स्याङ्जा – स्याङ्जा क्षेत्र नम्बर २ मा मतगणना सुरु हुन लागेको छ। वालिङ नगरपालिकाको एक मतदान केन्द्रमा निर्वाचन अधिकृतको हस्ताक्षरबिनै मत खसेको विवादका कारण दुई घण्टासम्म मतदान रोकिएको थियो।
विवादका बेला मतपेटिकामा खसेका १७१ मतपत्र सिल गरी, हस्ताक्षर नभए पनि गणना गर्ने विषयमा निर्वाचन आयोगमा पत्र पठाउने सहमति जुटेपछि मतदान पुनः सुरु गरिएको थियो।
केन्द्रीय निर्वाचन कार्यालयले सर्वदलीय बैठक राखेर छिटो मतगणना प्रारम्भ गर्ने निर्देशन दिएपछि, दलबीच सहमति जुटाएर गणना सुरु गर्न तयारी भएको हो । नेपाली कांग्रेसका स्याङ्जा–२ प्रतिनिधि विक्रम सारुले अब केही बेरमा मतगणना सुरु हुने बताए।

यहाँ १ लाख १७ हजार ९३० मतदाता रहेका छन्। हालसम्म ६२ हजार ३९८ मतदाता (९५.९१० प्रतिशत) ले मतदान गरेका छन्। यद्यपि, हस्ताक्षरित तथ्यांक नभएकाले केही मत सङ्ख्यामा फरक हुनसक्ने कार्यालयले जनाएको छ।
स्याङ्जा–२ बाट १२ जना उम्मेदवारले प्रत्यक्ष निर्वाचनमा भाग लिएका छन्। प्रमुख उम्मेदवारमा नेपाली कांग्रेसका भागवतप्रकाश मल्ल, नेकपा एमालेका खिमबहादुर थापा, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का झविलाल डुम्रे र नेपाली कम्युनिस्ट पार्टीका पदमबहादुर विश्वकर्मा रहेका छन्।
अन्य उम्मेदवारमा राष्ट्रिय प्रजातन्त्र पार्टीका रविन पाठक, मंगोल नेसनल अर्गनाइजेसनका खर्कबहादुर थापा, नेशनल रिपब्लिक नेपालका तेजबहादुर थापा, राष्ट्रिय जनमुक्ति पार्टीका हरिदेव थापा, जय मातृभूमि पार्टीका धनबहादुर थापा, प्रगतिशील लोकतान्त्रिक पार्टीका टीकाराम रेग्मी, राष्ट्रिय जनमोर्चा पार्टीका राजेन्द्रप्रसाद गैरे रहेका छन्।
स्वतन्त्र उम्मेदवारमा सागर थापा मगर र दिलिप श्रेष्ठसहित केहीले उम्मेदवारी फिर्ता लिएपछि १२ उम्मेदवारबीच प्रतिस्पर्धा जारी छ।













प्रतिक्रिया