार गरेको छ ।
बालेन्द्र शाह ‘बालेन’ पनि र्याप पृष्ठभूमिबाट राजनीतिमा आएका व्यक्ति हुन् । भलै उनका र्याप जोडदार क्रान्तिकारी छैनन् । सामाजिक र राजनीतिक चेत बोकेका एकाध र्याप गाएका छन् ।
अहिले राजनीतिमा बालेनको प्रवेशलाई ‘परिवर्तनको प्रयास’का रुपमा लिइन्छ ।
पुराना दलहरुको सत्ता सिन्डिकेट तोड्ने रणनीति स्वरुप बालेनलाई उनी आबद्ध राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भावी प्रधानमन्त्रीका रुपमा अगाडि बढाएको छ ।
लामो समय सत्ताकै रापतापमा बसेको नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीविरुद्ध झापा ५ मा बालेनले रास्वपाबाट उम्मेद्वारी दिएका छन् ।
ओलीविरुद्ध बालेनको उम्मेद्वारी कारण प्रष्ट छ- ओलीलाई चौथो पटक प्रधानमन्त्री बन्न रोक्ने ।
बालेन देशव्यापी राम्रो समर्थक भएका नेता हुन् । ती समर्थकहरुको बुझाइ छ– बालेन परिवर्तनको आशा हुन् । उनले सत्ताको रापतापमा राजनीति गरेर देश विकास गर्न नसक्ने नेतालाई विस्थापन गर्छन् । देशमा विकासको क्रान्ति ल्याउछन् ।
अर्थात्, एउटा ठूलो तप्काले बालेनलाई परिवर्तनको आशा घोषणा नै गरेका छन् । परिवर्तनको बिकल्पको सपना र जपनाका रुपमा उनलाई लिइएको छ ।
नेपालले लोकतान्त्रिक विधिबाटै परिवर्तनको कल्पना गर्छ । जनता यसका हकदार हुन् । दललाई सत्तामा पुग्न जनमतको भर पर्नुपर्छ । मताधिकारको स्वविवेक प्रयोग गर्न जनता पूर्ण स्वतन्त्र छन् ।
परिवर्तन पक्षधरले आफ्नो आवाज बुलन्द गर्न गीत–संगीतलाई प्रभावकारी मान्छन् । सोहीकारण केही दलले गीत-संगीतलाई स्थान दिन विभाग नै गठन गरेका हुन्छन् । राजनीतिमा संगीत हतियार बन्ने गर्छ ।
समर्थक कलाकारबाट निश्चित दल वा व्यक्तिको चुनाव केन्द्रित समर्थनमा गीत गाउने प्रवृति झन् अहिले बढ्दो छ ।
बालेनमा हकमा पनि चुनाव केन्द्रित भइ समर्थनमा गीतहरु बनेका छन् । ‘परिवर्तन आवाज’को लेगेसी बोकेको र्याप विधाका गीतहरु पनि उनका समर्थनमा बनेका छन् ।
कुन र्यापरले गाए बालेनको समर्थनमा ?

बालेनका पक्षमा र्याप गीत निकाल्ने मुलधारका एक्लो र्यापार भिओमा देखिएका छन् ।
गत स्थानीय तहको निर्वाचनमा पनि उनले बालेनको समर्थनमा र्याप निकालेका थिए । यो प्रतिनिधिसभाको निर्वाचनमा उनी बालेनको पक्षमा नै देखिए ।
बालेनको समर्थनमा उनले ‘झापा ५’ शीर्षकको र्याप गीत निकालेका छन् ।
जसमा उनले नयाँ पुस्ताले देशको नेतृत्व गर्नुपर्ने, विकासका लागि भिजन भएको व्यक्ति, गरिब–निमुखा र सहिदको भावना समेट्न सक्ने नेताका रुपमा बालेनलाई प्रस्तुत गरेका छन् ।
राष्ट्रको आवश्यकता भएकाले बालेनलाई भोट हाल्न झापा ५ का जनतालाई आग्रह गरेका छन् । उनले बालेन आबद्ध पार्टी रास्वपालाई भोट दिन आग्रह गरेका छन् ।
आम नेपालीले चाहेको परिवर्तनको पक्षमा भिओमाले र्याप गाए । यस मानेमा उनको यो गीत क्रान्तिकारी नै हो ।
तर, यस परिवर्तनका सम्भावना भने उनले बालेन र रास्वपाबाटै देखे । यसलाई कसरी ग्रहण गर्ने ? त्यो दर्शककै स्वविवेकमा भर पर्छ ।
अन्डरग्राउन्ड र्यापर एयुक्सले पनि बालेनको समर्थनमा र्याप निकालेका छन् । ‘भोट फर बालेन’ शीर्षकको उक्त र्यापमा उनले युवा पुस्ताको आवाजका लागि, राजनीतिक विकृति अन्त्य र देशमा विकासका लागि बालेनको सत्ता आवश्यक रहको कोणबाट शब्द चयन गरेका छन् ।
अर्का र्यापर सुकराज खड्काले बालेनको चुनावी नारा ‘अबकी बार बालेन सरकार’लाई गीतमार्फत् हाइलाइट गरेका छन् । उनले रास्वपाको चुनाव चिह्न ‘घण्टी’को प्रचार गरेका छन् ।
र्यापर बीजी वीर गोर्खालीले बालेन सत्तामा आए देश विकास हुने बुझाइ राख्दै झापा ५ मा उनलाई भोट हाल्न आग्रह गर्दै र्याप गीत ‘झापा ५’ निकालेका छन् ।
अर्थात्, यी र्यापरले परिवर्तनकाको आवाजका लागि ‘र्याप’लाई अस्त्र बनाएका छन् । तर, उनीहरु व्यक्ति र दल केन्द्रित भने अवश्य छन् ।
सिस्टम, समस्याको जड र प्रवृतिमाथि खरो उत्रन नसक्नु उनीहरुको कमजोरी नै मान्न सकिन्छ ।
सिर्जनामा एक पार्टी र व्यक्ति आइडल बनाउनु स्वतन्त्र कलाकारको छवि होइन । किनकि कलाकार सबै जनताका हुन् ।
र्यापरहरुलाई प्रश्न स्वाभाविक उठ्छ– समस्याको जड र पुरानाको विरोधका शब्द चयनमा ध्यान दिएको भए मात्रै हुँदैन थियो र ? व्यक्ति र पार्टीलाई आइडल बनाउन नै आवश्यक थियो र ? नयाँ पार्टीको नारा हाइलाइट गर्नु र्यापरको काम हो र ?
अर्को रोचक कुरा बालेनको पक्षमा र्याप गीत बनाउन एआईको प्रयोग पनि बाक्लै पाइन्छ । यस्ता एआई निर्मित दर्जनौं गीत युट्युबमा छन् ।
अन्य गीत पनि बग्रेल्ती !

मैथिला र भोजपुरी भाषामा पनि बालेनको समर्थनमा गीत निस्किएका छन् । तर, ती भाषाका गीतहरु एआई प्रयोग गरी बढी बनाइएको भेटिन्छ ।
लक्ष्मीता ठाकुरको स्वराङ्कनमा ‘घण्टी व मोहर लागैदिहे ना’ बालेलको गीत सार्वजनिक भएको छ ।
गायक सूर्य खड्काले रास्वपाको समर्थनमा गाएको लोक गीत ‘घण्टी टिनिनी’ ले १० लाख बढी भ्युज पाएको छ ।
यो गीत दुई वर्ष अघि नै सार्वजनिक भएको हो । जसबेला बालेन रास्वपामा थिएनन् । एक महिनाअघि फेरि उनले यो गीत रिअपलोड गरेका छन् । थम्बनेलमा बालेन्द्रको तस्बिर थपेका छन् ।
गीतमा अहिलेका स्थापित गायक अर्जुन सापकोटा फिचर्ड छन् । यो गीत सार्वजनिक हुँदा अर्जुन चर्चामा थिएनन् ।
अन्य चर्चामा नरहेका दर्जनौं गायक गायिकाले बालेनको पक्षमा गीत गाएका छन् । एआईको प्रयोगमा तयार भएका गीत दर्जनौं छन् ।
यी गीतहरुमा पुराना नेताहरुलाई भ्रष्ट किटान गरिएको छ । रवि लामिछाने र बालेन जस्ता नेता सत्तामा पुग्नुपर्ने तर्क राखिएको छ । यी दुई र पार्टीको गुनगान गाइएको छ ।
गायिका शान्तिश्री परिवारले रविको पक्षमा गाएको गीत चुनावको संघारमा भाइरल छ । तर, उनले चुनाव प्रचारमा सहयोग गर्न उक्त गीत गाएकी होइनन् ।
६ वर्षअघि रवि लामिाछाने एक पत्रकारको आत्महत्या काण्डमा मुछिदा गायिका शान्तिश्रीले ‘हामी मरी बचाउँछौ रबि दाइ’ बोलको गीत गाएकी थिइन् । जसबेला रवि सहकारी ठगी मुछिएका थिएनन् भने राजनीतिमा आएकै थिएनन् ।













प्रतिक्रिया