काठमाडौं – मनुसन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना निर्दिष्ट लक्ष्य हासिल हुने गरी ल्याउनुपर्नेमा जोड दिइएको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा आज भएको मनुसन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना, २०८३ तर्जुमाका लागि गठित कार्यदलको बैठकमा सहभागीहरूले यस्तो सुझाव दिएका हुन् ।
त्यस क्रममा आगामी मनसुनका लागि तयार गरिने कार्ययोजनामा समावेश गर्नुपर्ने विषयवस्तु, कार्ययोजनाको स्वरुप एवं गत वर्षको कार्ययोजना कार्यान्वयनका सिकाइ एवं असल अभ्यासबारे छलफल भएको थियो ।
छलफलमा सहभागीहरूले कार्ययोजना कार्यान्वयन योग्य र निर्दिष्ट गरिएका लक्ष्य हासिल गर्न सक्ने हुनुपर्नेमा जोड दिएको प्राधिकरणकी प्रवक्ता शान्ति महतले जानकारी दिए ।
यसैगरी सबै सरोकार भएका निकायले विद्यमान जनशक्तिको अवस्था, पूर्वतयारी, प्रतिकार्य एवं सुरुआती राहतका लागि आवश्यक मौज्दातको स्थिति एवं सम्पादन गर्ने क्रियाकलापबारे यथाशीघ्र विवरण उपलब्ध गराउने समझदारी बनेको छ ।
प्राधिकरणका कार्यकारी प्रमुख ई दिनेशप्रसाद भट्टको अध्यक्षतामा भएको छलफलमा विषयगत क्षेत्र (क्लस्टर)का सरकारी निकाय तथा सहयोगी निकाय, सम्बन्धित विभागहरू, राष्ट्रसङ्घीय निकाय, विपद्का क्षेत्रमा क्रियाशील साझेदार संस्था एवं विज्ञहरूको सहभागिता थियो ।
यसअघि गत हप्ता प्राधिकरणका सहसचिव रोशनीकुमारी श्रेष्ठको संयोजकत्वमा कार्ययोजना तयार गर्न २१ सदस्यीय कार्यदल गठन भएको थियो । गृहमन्त्री सुधन गुरुङले मनसुन आउनुअगावै प्रतिकार्य राष्ट्रिय योजना निर्माण गर्न निर्देशन दिएका थिए ।













प्रतिक्रिया