‘भजनमण्डली’को सकसबाट मुक्ति नपाएको सिंहदरबार! « Khabarhub

‘भजनमण्डली’को सकसबाट मुक्ति नपाएको सिंहदरबार!



हिटलरका तीन विशिष्ट साथी थिए । तिनकै सल्लाहमा उनी चल्थे । मसी पनि तीनै रंगको प्रयोग गर्थे । त्यसमध्ये ओएर पिपर मुख्य सल्लाहकार थिए । पिपरलाई विशिष्ट गुप्तचरीको काम दिइएको थियो । युद्ध चलिरहँदा हिटलर विरोधी गतिविधिमा उनी संलग्न छन् भनेर दुई सल्लाहकारले कान भरे । यद्यपि पिपर कामप्रति सर्वाधिक वफादार थिए । तारन्तार कान भरिएपछि हिटलरले पिपरमाथि निगरानी बढाए । स्वाभिमानी पिपर आफूलाई नजँचेको विषयमा हिटलरको प्रतिवाद गर्न पछि पर्दैनथे ।

हिटलरको आज्ञा अवज्ञा गरेको निहुँ देखाएर उनी जेल पठाइए । जेलमा पनि हिटलरले साथी विरुद्ध निगरानी बढाए । तीन महिनाको परीक्षणपछि पिपर निर्दोष प्रमाणित भए । आफूलाई प्रसिद्धिको यो सिँढीसम्म ल्याउने माथि यस्तो व्यवहार गरेकोमा हिटरलाई पछुतो भयो । तर हिटलरजस्ता लौह पुरुषका लागि निर्णयबाट पछि हट्नु उत्तिकै सकस थियो ।

कुनै बहानामा हिटलर जेल पुगे । हिटलर चाहन्थे– उसले माफीको याचना गरोस् । तर पिपरले त हिटलरले सोच्दै नसोचेको अनौठो माग राखे । जुन यस्तो थियो– ‘जेलभित्रै कुशको छाप्रो, छाप्रो वरपर सानो बगैँचा, बिजुलीको साटो परम्परागत तेलबत्ती र भारतीय कवि कालिदासले लेखेको शाकुन्तल नाटक ।’

राजनीतिमा सुकर्म र कुकर्मका आआफ्नै हिसाबकिताब छन् । असल कर्म गर्नेहरू वायुको गति, सूर्यको प्रकाश, समुद्रको छाल, जहाजको उचाइमा तरङ्गित हुन्छन् ।

सोचेको एउटा भयो अर्कै । आफूले जेल हालेको मानिसले शाकुन्तल पुस्तक पढ्न खोजेकोमा उनी आश्चर्यचकित हुँदै त्यो पुस्तक मगाएर पढे । त्यो पुस्तक पढेपछि उनी आर्य पक्षधर बनेको एकथरिको विश्लेषण छ ।

राजनीतिमा सुकर्म र कुकर्मका आआफ्नै हिसाबकिताब छन् । असल कर्म गर्नेहरू वायुको गति, सूर्यको प्रकाश, समुद्रको छाल, जहाजको उचाइमा तरङ्गित हुन्छन् । जर्मनीमा जन्मिएका आइन्स्टाइन बृहस्पति बनेर जनजनमा बाँचिरहेका छन् । मानव मस्तिष्कको अद्भूत उदाहरण दिँदा आइन्स्टाइनलाई जित्ने अर्को मानवले अहिलेसम्म यो धरा टेकेको छैन । शक्ति र सत्ताको उन्मादले एकताका समयभन्दा अघि दौडन खोज्ने हिटलरले आत्महत्याको बाटो रोज्नुपर्‍याे । त्यो बदनामी अहिले पनि कायमै छ ।

केही समयअघि जर्मनीको नुरमबर्गमा उनले बनाएका पेन्टिङ लिलाम बढाबढको आयोजना गरिएको थियो । नाजी तानाशाहका फूलदानी र स्वस्तिक चिह्न अङ्कित कुर्सी पनि लिलाम बढाबढमा राखिएको थियो । जुन शहर कुनैबेला हिटलरको समर्थनमा पागल बनेर एकोहोरिएको थियो । त्यही शहरका बासिन्दाले हिटलरको कला किन्न अरुचि देखाए ।

राजा राजेन्द्रविक्रम शाहले आफ्नो चटके शोखमा उपयोग गरेका जङ्गबहादुर कालान्तरमा राजनीतिको चरम महत्वाकांक्षी पात्र बने । तिनै राजामहाराजा जंगबहादुरको शक्तिका अघिल्तिर झुकेर आफ्ना छोरी जंगबहादुरका छोराहरूलाई सुम्पन तयार भए ।

शैक्षिक र ऐतिहासिक प्रयोजनबाहेक जर्मनीमा नाजीको परिचय झल्काउने चिन्ह सार्वजनिकरूपमा देखाउनुलाई कानून विपरीत मानिन्छ । १२ वर्ष शासन गरेका हिट्लरको शासनकालमा जर्मनीले नरसंहारको नीति लिँदै दोस्रो विश्वयुद्ध शुरू गरेको थियो । युद्धमा ६० लाख यहुदी र लाखौँ नागरिक मारिएका थिए ।

पृथ्वीनारायण शाहका सल्लाहकार थिए– कुलानन्द ढकाल । नेपाल एकीकरणका हरेक साइत उनैले कोरेको मार्गदर्शनले पृथ्वीनारायणलाई सफल राजा बनायो । राज ज्योतिषको सल्लाहअनुसार सैन्य कमाण्डर कालु पाँडे युद्धका रणनीति बनाउँथे । एउटा सार्थक सल्लाहकारको परिणति के हो, यसबाट प्रष्ट हुन्छ । राजामहाराजा, नेताहरूले सल्लाहकारको नाममा भजनमण्डली भित्र्याउने अभ्यास गर्दै आएका छन् । राजा राजेन्द्रविक्रम शाहले आफ्नो चटके शोखमा उपयोग गरेका जङ्गबहादुर कालान्तरमा राजनीतिको चरम महत्वाकांक्षी पात्र बने । तिनै राजामहाराजा जंगबहादुरको शक्तिका अघिल्तिर झुकेर आफ्ना छोरी जंगबहादुरका छोराहरूलाई सुम्पन तयार भए ।

राजा महेन्द्रका विश्वासपात्र थिए– सरदार विष्णुमणि आचार्य । हक्की स्वभावका विष्णुमणि विवेकपूर्ण निर्णयमा माहिर थिए । एकपटक राजाले विष्णुमणिलाई भने– ‘राजपाटमा काम लाग्ने इमानदार मानिसहरूको नाम तयार गरेर राख । आवश्यक परेका बेला मैले भनेपछि ती मानिसको नाम मलाई भन्नू’ । सरदारबाजेले स्वीकृतिमा मुन्टो हल्लाए । महिनौँपछि एकदिन राजाबाट सोधनी भयो– ‘खै, मैले भनेको लिष्ट तयार छ विष्णुमणि ?’

निरासभाव सरदारबाजेले राजालाई बिन्ती चढाए– ‘तयार त छ सरकार, तर नाममा केरमेट भयो । मैले सच्याउन पाएको छैन ।’ विष्णुमणिको उत्तरले राजाले झनक्क हुँदै सोधे– ‘कसरी त्यस्तो हुन्छ ?’ विष्णुमणिको उत्तर थियो– ‘मैले खराबको लिष्टमा राखेको मानिसलाई सरकारबाट पुरष्कृत हुने । राम्रो भनेर नाम टिपोट गरेको मानिस अवसरबाट सधैँ वञ्चित भयो । यसो भएर मेरो डायरी केरमेट भएको हो ।’ सरदारबाजेको चित्तबुझ्दो उत्तरपछि राजा महेन्द्र चुप भए ।

महाभारतमा विदुर राजा धृतराष्ट्रका सल्लाहकार थिए । धृतराष्ट्र कठिन परिस्थितिमा विदुरको सल्लाह त लिन्थे तर निर्णय आफूखुशी गर्थे । विदुरले वर्णावतमा युवराजले प्रतिनिधित्व गर्ने समारोहमा दुर्योधनहरूलाई सँगै पठाउँदा दाजुभाइबीच एकताको राम्रो सन्देश जाने सल्लाह दिएका थिए, तर राजाका लागि पाच्य भएन ।

आखिर यही भूलले लाक्षगृह काण्ड मच्चियो । पाण्डवहरूलाई दिएको १२ वर्षे वनबासको सजायलाई एक वर्ष एकदिनको गणनामा झार्न सके युद्ध टर्ने गरी निकालेको जुक्तिलाई धृतराष्ट्रले उडाए । आफूले दिएको सल्लाह अपमानमा बदलिएपछि विदुरले सल्लाहकार पदबाटै राजीनामा दिए ।

प्रधानमन्त्रीहरूले आफ्ना हुक्के, ढोके, चम्चे, छातेलाई त्यो सम्मानित पदमा बहाली गराउन थाले । प्रज्ञा, चेतना, सिर्जनाभन्दा पनि मालिकको अनुहार पढेर त्यो अनुसार चल्न सक्नेहरू पदको हकदार भए ।

छिमेकी मुलुक भारतकी शक्तिशाली प्रधानमन्त्री इन्दिरा गान्धीका सल्लाहकार आरके धवनको प्रभाव अहिले पनि चर्चित छ । उनको व्यवसायिक कौशल कति प्रभावकारी थियो भने प्रधानमन्त्रीले प्रतिवद्धता जनाएको एजेण्डा बोल्नेलाई थाहै नदिई तमाम गरिदिन्थे । नरेन्द्र मोदीका सुरक्षा सल्लाहकार अजित डोभल मोदीभन्दा शक्तिशाली छन् । उनलाई भेटेपछि मोदीको दरकार पर्दैन ।

बालेन प्रधानमन्त्री भएपछि धेरैको अपेक्षा थियो– प्रधानमन्त्रीको सचिवालयमा कायाकल्प हुन्छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले काया फेर्छ । प्रधानमन्त्रीको कार्यालयको ऐना हेर्दा त्यहाँ देश देखिनेछ ।

२०४६ सालको राजनीतिक परिवर्तनपछि गिरिजाप्रसाद कोइराला जननिर्वाचित सरकारको पहिलो प्रधानमन्त्री बने । सरदार यदुनाथ खनाललाई श्रद्धापूर्वक सल्लाहकार भइदिन आग्रह गरे । गिरिजाप्रसादजस्ता दबिन नजान्ने नेता सल्लाहकारको कार्यकक्ष गएर खनालको ढोगभेटपछि बल्ल कार्यकक्ष छिर्थे । अर्को कार्यकालमा प्राध्यापक कृष्ण खनाल सल्लाहकार भएर भित्रिए । स्वार्थ समूहको चलखेल बढ्न थालेपछि दिग्गज सल्लाहकारहरू त्यो पदमा अटाएनन् । त्यसपछिका प्रधानमन्त्रीहरूले आफ्ना हुक्के, ढोके, चम्चे, छातेलाई त्यो सम्मानित पदमा बहाली गराउन थाले । प्रज्ञा, चेतना, सिर्जनाभन्दा पनि मालिकको अनुहार पढेर त्यो अनुसार चल्न सक्नेहरू पदको हकदार भए । यस्ता पात्रहरूले सत्ताको आगोमा पेट्रोलको काम गरे । समर्थक बोक्ने, आलोचक ठोक्ने काममा सचिवालय प्रयोग भए ।

​​​​​​​बालेन प्रधानमन्त्री भएपछि धेरैको अपेक्षा थियो– प्रधानमन्त्रीको सचिवालयमा कायाकल्प हुन्छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले काया फेर्छ । प्रधानमन्त्रीको कार्यालयको ऐना हेर्दा त्यहाँ देश देखिनेछ । कर्मचारीमध्येका अब्बल कर्मचारीहरू बालेनको टीमभित्र हुनेछन् । देश सुत्दा सिंहदरबार जागा रहिरहेको सन्देश जानेछ । हो, भनेजस्तो सजिलो छैन ।

घरपरिवार व्यवस्थापन गर्न घरमुलीलाई हम्मे परेको यो समयमा तीन करोड जनताको अभिभावकीय जिम्मेवारी आफैँमा थाल खाउँ कि भात खाउँको परिस्थिति हो । यद्यपि प्रधानमन्त्रीले देशको पुरै सरकारी संयन्त्रलाई आफ्नो पाङ्ग्रा सम्झनु पर्छ । आफ्ना यारी दोस्ती त रिसाए नि छँदै छन्, खुसाए नि छँदैछन् ।

हामीले भनेको परिवर्तन मूलतः टाइपराइटरबाट  कम्प्युटरमा प्रवेश गरेको मात्र हो । आजभन्दा ६५ वर्षअघि राजा महेन्द्रले निकालेको शाही विज्ञप्ति अहिलेका राष्ट्र प्रमुखले निकाल्ने भन्दा अन्तर छैन ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका सुरक्षा, राजनीतिक, आर्थिक सल्लाहकार छन् । तिनीहरू हुक्के, ढोके भएर राष्ट्रपतिको सचिवालय प्रदूषित गर्दैनन् । बरु राष्ट्रपतिसँग टेनिस खेल्ने अर्को पार्टनर सुरक्षा सल्लाहकार हुन्छ । खेलिसक्दा हुने गफबाट राष्ट्रपतिले सुरक्षासम्बन्धी सम्पूर्ण सूत्र ग्रहण गरिसक्छन् । लन्च आर्थिक सल्लाहकारसँग गर्छन् । डिनरको समय राजनीतिक सल्लाहकारले पाउँछ । समयको नि बचत काम पनि तमाम् ! तीनसाँचे आग्लो लगाएर, व्यस्तको नेमप्लेट झुण्ड्याएर बैठकमा रमाउने शैलीमा अब परिवर्तन आउनुपर्छ ।

खराब असल नजिर खोजौँ त जनताले भात खाएको खबर नआएसम्म आफ्नो चुल्होमा आगो नबाल्ने महीन्द्र मल्लको इतिहास जताततै पढ्न पाइन्छ । बीसे नगर्चीसँग एक रुपियाँ उठाएर सबैलाई सङ्गठित गर्ने, राज्यप्रति जनताको स्वामित्व जगाउने पृथ्वीनारायण जीवनकथा प्रेरणा बन्नसक्छ । बीपी कोइरालाले गरिब देशका राजनीतिज्ञ धनी हुनु हुँदैन भने आफ्नै पारिश्रमिक घटाएका थिए । पहिलो मुख्यसचिव चन्द्रबहादुर थापाले सिंहदरबारभित्रै अनुशासनको ‘चन्द्रघण्टी’ बजाएर कर्मचारीलाई निमकको सोझो सम्झाए । प्रहरीका सङ्गठन प्रमुख खड्गजित बरालले अफिसको भित्ता र जवानले खाने भातको सितामा आफ्नो इमान कमाएर गए ।

राजालाई समेत आफ्नो पार्टीको सदस्य बनाएको देशकै सबैभन्दा जेठो दल प्रजा परिषद्का युवा कार्यकर्ताहरू यति जोसिला थिए, जो सुरुवालको इँजारभित्र साइनाइट बोक्थे ।

हामीले भनेको परिवर्तन मूलतः टाइपराइटरबाट  कम्प्युटरमा प्रवेश गरेको मात्र हो । आजभन्दा ६५ वर्षअघि राजा महेन्द्रले निकालेको शाही विज्ञप्ति अहिलेका राष्ट्र प्रमुखले निकाल्ने भन्दा अन्तर छैन । जसमा भनिएको छ– ‘जनता पनि अघिभन्दा बढी मात्रामा होसियार र चेतनशील भैसकेकोले देश र जनहितको काम गरे नगरेको थाहा पाउने भइसकेका छन् । यो तथ्यलाई सबैले बुझी, राजनैतिक पार्टीहरूले पनि वर्तमान परिस्थितिमा परस्परको मतभेद,  ईष्र्या र द्वेष बिर्सी, समयको मागलाई बुझी, देश र जनहितको ख्याललाई ध्यानमा राखी, मातृभूमिको सेवा नै परम कर्तव्य हो र देशको कल्याण हामी सबैको कर्तव्य हो भन्ने मूलमन्त्रलाई राम्ररी सम्झेर कार्यक्षेत्रमा आउने बेला छ । अब सबैले दलगत स्वार्थ र सङ्कुचित मनोभावनालाई त्यागी मुलुकलाई सुदृढ तरिकाले एकताको मजबुत आधारमा अघि बढाउँदै लैजानु पर्दछ ।’

वास्तवमा जेनजी आन्दोलन राणा मिल्काउन उहिल्यै उपयोग भइसकेको हो । राजालाई समेत आफ्नो पार्टीको सदस्य बनाएको देशकै सबैभन्दा जेठो दल प्रजा परिषद्का युवा कार्यकर्ताहरू यति जोसिला थिए, जो सुरुवालको इँजारभित्र साइनाइट बोक्थे । प्रजातन्त्रका खातिर कफन बाँधेका उनीहरू राणाहरूको कब्जामा पर्ने अवस्था आए साइनाइट सुँँघेर सकिने तर पार्टीको सूचना नचुहाउने मानसिक तयारीमा देखिन्थे । बयान, बकपत्र, बिजुलीको झड्काभन्दा उनीहरूका लागि मृत्यु प्यारो थियो । साइनाइट, खाएर वा सुँघेर कसैले आत्महत्या गर्‍याे भने त्यो ब्रम्हहत्या हुन्छ भन्ने डरले राणा शासक युवाहरूको खानतलासी गर्थे ।

एकपटक त एउटा युवाको इँजारमा भेटिएको धुलो खानेकुरा मिसाएर कुकुरलाई दिँदा कुकुर ठाउँका ठाउँ मरेको थियो । साइनाइट उपलब्ध गराएको भनेर कम्पाउन्डर चन्द्रमान सैँजूलाई कठघरामा उभ्याइयो । सत्य बकाउन उनलाई केरकार, पिटपाट, कोर्रा, कटक र बिजुली गरी घोर यातना दिइएको थियो । जुन घटनालाई साइनाइट पर्व भनेर पनि केही इतिहासकारहरूले व्याख्या गर्ने गरेका छन् ।

संसारमा हातखुट्टा नभएका करोडौँ छन् तर बजारमा तिनीहरूका लागि भनेर सर्ट, पाइन्ट नसिलाए पनि उनीहरूको लाज छोपिएकै छ ।

हो, यस्तो दल प्रजा परिषद आज कहाँ पुग्यो ? आफूलाई संसारको निर्विकल्प शक्ति भन्ने दावी गर्नेहरूले यो तथ्यलाई पनि ह्याकुलामा राख्नु जरुरी छ । जसले जुन समयमा राज्यका लागि गुन लगाएको हुन्छ, त्यसलाई त्यही समय सम्झिएर उसको मर्यादा राखिनुपर्छ । संसारमा हातखुट्टा नभएका करोडौँ छन् तर बजारमा तिनीहरूका लागि भनेर सर्ट, पाइन्ट नसिलाए पनि उनीहरूको लाज छोपिएकै छ ।

मुलुकलाई सुशासनमा लैजाने कागजी प्रयास त उहिल्यैदेखि भएकै हो । कागजमा घोडाको सुन्दर तस्वीर बनाउनेहरूले तबेलामा घोडा बाँध्दा आइपर्ने चुनौती र त्यसको तयारीलाई पटक्कै ध्यान दिएनन् । तत्कालीन राजा महेन्द्रको भाषा आफैँ बोल्छ– ‘आजदेखि भ्रष्टाचार निवारण अफिस, पब्लिक सर्भिस कमिसन, सेन्ट्रल इन्टलिजेन्स ब्युरो, कमाण्डरी किताब खाना मैले आफ्नै मातहत राखी काम चालू गर्ने भएको छु । त्रुटि मानिसबाटै हुन्छ । सो दोहोरिन नदिनु पनि मानिसकै गुण हो । जनताको आवाजलाई महत्व दिई प्रजातान्त्रिक तरिकाले छलफल, सरसल्लाह गरी जो उचित ठहरिएला सो बमोजिम यथाशीघ्र जनताको विश्वास पात्र भई देशको हित गर्ने योग्य मन्त्रिमण्डल खडा गर्नेछु ।’ रोग पुरानै छ । डाक्टर फेरिएका छन् । प्रश्न यति हो– चुस्त चालकको हातमा पुरानो गाडी थमाइयो भने के हुन्छ ? 

प्रकाशित मिति : २३ बैशाख २०८३, बुधबार  ११ : ४१ बजे

इरानको एक सपिङ सेन्टरमा आगलागी, आठ जनाको मृत्यु

तेहरान– इरानको राजधानी तेहरानबाट करिब ३० किलोमिटर पश्चिममा रहेको अन्डिशे

एम्बुलेन्सबाट गाँजा बरामद, दुईजना भारतीय नागरिक पक्राउ

इनरुवा– बराहक्षेत्र नगरपालिका–२ पुलठ्ठे गैडामा एम्बुलेन्सबाट १४८ केजीगाँजा बरामद भएको छ

 करिब १ सय ४८ किलो गाँजासहित दुईजना पक्राउ

सुनसरी– बराहक्षेत्र नगरपालिका-२ पुल्ठेगौडाबाट अवैध लागूऔषध गाँजा १ सय ४८ किलोग्राम सहित

कांग्रेस संसदीय दलको बैठक बस्दै, सांसदहरुलाई सभापति थापाले प्रशिक्षण दिने

काठमाडौँ– नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दैछ । बैठक

राज्यकोषबाट दोहोरो सुविधा लिने प्रवृत्ति नियन्त्रण गर्दै सरकार

काठमाडौं– राज्यकोषबाट दोहोरो र असीमित सुविधा लिने प्रवृत्तिलाई नियन्त्रण गर्न