‘स्टारडम’को आडमा अपराध : सबै बलात्कारी कि समय खराब ? « Khabarhub

‘स्टारडम’को आडमा अपराध : सबै बलात्कारी कि समय खराब ?

आदर्श पगरीभित्र व्यभिचारी कुकर्म



अभिनेता तथा चर्चित हास्य कलाकार सागर लम्साल ‘बले’ लाई अमेरिका बस्ने एक युवतीले बलात्कारको आरोप लगाएकी छिन् । सामाजिक सञ्जालमा उनले एक वर्ष अगाडि आफूमाथि बलात्कार गरेको बताएकी हुन् । परिवारसँग राम्रो सम्बन्ध बनाएको र ‘दाइ’ मानेकै व्यक्तिबाट भएको जघन्य अपराधले आफू मानसिक रुपमा विक्षिप्त भएको उल्लेख गरेकी छिन् ।

बलात्कृत भएपछि आफू पूर्ण रूपमा टुटिसकेको र परिवारको इज्जतका कारण लामो समयसम्म केही भन्न नसकेको उनले बताएकी छिन् । अहिले हिम्मत जुटाएर सत्य ओकलेको बताउँदै उनले दोषीले कानुनी र सामाजिक सजाय पाउनुपर्ने माग गरेकी छिन्।

उनको स्टाटससँगै नेपाली समाज दुई ध्रुबमा विभाजित भएर वकालत सुरु गरेको छ । ‘बलात्कार भएको वर्षदिन पछि थाहा हुने ? मन मिल्दा चमत्कार, नत्र बलात्कार’ जस्ता प्रश्न युवतीमाथि तेर्सिएका छन् । सागरलाई कहिले नदेखेका र नचिनेकाले पनि उनले बलात्कार गर्नै नसक्ने दाबी गरेका छन् ।

यस्तो प्रवृत्ति पहिलो होइन । पहिले पनि कलाकार र वा सेलिब्रेटीमाथि बलात्कारको आरोप लाग्ने बित्तिकै अदालत भन्दा अगाडि सामाजिक सञ्जालले निर्णय सुनाउँदै आएको छ । कलाकार वा खेलाडी समाजमा आदर्शका रुपमा रहन्छन् । उनीहरुबाट पनि अपराध हुन सक्छ भन्ने अपेक्षा छैन ।

‘म उसको फ्यान हो, त्यसकारण उसले अपराध गर्दैन’ भन्ने आमधारणा देखिन्छ । त्यही धारणाले पीडितमाथि प्रश्न उठ्ने मात्रै होइन । गाली गलौज, अपशब्द, सामाजिक बहिष्कार र ज्यानै मार्ने धम्की सुरु हुन्छ । अन्ततः पीडित ‘सरेण्डर’ गर्ने स्थितिमा पुग्छ । अथवा उसलाई ‘होस्टायल’ बनाइन्छ ।

आरोप लाग्ने बित्तिकै अपराधी करार गर्नु जायज होइन । तर सेलिब्रेटीले अपराधै गर्दैन भनेर ठोकुवा गर्नु पनि अज्ञानता हो । स्टारडमकै भरमा समाजले दिएको ‘आदर्श मानक’ को फाइदा उठाउने काम हुँदै आइरहेको छ । उनीहरुले गम्भीर अपराधबाट पनि उन्मुक्ति पाइरहेका छन् ।

सामाजिक सञ्जालको फैसला हेरेर न्यायालयले अभियुक्तलाई सफाइ दिनु कति उचित हो ? यस्तै न्यायालयले गर्ने फैसलाले समाजमा कस्तो नजिर स्थापित गर्छ ? गम्भीर प्रश्न यो हो । स्टारडम, शक्ति, संरचना, सम्पत्तिको माथिल्लो तहमा रहेकाले न्यायलाई मजाक बनाउँदै आएका उदाहरण प्रशस्त छन् ।

नायक पल शाह
मोडल तथा नायक पल शाह (पूर्ण विक्रम) माथि बलात्कारको आरोप लाग्यो । एकचर्चित गायिकले उनलाई बिहेको प्रलोभन देखाएर यौन शोषण गरेको आरोप लगाइन् । साथै नवलपुरमा पनि पलले अरु दुई युवतीलाई यौन शोषण गरेको उजुरी पर्‍याे । गायिका र पलले सँगै म्युजिक भिडियो खेलेका छन् ।

सहमतिमै भएपनि नाबालिकासँग गरिएको शारीरिक सम्बन्ध ‘करणी’ हुने भनेर कानुनमा प्रष्ट लेखेको छ । तर नाबालिका गायिकालाई बिहे गर्ने आश्वासनमा वर्षौदेखि शोषण गर्दै आएका नायकले सफाइ पाए । गाली, बेइज्जती र आक्रमणले गायिकाको सार्वजनिक जीवन तहसनहस भएपछि र माया गरेको मान्छे जेलमा देख्न नसकेर पीडितले माफी दिएपछि पलले सजिलै सफाइ पाए ।

पल २०४६ सालमा दाङमा जन्मिएका हुन् । उनका बुवा स्थानीय राजनीतिज्ञ थिए । आमाको किराना पसल थियो । स्थानीय गंगा उच्च माध्यामिक विद्यालयबाट एसएलसी पास गरेपछि उनी उच्च शिक्षा र अवसरको खोजीमा काठमाडौँ आए ।

कलेज पढ्दै उनले अभिनय यात्रालाई अगाडि बढाए । उनी निकै भुईं तहबाट संघर्ष गर्दै आएका कलाकार हुन् । म्युजिक भिडियो सम्पादन हुँदै उनी मोडलको रुपमा उदाए । ‘तिम्रो यादमा रुन्छु अचेल’ बोलको गीतमा अभिनय गरेपछि सुरु भएको उनको यात्रा एकपछि अर्को सफल बन्दै गयो ।

गायक सुनिल गिरीको ‘को होला त्यो’ गीतले झनै पललाई दर्शकमाझ लोकप्रिय बनाइदियो । दुई सय बढी म्युजिक भिडियोमा अभिनय गरेका छन् । ‘नाइँ नभन्नु ल–४’ ‘म यस्तो गीत गाउँछु’ ‘जोनी जेन्टलमेन’ ‘सत्रु गते’ र वीरविक्रम लगायतका फिल्ममा अभिनय गरेका छन् । साथै उनले फिल्म निर्माणसमेत गरेका छन् ।

क्रिकेटर सन्दीप लामिछाने
लामिछानेविरुद्ध एक किशोरीले २०७९ भदौ २१ मा जबर्जस्ती करणी गरेको आरोप लगाइन् । गौशाला–२६ ले लामिछानेविरुद्ध ट्रयापमा पारेर होटलमा लगेर जबर्जस्ती गरेको बयान दिइन् । आमाबुवा अलग भएकी उनी काठमाडौँको होस्टलमा बस्दै, पढ्दै आएकी थिइन् । क्रिकेटर लामिछानेको ठूलो फ्यान थिइन् ।

स्टार खेलाडीले घुम्न जाने प्रस्ताव उनको लागि सपना भन्दा माथि थियो । होस्टलमा झुट बोलेर उनी निस्किइन् । तर लामिछानेले समयमा होस्टल फर्किन नमिल्ने वातावरण बनाएर होटल लगेको गौशाला–२६ को भनाइ थयो । होटलमा लगेर लामिछानेले इच्छा विपरीत सम्बन्ध बनाएको आरोप उनको थियो ।

नगरकोट होटलबाट बिहान काठमाडौँ ल्याएर छोडेका लामिछानेले त्यसलगत्तै युवतीलाई सम्पर्क गर्ने सबै माध्यम ह्वाट्स एप, मेसेन्जरमा ब्लक गरेका थिए । उजुरी परेपश्चात् नेपाल क्रिकेट संघले लामिछानेलाई राष्ट्रिय टोलीबाट निलम्बन गरेको थियो । घटना घटेको समयमा उनी नाबालिक थिइन् । स्टारडमको फाइदा उठाउदै लामिछाने पीडितको उमेर बढाउने खेलमा लागे ।

कतिसम्म भने बालिग बनाउने चक्करमा उमेर बढाउँदा पीडित र उनको आमाबीचको उमेर जम्मा १२ वर्षको फरक देखिन आएको थियो । लामिछाने २०५७ मा स्याङ्जाको आरुचौर–तालपोखरीमा जन्मिएका हुन् । तर उनको बुवा चन्द्रनारायण भारतीय रेलवेमा जागिरे भएका कारण उनको बाल्यकाल भारतमै बित्यो । उनले त्यहीँ क्रिकेट खेल्ने र बुझ्ने मौका पाएका हुन् ।

सन्दीपले सन् २०१८ मा आईसीसी विश्वकप ११ बाट खेल्दै वेस्ट इन्डिजविरुद्ध टी–२० मा पदार्पण गरेका थिए । संयुक्त टोलीको प्रतिनिधित्व गर्दै टी–२० अन्तर्राष्ट्रिय पदार्पण गर्ने उनी पहिलो नेपाली क्रिकेट खेलाडी समेत हुन् । उनी सन् २०१८ अगस्टमा नेदरल्यान्डविरुद्ध नेपालको पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेल्ने एघार क्रिकेट खेलाडी मध्ये एक थिए ।

नामिबियाविरुद्ध सन् २०१५–१७ आइसीसी विश्व क्रिकेट लिग प्रतियोगितामा पदार्पण गरेका थिए । उनी १९ वर्ष मुनिको टोलीमा ह्याट्रिक गर्ने पाँचौ खेलाडी बनेका थिए । सन् २०१७ राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलाडी संघको वर्षको उत्कृष्ट युवा खेलाडीको सम्मान प्राप्त गरेका थिए । त्यस्तै सन् २०१८ मा क्रिकेट खेलाडी संघ नेपाल उत्कृष्ट वर्ष क्रिकेट खेलाडीको सम्मान प्राप्त गरेका थिए ।

लामिछानेका लागि पनि अन्तर्राष्ट्रिय स्तरको खेलाडीको भविष्य बिग्रने भन्दै बचाउमा उत्रिए । कतिपय राष्ट्रको शान बढाउने व्यक्तिले बलात्कार गर्नै नसक्ने भन्दै बचाउमा उत्रिए । तर उनले गरेको गल्तीका कारण धेरै राष्ट्रिय र अन्तर्राष्ट्रिय खेल गुमाउनु परेको यथार्थ ताजै छ । अहिले भने उनी खेल फर्किसकेका छन्।

गायक राजेश पायल राई
आफूलाई अविवाहित बताउँदै आएका राजेशको एकाएक २०८० चैत १५ गते श्रीमती साङबुङसँग सम्बन्ध विच्छेद गरेको समाचार आयो । उनीहरू औपचारिक विवाह नगरी लिभिङ रिलेसनमा बस्दा छोराको जन्म भएको थियो । उनीहरूको भेट हुँदा राजेश ४० काटिसकेका थिए भने साङबुङ उमेरले नाबालिग नै थिइन् ।

२६ वर्ष कान्छी युवतीसँग राईले २०७८ साल असोजमा विवाह दर्ता गरेको देखिन्छ । तर विवाह भएपछि उनीहरुको सम्बन्ध बिग्रदै गयो । सुत्केरी अवस्थामा पनि श्रीमानबाट राम्रो साथ नपाएको भन्दै साङबुङले सामाजिक सन्जालबाटै विभिन्न आरोप लगाउँदै आएकी थिइन् । यसैबीच राजेश मादक पदार्थ खाएर होहल्ला गरेको आरोपमा पक्राउसमेत परेका थिए ।

उनको जन्म २०३२ असोज १४ गते खोटाङको बुइपामा भएको हो । विश्वमै ५ घण्टामा ९ वटा गीत रेकर्ड गर्ने उनी नै पहिलो गायकका रुपमा चिनिन्छन् । ‘सम्झनाको कुरा नगर’ भन्ने उनको पहिलो गीत रेडियो नेपालमा रेकर्ड भएको थियो । उनले २०४५ सालबाट संगीत यात्रा सुरु गरेका हुन् । ‘फैलियो माया दुबोसरि’ र ‘बैगुनी रैछौ मायालु’ जस्ता गीतले उनलाई चर्चित बनाए । दर्जनौ फिल्मका गीतहरु उनले गाइसकेका छन् ।

उनले २०६६ सालमा प्रसारण भएको चलचित्र ‘सिलसिला’बाट विभिन्न अवार्ड समेत प्राप्त गरेका छन् । यसैगरी २०६७ मा छिन्नलता पुरस्कार र अन्य पुरस्कारबाट समेत सम्मानित एवं पुरस्कृत भइसकेका छन् । उनले विभिन्न चलचित्र ‘दैवसंजोग’ ‘दौंतरी’ ‘परेँ नि माया जालैमा’ ‘सी माला’ तथा गुण्डाराज चलचित्रमा अभिनय गरिसकेका छन् ।

सागर लम्साल ‘बले’
कलाकार सागरमाथि हाल अमेरिका बस्दै आएकी युवतीले सामाजिक सञ्जालमार्फत आफूमाथि भएको जघन्य अपराध र त्यसले निम्त्याएको मानसिक आघातको खुलासा गरिन् । सानैदेखि डिप्रेसन र एन्जाइटीको समस्यासँग जुधिरहेकी उनले अमेरिका पुगेको केही समयमै मानसिक स्वास्थ्य बिग्रिएर अस्पताल भर्ना भएको समेत जानकारी गराएकी छिन् ।

त्यस्तै वर्षौंदेखि परिवारसँग जोडिएका ‘दाइ’ भनी सम्मान गर्ने सागर मान्छे नभएर एउटा ‘राक्षस’ रहेछ भनेकी छिन् । बलात्कृत भएपछि आफू पूर्ण रूपमा टुटिसकेको र परिवारको इज्जतका कारण लामो समयसम्म केही भन्न नसकेको उनले बताएकी छन् । अहिले हिम्मत जुटाएर सत्य ओकलेको बताउँदै उनले दोषीले कानुनी र सामाजिक सजाय पाउनुपर्ने माग गरेकी छन् ।

बले ०४८ सालमा स्याङ्जा जिल्ला बिरुवा गाउँपालिका ज्याग्दीखोलामा जन्मिएका हुन् । उनी टेलिभिजन, चलचित्र तथा संगीत भिडियोमा अभिनयका लागि परिचित छन् । लोकप्रिय टेलिभिजन शृङखला ‘भद्रगोल’ र ‘सक्किगोनी’मा ‘बले’को भूमिकाबाट उनी देशभर चिनिएका हुन् ।

उनले आफ्नो करियर १३ वर्षअघि ‘लोफर’ चलचित्रबाट सुरु गरेका थिए । त्यसपछि उनले ‘लज्जा’ ‘हैरान’ र ‘लाज शरणम्’मा अभिनय गरेका छन् । उनी टेलिभिजन श्रृंखला भद्रगोलमा ‘बले ब्रो’ नामक हास्य भूमिकाबाट चर्चित भएका हुन् । सोही चरित्रलाई सक्किगोनी हास्य धारावाहिकमा निरन्तरता दिए ।

सागरले चार सय बढी संगीत भिडियोमा अभिनय गरेका छन् । जसमा ‘तिम्रो मन बदलिएछ’, ‘हिजो अर्कैसँग देखेँ’ र ‘यादमा’ जस्ता हिट गीत छन् । सागर शनिबार कपनको बालुवाखानीस्थित घरबाट पक्राउ परेका छन् । हाल उनी जिल्ला प्रहरी परिसर हिरासतमा छन् । उनलाई सार्वजनिक शान्तिमा खलल पुर्याएको महलमा म्याद थप गरी अनुसन्धान भइरकेको छ ।

सामाजिक सञ्जालमा भइरहेको चर्चा जस्तै बलात्कार कसुर बमोजिम कारवाही अगाडि नबढेको प्रहरीले बताएको छ । अनुसन्धानको म्यादभित्रै थप कुरा खुल्न आएमा वा अन्य मुद्दामा जाहेरी आएमा सोहीअनुसार मुद्दा अगाडि बढ्ने छ । यस गम्भीर आरोपका बारेमा कलाकार लम्सालको तर्फबाट हालसम्म कुनै आधिकारिक प्रतिक्रिया आएको छैन ।

प्रकाशित मिति : २३ चैत्र २०८२, सोमबार  १० : ४३ बजे

संसद्‍मा ऐन महरले भने- ओली र लेखकलाई बिना शर्त रिहाइ गरियोस्

काठमाडौं– नेकपा एमालेका सांसद ऐन बहादुर महरले तत्काल पूर्व प्रधानमन्त्री

‘सकारात्मक परिवर्तनमा कांग्रेसको समर्थन रहनेछ’

काठमाडौं– सुशासन र समृद्धिको अनुभूतिमा कमी देखिएको उल्लेख गर्दै नेपाली कांग्रेसले

चन्द्रमाको खोज अभियानमा ऐतिहासिक मोड

हस्टन- नासाको आर्टेमिस अभियानअन्तर्गत अन्तरिक्ष यात्रीहरूको टोली आइतबार चन्द्रमाको वरिपरि

यस वर्ष २३ स्थानमा बर्डफ्लु

काठमाडौं– यस वर्ष चैतमा मात्र २३ स्थानमा बर्डफ्लु रोग देखिएको

सरकारलाई कविन्द्रको सुझाव : अनुहारसँगै काम गर्ने शैली पनि फेरियोस्

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद कविन्द्र बुर्लाकोटीले यस