टोकियो– इन्डो–प्यासिफिक क्षेत्रमा सुरक्षा सहकार्य, साइबर जोखिम र महत्त्वपूर्ण खनिज आपूर्तिबारे छलफल गर्न क्यानाडाका प्रधानमन्त्री मार्क कार्नी शुक्रबार जापान पुगेका छन् । टोकियोमा उनले जापानी समकक्षी साने ताकाइचीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।
जापानी सञ्चारमाध्यमहरूका अनुसार दुवै देश चिनियाँ र रूसी स्रोतबाट हुने साइबर आक्रमणसम्बन्धी खुफिया जानकारी थप आदान–प्रदान गर्ने, संयुक्त सैन्य अभ्यासलाई विस्तार गर्ने तथा महत्त्वपूर्ण खनिजहरूको सुरक्षित आपूर्तिका लागि सहकार्य बढाउने विषयमा केन्द्रित हुने अपेक्षा गरिएको छ ।
कार्नी अस्ट्रेलियाको भ्रमण सकेर जापान आइपुगेका हुन्। क्यानबेरामा उनले इरानमाथि भएको अमेरिकी–इजरायली आक्रमण ‘अन्तर्राष्ट्रिय कानूनसँग असङ्गत देखिएको’ बताएका थिए, तर तेहरानलाई आणविक हतियार हासिल गर्न नदिन गरिएका प्रयासलाई भने समर्थन गरेका थिए ।
यसअघि जनवरीमा स्विट्जरल्यान्डको डाभोसमा भएको बैठकमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नेतृत्वमा विश्वले ‘विघटनतर्फ उन्मुख अवस्था’ देखिरहेको टिप्पणी गर्दै कार्नीले क्यानबेरामा ‘मध्यम शक्तिहरू’ बीच अझ घनिष्ठ सहकार्य आवश्यक रहेको बताएका थिए ।
नियममा आधारित अन्तर्राष्ट्रिय व्यवस्थाको बलियो समर्थक मानिने जापानका लागि पनि इरानसँग सम्बन्धित युद्धले जटिल परिस्थिति सिर्जना गरेको छ ।
जापान अमेरिकाको नजिकको सहयोगी राष्ट्र हो र यहाँ करिब ६० हजार अमेरिकी सैनिक तैनाथ छन् । यस क्षेत्रमा चीनले आफ्नो प्रभाव विस्तार गर्दै जाँदा टोकियोले सुरक्षा मामिलामा अमेरिकी सहयोगमा निर्भर रहँदै आएको छ ।
विश्वको चौथो ठूलो अर्थतन्त्र जापान तेल आयातका हिसाबले पाँचौँ स्थानमा पर्छ । उसले आयात गर्ने तेलको करिब ७० प्रतिशत होर्मुज जलडमरूमध्य हुँदै आउने भएकाले उक्त मार्गमा उत्पन्न अवरोधले जापानलाई प्रत्यक्ष असर पार्ने सम्भावना रहेको छ ।
प्रधानमन्त्री ताकाइचीले आगामी मार्च १९ मा वासिङ्टनमा अमेरिकी राष्ट्रपति ट्रम्पसँग हुने वार्तामा युद्धसम्बन्धी विषयमा ‘स्पष्ट छलफल’ गर्ने योजना रहेको बताए ।
ताइवानसम्बन्धी सम्भावित परिस्थितिमा जापानको भूमिकाबारे ताकाइचीले गत नोभेम्बरमा टिप्पणी गरेका थिए । त्यसपछि जापान–चीन सम्बन्धमा केही चिसोपन आएको बताइएको छ ।
चिनियाँ पर्यटकको सङ्ख्या घटेको छ भने ‘दोहोरो प्रयोग’ हुन सक्ने केही सामानहरूमा व्यापार प्रतिबन्ध पनि लगाइएको छ । यद्यपि बेइजिङले हालसम्म जापानलाई प्रत्यक्ष ठूलो नोक्सान पुग्ने कठोर कदम भने चालेको छैन ।
यसैबीच, चीन र क्यानाडाबीचको सम्बन्ध भने पछिल्ला महिनाहरूमा केही सहज हुँदै गएको छ । कार्नीले जनवरीमा चीन भ्रमण गरेर व्यापार सम्झौतामा हस्ताक्षर गरेका थिए, जसले वर्षौंदेखि चल्दै आएको गिरफ्तारी र कर विवादपछि सम्बन्ध सुधार्ने सङ्केत दिएको थियो ।
जापानसहित भारतलाई समेटिएको कार्नीको हालको भ्रमणलाई क्यानाडाले आफ्नो दक्षिणी छिमेकी संयुक्त राज्य अमेरिकामाथिको अत्यधिक निर्भरता घटाउने रणनीतिक प्रयासका रूपमा पनि हेरिएको छ ।
टोकियो विश्वविद्यालयका अन्तर्राष्ट्रिय सुरक्षा विषयका प्राध्यापक यी कुआङ हेङका अनुसार जापान क्यानाडाका लागि ‘मेनुमा नभई टेबलमै रहने’ साझेदार बन्ने कार्नीको इच्छासँग मेल खाने स्वाभाविक देश हो ।
उनका अनुसार दुवै देशले ताइवान स्ट्रेट हुँदै हुने नौसेना आवागमनसम्बन्धी समन्वय र पश्चिमी तथा उत्तरी प्रशान्त क्षेत्रमा भइरहेका रूसी–चिनियाँ बमवर्षक गस्तीबारे जानकारी आदान–प्रदान तथा निगरानीका विषयमा पनि छलफल गर्न सक्ने बताइएको छ ।
यसका अतिरिक्त क्यानाडाले जापान, इटाली र बेलायतबीच संयुक्त रूपमा विकास भइरहेको ‘ग्लोबल कम्ब्याट एयर प्रोग्राम (जिसिएपी)’ अन्तर्गत तयार हुने भविष्यका लडाकू विमान खरिदमा सम्भावित चासो पनि देखाउन सक्ने विश्लेषकहरूको भनाइ छ ।
प्रधानमन्त्री कार्नीको यो भ्रमण छोटो रहनेछ । उनी शनिबार क्यानाडा फर्कने कार्यक्रम रहेको छ । रासस













प्रतिक्रिया