काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य सेवालाई पारदर्शी, प्रविधिमैत्री र नागरिकमुखी बनाउनका लागि मन्त्रालयका अतिरिक्त सचिव प्रा.डा. श्रीकृष्ण श्रेष्ठको संयोजकत्वमा समिति गठन गरेको छ ।
आइतबार स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहताले मन्त्रीस्तरीय निर्णय गर्दै डा. श्रेष्ठको संयोजकत्वमा ६ सदस्सीय समिति गठन गरेकी हुन् । समितिका सदस्यहरुमा डा.सरोज शर्मा, डा.भीमप्रसाद सापकोटा, मित्रप्रसाद घिमिरे, उषा तण्डुकार छन् भने सदस्य सचिवमा सुरज प्रकाश अर्याल रहेका छन् ।
मन्त्रालयका सूचना अधिकारी भक्तबहादुर केसीकाअनुसार चार बुँदे कार्यादेशसहित उक्त समिति गठन गरिएको हो । समितिलाई आगामी १५ दिनभित्र फ्री हेल्थ पोर्टल निर्माण गरी लागु गर्ने जिम्मेवारी दिइएको छ ।
यसैगरी, बिरामीको उपचार इतिहास, रेफरल, पुनःसेवा र क्लिनिकल फ्लोअप व्यवस्थित गर्न बिरामीको अभिलेख प्रणालीका लागि डिजिटल, एकीकृत र अन्तरआवद्ध सूचना प्रणाली विकास गरी तीन महिनाभित्र लागु गर्ने, अनावश्यक निजी अस्पताल रिफल प्रवृति नियन्त्रण गर्ने स्पष्ट रेफर प्रोटोकल प्रणाली विकास गरी लागु गर्ने, सरकारी अस्पतालमा स्वास्थ्यकर्मीको हाजिरी अनुगमन गर्न जिआईओएमएस अनिवार्य लागु गर्ने जिम्मेवारी समितिलाई छ ।
समितिलाई अस्पताल फार्मेसीमा औषधीको मौज्दात तथा मुल्य देखिने डिजिटल प्रणाली १५ दिनभित्र निर्माण गरी सञ्चालनमा ल्याउने र अनुगमन गर्ने जिम्मेवारी पनि दिइएको छ ।














प्रतिक्रिया