जनता यो तहसम्म ‘फ्रस्टेट’ छन् भन्ने विश्वास नै थिएन : रक्षा बम (अन्तर्वार्ता) « Khabarhub

जनता यो तहसम्म ‘फ्रस्टेट’ छन् भन्ने विश्वास नै थिएन : रक्षा बम (अन्तर्वार्ता)



काठमाडौं- भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनकी अगुवा रक्षा बम बिहीबारको निर्वाचनले अनपेक्षित परिणाम दिएको बताउँछिन् । यसघि नै नेपाली जनता परिवर्तनको पक्षमा रहेको संकेत देखिएको बताउँदै बमले यतिसम्मको सचेतना जनतामा फैलिसकेको विषयमा आफूलाई विश्वास नलागेको बताइन् ।

‘जनता परिवर्तनको पक्षमा छन् भनेर आन्दोलनले देखाइसकेको थियो । तर यति धेरै फ्रस्ट्रेसन बोकेका रहेछन् भन्नेचाहिँ हामीले अपेक्षा गरेका थिएनौँ’, बमले खबरहबलाई भनिन्, ‘पुराना दलको तल्लो तहसम्म संगठन भएकाले जनताले यही निर्वाचनमा यो तहको परिवर्तन गरिहाल्छन् भन्ने हामीलाई लागेको थिएन । तर जनता धेरै सचेत हुनुभए छ । अबका प्रतिनिधिसभा सदस्यले हरेक मुद्दालाई सम्बोधन गर्नु र देशलाई संविधान र लोकतन्त्रको ट्रयाकमा चलाउनुपर्छ ।’

बम नयाँ बन्ने सरकारले परिवर्तन चाहेका जनतालाई धोका नदिन आग्रह गर्छिन् । सुरुवाती मतपरिणाम सार्वजनिक भइरहेको बेला बमसँग खबरहबले सात प्रश्न गरेको छ।

प्रारम्भिक नतिजामा परिवर्तनको लहर देखिएको छ । यो नतिजाप्रति तपाईंंहरू कति उत्साहित हुनुहुन्छ ?

जनताले जसलाई र जति मत दिएका छन् त्यसलाई स्वीकार्नुपर्छ । यो इच्छालाई सधैँ जोगाएर राख्नैपर्छ । हामी उत्साहित छौँ । जनताको मतको कदर हुनेछ, कदर गर्नुपर्छ भनेर हामी सडकबाट आवाज उठाउनेछौँ । हामीलाई विश्वास छ, अब हामीले सडकबाट आवाज उठाउनुपर्दैन । नयाँ जनादेशले सदनबाटै जनताको आवाज उठाउँछ ।

यहाँहरू आफैँ निर्वाचनमा सहभागी हुनुभएन । यद्यपि परिवर्तनको पक्षमा मतदान गर्न आह्वान गर्नुभएको थियो, त्यसकारण आन्दोलनपछिको परिणाम तपाईंहरूकै हो भन्न मिल्छ नि ?

हामीले हालेको मतको परिणाम नै हो यो। यो प्रारम्भिक चरणको परिणाम हेर्दा सबैजनाले नयाँ लहर र परिवर्तनलाई भोट दिएका छन् । परिवर्तनको पक्षमा आएको नयाँ जनमत स्वीकार्य छ । उम्मेदवार वा पार्टी चाहे जो हुन् जनमत चाहिने नयाँ हो ।

जनताले परिवर्तन चाहेका रहेछन् भन्ने कुराको पुष्टि भएको छ । पार्टी जुनसुकै र उम्मेदवार जुनसुकै भए पनि यो जनमत हो । जनताले परिवर्तन चाहेकाले हामी मज्जाले स्वागत गर्छौँ । हामी मतपरिणामको प्रारम्भिक चरणमा छौँ ।

रक्षा बम।

देशभरको अवस्था हेर्दा अबको सदनले देशलाई निकास देला ?

हामी आशावादी हुनुपर्छ । यदि नभएको खण्डमा सडकबाट हामी पनि खरो रुपमा प्रश्न गर्नेछौँ । यो नतिजाको परिणाम जे हुन्छ सबै जनताकै पक्षमा हुनुपर्छ भनेर हामी सडकमा रहनेछौँ । नयाँ परिणाम हामीले स्वीकार गर्छौं तर गलत नयाँ परिणामबाट हुन्छ भने हामी सडकमा सधैँ रहनेछौँ ।

देशभरको लहर हेर्दा अब काम गर्न पाएनौँ, अर्कोले बिथोल्यो । मैले सुरुवात गर्न खोजेको थिएँ, अर्को आइहाल्यो भनेर भाग्ने अवस्था छैन । यो या त्यो नाममा विरोध गर्‍यो भन्ने अवस्थामा पनि नपुग्ला । उहाँहरुले जनतालाई केन्द्रमा राखेर काम गर्नुपर्छ ।

आगामी सदनको प्राथमिकता के हुनुपर्छ ?

आगामी सदनले आमनागरिकका मुद्दा केन्द्रलाई राखेर काम गर्नुपर्छ । संसदले एक अर्कालाई आरोप प्रत्यारोप लगाउने भन्दा एकदमै संयमित भएर जनताको पक्षमा काम गर्नुपर्छ । जुन पार्टीको सरकार र नेतृत्व भएपनि जनताप्रति उत्तरदायी भएर भ्रष्टाचारलाई निर्मूल गर्न काम गर्नुपर्छ ।

युवालाई देशमै बस्ने वातावरण सिर्जना गर्ने कोसिस गर्नुपर्छ । संविधान र लोकतन्त्रलाई साथमा लिएर मजबुत बनाउँदै काम गर्नुपर्छ । हरेक आन्दोलनबाट प्राप्त भएको उपलब्धिलाई रक्षा गर्दै संस्थागत गरिनुपर्छ । जनतालेको खोजेको परिवर्तनलाई आत्मसात गर्दै गर्न सकिने जनअपेक्षालाई सम्बोधन गरिनुपर्छ ।

प्रारम्भिक नतिजा हेर्दा अपेक्षाकृत थियो अथवा आश्चर्यजनक ?

धेरै अपेक्षा गरेको पनि होइन र धेरै अपेक्षा नगरेको पनि होइन, बीचको तह हो । सामान्यतया भन्नुपर्दा अपेक्षाकृत नै भन्दा पनि फरक पर्दैन । जनता दिग्दार भइसकेका भन्ने कुरा जेन-जी आन्दोलनबाटै थाहा भइसकेको थियो । त्यो आन्दोलन पनि एक हिसाबले फ्रस्ट्रेसनकै विस्फोट हो ।

एक किसिमको अपेक्षितै थियो, तर यति धेरै अपेक्षा पनि गरेको थिएन। जनता यति लेभलसम्म फ्रस्ट्रेट हुन्छन्, यो लेभलसम्मको नतिजा आउँछ भन्ने कुरा हामीलाई लागेको थिएन । नतिजा यो लेभलसम्म आउँछ भन्ने बिल्कुल अपेक्षा थिएन । तर, देशमा परिवर्तन हुँदैछ, परिवर्तनको सुरुवात यही निर्वाचनबाट हुन्छ भन्ने अपेक्षा गरेका थियौँ ।

उसो भए तपाईंहरू पनि सप्राइज हुनुभयो होइन ?

सुरुवाती अवस्थाको अग्रतामै पुराना दलका शीर्ष नेता पछि पर्नुहुन्छ भन्ने थिएन । पुराना दलका शीर्ष नेता एक ठाउँ पनि सुरक्षित नहुनु र अग्रता नलिनुले यहाँले भन्या जस्तो आश्चर्यजनक हो । पुरानो दलका शीर्ष नेताहरू एक ठाउँ पनि सुरक्षित नहुनुले जनताले उनीहरूलाई चिनिसके भन्ने संकेत गरेको छ ।

तर यो केही पार्टीका लागि आश्चर्यजनक भए पनि हाम्रा लागि थिएन । यस्तो हुन्छ है भन्ने कुराको संकेत यसअगाडि नै देखिएको थियो । पुराना दलको तल्लो तहसम्म संगठन भएका कारण देशव्यापी परिवर्तनको सूचना पुर्‍याउन सकेनौँ कि भन्ने लागेको थियो । यो ह्वीम हो, परिवर्तन चाहने धेरै छन् । अहिले जनताले पनि परिवर्तन चाहेका छन् भन्ने कुरा अपेक्षा नै थियो । तर अहिले देखिएको परिवर्तन चाहिँ हामीले सोचेको भन्दा बढी नै भयो तर हामी खुसी छौँ ।

अब आउने सांसदहरूलाई यहाँको सन्देश के छ ?

जनताले परिवर्तन खोजेका रहेछन् । परिवर्तन खोजेका जनतालाई धोका नहोस् । परिवर्तनको पक्षमा जनताले मतदान गरेपछि अब प्रतिनिधि सभाले पनि उनीहरूको कुरा सम्बोधन गरोस् । समय लाग्छ, तर परिवर्तनका लागि कामको सुरुवात होस् । समयसँगै उहाँहरूबाट हामीले अपेक्षा गरेका छौँ ।

प्रकाशित मिति : २२ फाल्गुन २०८२, शुक्रबार  ७ : ४९ बजे

धनुषा–३ मा रास्वपाका झा विजयी

जनकपुर- धनुषा ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार मनिष

कास्की-२ मा रास्वपाका पौडेल विजयी

गण्डकी- प्रतिनिधिसभा सदस्यका निर्वाचनमा कास्की क्षेत्र नम्बर २ मा राष्ट्रिय

रास्वपाको आँधीले उडायो संसद्‍मा दोहोरिने प्रदीपको सपना

काठमाडौं- काठमाडौं क्षेत्र नम्बर–५ मा नेपाली कांग्रेसका उम्मेदवार, कांग्रेस महामन्त्री

काठमाडौँ-५ मा रास्वपाका पोखरेल विजयी

काठमाडौँ, २३ फागुन : काठमाडौँ क्षेत्र नं ५ मा प्रतिनिधिसभा

दैलेख-१ मा कांग्रेसकी बासना थापा विजयी

काठमाडौं- दैलेख क्षेत्र नम्बर १ को प्रतिनिधि सभा सदस्यमा नेपाली