काठमाडौं । नेपाली कांग्रेसबाट पहिलो खाता खोलेका योगेश गौचन थकाली राजनीतिमा आउन चाहेका थिएनन् । बिजनेश म्यानेजमेन्ट पढेका उनी व्यवसायमै रम्न चाहन्थे । व्यापारिक तथा राजनीतिक परिवारमा हुर्किएका उनी २०७४ मा आफ्नो पिताले चुनाव हारेपछि पुनः उठ्न चाहेनन् ।
टिकट पाएपनि बुवाले चुनाव उठ्न रुचि नदेखाएपछि कांग्रेसका नेता तथा कार्यकताले योगेशलाई अगाडि ल्याए । उनी २९ वर्षको उमेरमै संसद् प्रवेश गर्न सफल भए ।
यस पटकको निर्वाचनमा मतपरिणाम नेपाली कांग्रेस र नेकपा एमालेका निम्ति अनकूल देखिँदैन । तर, उनले मुस्ताङबाट खाता खोलेर कांग्रेसको साख जोगाएका छन् । योगेशले ३२ वर्षको उमेरमा फेरि अर्को कार्यकालका निम्ति निर्वाचित भएका छन् ।
उनले ३ हजार ३०७ मत पाएर चुनाव जित्दा प्रतिस्पर्धी एमालेका इन्द्रधरा विष्टले १ हजार ८०३ मत प्राप्त गरे । अधिकांश स्थानमा अग्रता लिएको रास्वपाका उम्मेदवार अधितीयचन्द्र थकालीले ७५९ मत प्राप्त गरे ।
२०५० साल वैशाख २७ गते मुस्ताङको लेते (हालः थासाङ गाउँपालिका) मा जन्मिएका योगेशले बिजनेश म्यानेजमेण्टमा स्नातक तहसम्मको अध्ययन गरेका छन् ।
हजुरबाको पालादेखि मुस्ताङमा चल्दै आएको होटल कालोपानी सम्हालेको केही वर्ष भएको थियो । उनको पोखरामा त्रिथुङ्गा ट्राभल्स एण्ड टुर्स’ र गाउँमा किवीको व्यवसाय छ । राजनीति र व्यवसाय योगेशले सँगसँगै लिएर हिडेका छन् ।
उनी नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री रोमी गौचन थकालीका छोरा हुन् । रोमी राजनीतिक नेतासँगै होटल व्यवसायी पनि हुन् । उनले २०५६ मा पहिलोपटक चुनाव जितेका थिए ।
उनी २०५७ मा परराष्ट्र सहायक मन्त्रीसमेत भएका थिए । तर २०६४ को पहिलो संविधानसभा चुनावमा हार बेहोर्नुपर्यो ।
फेरि २०७० को दोस्रो संविधासनभा चुनाव जिते । दोस्रो संविधान सभाकालमा उनी वाणिज्यमन्त्री पनि भए । २०७४ मा पनि चुनावमा उठे, तर हारे । त्यसपछि उनले चुनाव उठ्ने चाहना त्यागे ।
अहिले उनी नेपाली कांग्रेसको जिल्ला सभापति छन् । पार्टीले २०७९ को निर्वाचनमा रोमीलाई टिकट दिएको थियो । उनले उठ्न चाहेनन् । उक्त निर्वाचनमा एमाले उम्मेदवार प्रेम तुलाचनलाई उम्मेदवार बनाएको थियो ।













प्रतिक्रिया