काठमाडौं- नेपालमा कम्युनिस्ट आन्दोलनको इतिहास ७० वर्ष लामो छ । यति लामो इतिहास बोकेका कम्युनिस्ट पञ्चायती व्यवस्थामा पनि यति संकटमा परेका थिएनन् ।
टुटफुटबाट गुज्रिँदै विभिन्न हाँगामा विभक्त भएका कम्युनिस्टहरूले इतिहासमै पहिलो पटक भारतको पश्चिमबंगालको शैलीमा बढारिनुपर्ने अवस्था आएको छ।
लामो समयदेखि एकछत्र पार्टीमा रजगज र्दै आएका धेरै कम्युनिस्ट नेताहरूलाई फागुन २१ गतेको निर्वाचनले एकै साथ किनारा लगाइदिने अवस्था देखिएको छ ।
प्रतिनिधिसभा सदस्य निर्वाचनको अहिलेसम्को मतगणनाले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपाल, त्यही पार्टीका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ लगायत धेरै कम्युनिष्ट नेताहरूलाई राजनीतिबाट विश्राम लिने बाटो देखाइदिएको हो ।
संगठनात्मक रूपमा देशकै ठूलो कम्युनिस्ट पार्टीका रूपमा रहेको एमालेमा उसको इतिहासमै संकटपूर्ण घडीमा उभिएको छ। अध्यक्ष ओली यतिबेला झापा ५ मा आफैं हार्ने बिन्दुमा छन् ।
उनी २०६४ साल बाहेकका सबै निर्वाचनमा जित हासिल गरेको झापा ५ मा यसपटक रास्वापाका नेता बालेन्द्र शाहसँग हार्ने दिशामा उभिएका छन् ।
प्रारम्भिक रुझानले बालेनभन्दा ५ गुणा मतले पछि परेका छन् । अब त्यहाँ ओलीले जित्ने सम्भावना करिब सकिएको छ।
उमेरले ७४ लागिसकेका ओली पछिल्लो समयमा राष्ट्रिय राजनीतिमा निकै अलोकप्रिय थिए । तर, आन्तरिक संगठनात्मक पकडका कारण पार्टी कब्जा गर्न सफल भइरहे ।
०७४ सालमा वाम गठबन्धनबाट झण्डै दुईतिहाइ सांसदको समर्थनमा सरकारको नेतृत्व गरेका उनी समन्वयकारी क्षमता अभावका कारण पटक–पटक संसद् विघटन गरेर अदालतकै आदेशका आधारमा सत्ताच्युत भएका थिए । पार्टीमा त उनको चरित्र करिब करिब डिक्टेटरकै थियो ।
०४८ सालको निर्वाचनदेखि नेपालको केन्द्रीय राजनीतिमा हाबी रहँदै आएका ओली पछिल्लो समय जेन-जी आन्दोलनको कारकका रूपमा चिनिएका छन् । यो निर्वाचनसँगै राज्यसत्ताको राजनीतिबाट उनी अब पाखा लाग्ने निश्चित भएको छ। २०२८ सालमा झापा विद्रोहबाट उदाएका उनी २०८२ को जेन-जी विद्रोहबाटै पाखा लाग्ने अवस्थामा पुगेका छन् ।
नेपाली कम्युनिष्ट आन्दोलनमा लामो समयदेखि नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका माधवकुमार नेपालले एक दशक बढी समय एमालेको नेतृत्व गरेका थिए ।
तर, कहिल्यै आफूलाई लोकप्रिय नेतृत्वको रूपमा उभ्याउन नसकेका उनी ओली पार्टीको नेतृत्वमा आएसँगै पार्टी विभाजन गरेर नेकपा एकीकृत समाजवादी खोल्दै अहिले नेपाली कम्युनिष्ट पार्टीको सहसंयोजकको भूमिकामा छन् ।
यस निर्वाचनमा रौतहट १ मा उम्मेदवार रहेका नेपाल प्रारम्भिक मतगणनाअनुसार पाँचौ स्थानमा छन् । पछिल्लो चुनावी माहोल मतगणनाको प्रारम्भिक रुझानअनुसार नेपालले निर्वाचनमा जित हासिल गर्नसक्ने देखिँदैन ।
निर्वाचनबाट आउने परिणाम, उमेर र गतिशीलतकै कारण नेपाल अब केन्द्रीय राजनीतिबाट किनारा लाग्ने अनुमान गर्न सकिन्छ ।
०७९ मंसिरको निर्वाचनमा पराजित एमालेका पूर्व वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलको यसपटक पनि हार सुनिश्चित देखिएको छ ।
केही समयअघि मात्रै एमालेको महाधिवेशनमा अध्यक्षको प्रतिस्पर्धामा थोरै मात्रै मत ल्याएका पोखरेल विगतमा सरकारमा हुँदा लोकप्रिय कार्यक्रम दिन सकेका थिएनन् ।
बरु उनलाई तत्कालीन शाही सरकारले भ्रष्टाचारको अभियोग लगाएको थियो । केपी ओलीको नेतृत्वको सरकारमा हुँदा पनि विभिन्न काण्डमा मुछिएका थिए । अहिलेको निर्वाचनसँगै पोखरेल नेपाली राजनीतिमा थप कमजोर हुँदै किनाराकृत हुने देखिएको छ ।
नेकपाका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ पनि नेपाली कम्युनिष्ट आन्दोलनमा एउटा धारको नेतृत्व गर्दै आएका नेता हुन् ।
माओवादी शान्तिप्रक्रियामा आइसकेपछि उक्त पार्टीसँग एकता गरेर हालसम्म केन्द्रीय राजनीतिमा रहँदै आएका थिए । तर, श्रेष्ठले प्रतिनिधिसभा सदस्यको निर्वाचनमा हार भोग्दै आएका छन् ।
यसअघि पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारको गृहमन्त्री हुँदा श्रेष्ठले सकारात्मक चर्चा कमाएका थिए । तर, हाल सर्लाही ३ मा उम्मेदवार रहेका उनी प्रारम्भिक मतगणनामा भर्ने रेडजोनमा परिसकेका छन् । यसपटकको निर्वाचनसँगै श्रेष्ठको पनि केन्द्रीय राजनीतिबाट किनारा लाग्ने सम्भावना बढेको छ ।
त्यस्तै, एमालेका नेता प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ, गोकर्ण विष्ट, देवराज घिमिरे, नेकपाका गिरिराजमणि पोखरेल लगायत पनि बढारिने अवस्थामा छन् । लामो समयदेखि नेपाली राजनीतिको केन्द्रीय भूमिकामा रहेका कम्युनिष्ट नेताहरू यसपटकको निर्वाचनबाट किनाराकृत हुने देखिएको छ ।
पछिल्लो समयमा राजनीतिमा नयाँ पुस्ताको आगमन, जनताको तीव्र गतिमा विकासको अपेक्षा र गतिशील नेतृत्वको खोजीको प्रवृत्तिले विगतमा मुलुकको राजनीतिक व्यवस्था परिवर्तन र सञ्चालनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थुप्रै नेताले अब फेरि टाउको उठाउन मुस्किल पर्ने देखिएको छ।













प्रतिक्रिया