हिटलरका तीन विशिष्ट साथी थिए । तिनकै सल्लाहमा उनी चल्थे । मसी पनि तीनै रंगको प्रयोग गर्थे । त्यसमध्ये ओएर पिपर मुख्य सल्लाहकार थिए । पिपरलाई विशिष्ट गुप्तचरीको काम दिइएको थियो । युद्ध चलिरहँदा हिटलर विरोधी गतिविधिमा उनी संलग्न छन् भनेर दुई सल्लाहकारले कान भरे । यद्यपि पिपर कामप्रति सर्वाधिक वफादार थिए । तारन्तार कान भरिएपछि हिटलरले पिपरमाथि निगरानी बढाए । स्वाभिमानी पिपर आफूलाई नजँचेको विषयमा हिटलरको प्रतिवाद गर्न पछि पर्दैनथे ।
हिटलरको आज्ञा अवज्ञा गरेको निहुँ देखाएर उनी जेल पठाइए । जेलमा पनि हिटलरले साथी विरुद्ध निगरानी बढाए । तीन महिनाको परीक्षणपछि पिपर निर्दोष प्रमाणित भए । आफूलाई प्रसिद्धिको यो सिँढीसम्म ल्याउने माथि यस्तो व्यवहार गरेकोमा हिटरलाई पछुतो भयो । तर हिटलरजस्ता लौह पुरुषका लागि निर्णयबाट पछि हट्नु उत्तिकै सकस थियो ।
कुनै बहानामा हिटलर जेल पुगे । हिटलर चाहन्थे– उसले माफीको याचना गरोस् । तर पिपरले त हिटलरले सोच्दै नसोचेको अनौठो माग राखे । जुन यस्तो थियो– ‘जेलभित्रै कुशको छाप्रो, छाप्रो वरपर सानो बगैँचा, बिजुलीको साटो परम्परागत तेलबत्ती र भारतीय कवि कालिदासले लेखेको शाकुन्तल नाटक ।’
राजनीतिमा सुकर्म र कुकर्मका आआफ्नै हिसाबकिताब छन् । असल कर्म गर्नेहरू वायुको गति, सूर्यको प्रकाश, समुद्रको छाल, जहाजको उचाइमा तरङ्गित हुन्छन् ।
सोचेको एउटा भयो अर्कै । आफूले जेल हालेको मानिसले शाकुन्तल पुस्तक पढ्न खोजेकोमा उनी आश्चर्यचकित हुँदै त्यो पुस्तक मगाएर पढे । त्यो पुस्तक पढेपछि उनी आर्य पक्षधर बनेको एकथरिको विश्लेषण छ ।
राजनीतिमा सुकर्म र कुकर्मका आआफ्नै हिसाबकिताब छन् । असल कर्म गर्नेहरू वायुको गति, सूर्यको प्रकाश, समुद्रको छाल, जहाजको उचाइमा तरङ्गित हुन्छन् । जर्मनीमा जन्मिएका आइन्स्टाइन बृहस्पति बनेर जनजनमा बाँचिरहेका छन् । मानव मस्तिष्कको अद्भूत उदाहरण दिँदा आइन्स्टाइनलाई जित्ने अर्को मानवले अहिलेसम्म यो धरा टेकेको छैन । शक्ति र सत्ताको उन्मादले एकताका समयभन्दा अघि दौडन खोज्ने हिटलरले आत्महत्याको बाटो रोज्नुपर्याे । त्यो बदनामी अहिले पनि कायमै छ ।
केही समयअघि जर्मनीको नुरमबर्गमा उनले बनाएका पेन्टिङ लिलाम बढाबढको आयोजना गरिएको थियो । नाजी तानाशाहका फूलदानी र स्वस्तिक चिह्न अङ्कित कुर्सी पनि लिलाम बढाबढमा राखिएको थियो । जुन शहर कुनैबेला हिटलरको समर्थनमा पागल बनेर एकोहोरिएको थियो । त्यही शहरका बासिन्दाले हिटलरको कला किन्न अरुचि देखाए ।
राजा राजेन्द्रविक्रम शाहले आफ्नो चटके शोखमा उपयोग गरेका जङ्गबहादुर कालान्तरमा राजनीतिको चरम महत्वाकांक्षी पात्र बने । तिनै राजामहाराजा जंगबहादुरको शक्तिका अघिल्तिर झुकेर आफ्ना छोरी जंगबहादुरका छोराहरूलाई सुम्पन तयार भए ।
शैक्षिक र ऐतिहासिक प्रयोजनबाहेक जर्मनीमा नाजीको परिचय झल्काउने चिन्ह सार्वजनिकरूपमा देखाउनुलाई कानून विपरीत मानिन्छ । १२ वर्ष शासन गरेका हिट्लरको शासनकालमा जर्मनीले नरसंहारको नीति लिँदै दोस्रो विश्वयुद्ध शुरू गरेको थियो । युद्धमा ६० लाख यहुदी र लाखौँ नागरिक मारिएका थिए ।
पृथ्वीनारायण शाहका सल्लाहकार थिए– कुलानन्द ढकाल । नेपाल एकीकरणका हरेक साइत उनैले कोरेको मार्गदर्शनले पृथ्वीनारायणलाई सफल राजा बनायो । राज ज्योतिषको सल्लाहअनुसार सैन्य कमाण्डर कालु पाँडे युद्धका रणनीति बनाउँथे । एउटा सार्थक सल्लाहकारको परिणति के हो, यसबाट प्रष्ट हुन्छ । राजामहाराजा, नेताहरूले सल्लाहकारको नाममा भजनमण्डली भित्र्याउने अभ्यास गर्दै आएका छन् । राजा राजेन्द्रविक्रम शाहले आफ्नो चटके शोखमा उपयोग गरेका जङ्गबहादुर कालान्तरमा राजनीतिको चरम महत्वाकांक्षी पात्र बने । तिनै राजामहाराजा जंगबहादुरको शक्तिका अघिल्तिर झुकेर आफ्ना छोरी जंगबहादुरका छोराहरूलाई सुम्पन तयार भए ।
राजा महेन्द्रका विश्वासपात्र थिए– सरदार विष्णुमणि आचार्य । हक्की स्वभावका विष्णुमणि विवेकपूर्ण निर्णयमा माहिर थिए । एकपटक राजाले विष्णुमणिलाई भने– ‘राजपाटमा काम लाग्ने इमानदार मानिसहरूको नाम तयार गरेर राख । आवश्यक परेका बेला मैले भनेपछि ती मानिसको नाम मलाई भन्नू’ । सरदारबाजेले स्वीकृतिमा मुन्टो हल्लाए । महिनौँपछि एकदिन राजाबाट सोधनी भयो– ‘खै, मैले भनेको लिष्ट तयार छ विष्णुमणि ?’
निरासभाव सरदारबाजेले राजालाई बिन्ती चढाए– ‘तयार त छ सरकार, तर नाममा केरमेट भयो । मैले सच्याउन पाएको छैन ।’ विष्णुमणिको उत्तरले राजाले झनक्क हुँदै सोधे– ‘कसरी त्यस्तो हुन्छ ?’ विष्णुमणिको उत्तर थियो– ‘मैले खराबको लिष्टमा राखेको मानिसलाई सरकारबाट पुरष्कृत हुने । राम्रो भनेर नाम टिपोट गरेको मानिस अवसरबाट सधैँ वञ्चित भयो । यसो भएर मेरो डायरी केरमेट भएको हो ।’ सरदारबाजेको चित्तबुझ्दो उत्तरपछि राजा महेन्द्र चुप भए ।
महाभारतमा विदुर राजा धृतराष्ट्रका सल्लाहकार थिए । धृतराष्ट्र कठिन परिस्थितिमा विदुरको सल्लाह त लिन्थे तर निर्णय आफूखुशी गर्थे । विदुरले वर्णावतमा युवराजले प्रतिनिधित्व गर्ने समारोहमा दुर्योधनहरूलाई सँगै पठाउँदा दाजुभाइबीच एकताको राम्रो सन्देश जाने सल्लाह दिएका थिए, तर राजाका लागि पाच्य भएन ।
आखिर यही भूलले लाक्षगृह काण्ड मच्चियो । पाण्डवहरूलाई दिएको १२ वर्षे वनबासको सजायलाई एक वर्ष एकदिनको गणनामा झार्न सके युद्ध टर्ने गरी निकालेको जुक्तिलाई धृतराष्ट्रले उडाए । आफूले दिएको सल्लाह अपमानमा बदलिएपछि विदुरले सल्लाहकार पदबाटै राजीनामा दिए ।
प्रधानमन्त्रीहरूले आफ्ना हुक्के, ढोके, चम्चे, छातेलाई त्यो सम्मानित पदमा बहाली गराउन थाले । प्रज्ञा, चेतना, सिर्जनाभन्दा पनि मालिकको अनुहार पढेर त्यो अनुसार चल्न सक्नेहरू पदको हकदार भए ।
छिमेकी मुलुक भारतकी शक्तिशाली प्रधानमन्त्री इन्दिरा गान्धीका सल्लाहकार आरके धवनको प्रभाव अहिले पनि चर्चित छ । उनको व्यवसायिक कौशल कति प्रभावकारी थियो भने प्रधानमन्त्रीले प्रतिवद्धता जनाएको एजेण्डा बोल्नेलाई थाहै नदिई तमाम गरिदिन्थे । नरेन्द्र मोदीका सुरक्षा सल्लाहकार अजित डोभल मोदीभन्दा शक्तिशाली छन् । उनलाई भेटेपछि मोदीको दरकार पर्दैन ।
बालेन प्रधानमन्त्री भएपछि धेरैको अपेक्षा थियो– प्रधानमन्त्रीको सचिवालयमा कायाकल्प हुन्छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले काया फेर्छ । प्रधानमन्त्रीको कार्यालयको ऐना हेर्दा त्यहाँ देश देखिनेछ ।
२०४६ सालको राजनीतिक परिवर्तनपछि गिरिजाप्रसाद कोइराला जननिर्वाचित सरकारको पहिलो प्रधानमन्त्री बने । सरदार यदुनाथ खनाललाई श्रद्धापूर्वक सल्लाहकार भइदिन आग्रह गरे । गिरिजाप्रसादजस्ता दबिन नजान्ने नेता सल्लाहकारको कार्यकक्ष गएर खनालको ढोगभेटपछि बल्ल कार्यकक्ष छिर्थे । अर्को कार्यकालमा प्राध्यापक कृष्ण खनाल सल्लाहकार भएर भित्रिए । स्वार्थ समूहको चलखेल बढ्न थालेपछि दिग्गज सल्लाहकारहरू त्यो पदमा अटाएनन् । त्यसपछिका प्रधानमन्त्रीहरूले आफ्ना हुक्के, ढोके, चम्चे, छातेलाई त्यो सम्मानित पदमा बहाली गराउन थाले । प्रज्ञा, चेतना, सिर्जनाभन्दा पनि मालिकको अनुहार पढेर त्यो अनुसार चल्न सक्नेहरू पदको हकदार भए । यस्ता पात्रहरूले सत्ताको आगोमा पेट्रोलको काम गरे । समर्थक बोक्ने, आलोचक ठोक्ने काममा सचिवालय प्रयोग भए ।
बालेन प्रधानमन्त्री भएपछि धेरैको अपेक्षा थियो– प्रधानमन्त्रीको सचिवालयमा कायाकल्प हुन्छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले काया फेर्छ । प्रधानमन्त्रीको कार्यालयको ऐना हेर्दा त्यहाँ देश देखिनेछ । कर्मचारीमध्येका अब्बल कर्मचारीहरू बालेनको टीमभित्र हुनेछन् । देश सुत्दा सिंहदरबार जागा रहिरहेको सन्देश जानेछ । हो, भनेजस्तो सजिलो छैन ।
घरपरिवार व्यवस्थापन गर्न घरमुलीलाई हम्मे परेको यो समयमा तीन करोड जनताको अभिभावकीय जिम्मेवारी आफैँमा थाल खाउँ कि भात खाउँको परिस्थिति हो । यद्यपि प्रधानमन्त्रीले देशको पुरै सरकारी संयन्त्रलाई आफ्नो पाङ्ग्रा सम्झनु पर्छ । आफ्ना यारी दोस्ती त रिसाए नि छँदै छन्, खुसाए नि छँदैछन् ।
हामीले भनेको परिवर्तन मूलतः टाइपराइटरबाट कम्प्युटरमा प्रवेश गरेको मात्र हो । आजभन्दा ६५ वर्षअघि राजा महेन्द्रले निकालेको शाही विज्ञप्ति अहिलेका राष्ट्र प्रमुखले निकाल्ने भन्दा अन्तर छैन ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका सुरक्षा, राजनीतिक, आर्थिक सल्लाहकार छन् । तिनीहरू हुक्के, ढोके भएर राष्ट्रपतिको सचिवालय प्रदूषित गर्दैनन् । बरु राष्ट्रपतिसँग टेनिस खेल्ने अर्को पार्टनर सुरक्षा सल्लाहकार हुन्छ । खेलिसक्दा हुने गफबाट राष्ट्रपतिले सुरक्षासम्बन्धी सम्पूर्ण सूत्र ग्रहण गरिसक्छन् । लन्च आर्थिक सल्लाहकारसँग गर्छन् । डिनरको समय राजनीतिक सल्लाहकारले पाउँछ । समयको नि बचत काम पनि तमाम् ! तीनसाँचे आग्लो लगाएर, व्यस्तको नेमप्लेट झुण्ड्याएर बैठकमा रमाउने शैलीमा अब परिवर्तन आउनुपर्छ ।
खराब असल नजिर खोजौँ त जनताले भात खाएको खबर नआएसम्म आफ्नो चुल्होमा आगो नबाल्ने महीन्द्र मल्लको इतिहास जताततै पढ्न पाइन्छ । बीसे नगर्चीसँग एक रुपियाँ उठाएर सबैलाई सङ्गठित गर्ने, राज्यप्रति जनताको स्वामित्व जगाउने पृथ्वीनारायण जीवनकथा प्रेरणा बन्नसक्छ । बीपी कोइरालाले गरिब देशका राजनीतिज्ञ धनी हुनु हुँदैन भने आफ्नै पारिश्रमिक घटाएका थिए । पहिलो मुख्यसचिव चन्द्रबहादुर थापाले सिंहदरबारभित्रै अनुशासनको ‘चन्द्रघण्टी’ बजाएर कर्मचारीलाई निमकको सोझो सम्झाए । प्रहरीका सङ्गठन प्रमुख खड्गजित बरालले अफिसको भित्ता र जवानले खाने भातको सितामा आफ्नो इमान कमाएर गए ।
राजालाई समेत आफ्नो पार्टीको सदस्य बनाएको देशकै सबैभन्दा जेठो दल प्रजा परिषद्का युवा कार्यकर्ताहरू यति जोसिला थिए, जो सुरुवालको इँजारभित्र साइनाइट बोक्थे ।
हामीले भनेको परिवर्तन मूलतः टाइपराइटरबाट कम्प्युटरमा प्रवेश गरेको मात्र हो । आजभन्दा ६५ वर्षअघि राजा महेन्द्रले निकालेको शाही विज्ञप्ति अहिलेका राष्ट्र प्रमुखले निकाल्ने भन्दा अन्तर छैन । जसमा भनिएको छ– ‘जनता पनि अघिभन्दा बढी मात्रामा होसियार र चेतनशील भैसकेकोले देश र जनहितको काम गरे नगरेको थाहा पाउने भइसकेका छन् । यो तथ्यलाई सबैले बुझी, राजनैतिक पार्टीहरूले पनि वर्तमान परिस्थितिमा परस्परको मतभेद, ईष्र्या र द्वेष बिर्सी, समयको मागलाई बुझी, देश र जनहितको ख्याललाई ध्यानमा राखी, मातृभूमिको सेवा नै परम कर्तव्य हो र देशको कल्याण हामी सबैको कर्तव्य हो भन्ने मूलमन्त्रलाई राम्ररी सम्झेर कार्यक्षेत्रमा आउने बेला छ । अब सबैले दलगत स्वार्थ र सङ्कुचित मनोभावनालाई त्यागी मुलुकलाई सुदृढ तरिकाले एकताको मजबुत आधारमा अघि बढाउँदै लैजानु पर्दछ ।’
वास्तवमा जेनजी आन्दोलन राणा मिल्काउन उहिल्यै उपयोग भइसकेको हो । राजालाई समेत आफ्नो पार्टीको सदस्य बनाएको देशकै सबैभन्दा जेठो दल प्रजा परिषद्का युवा कार्यकर्ताहरू यति जोसिला थिए, जो सुरुवालको इँजारभित्र साइनाइट बोक्थे । प्रजातन्त्रका खातिर कफन बाँधेका उनीहरू राणाहरूको कब्जामा पर्ने अवस्था आए साइनाइट सुँँघेर सकिने तर पार्टीको सूचना नचुहाउने मानसिक तयारीमा देखिन्थे । बयान, बकपत्र, बिजुलीको झड्काभन्दा उनीहरूका लागि मृत्यु प्यारो थियो । साइनाइट, खाएर वा सुँघेर कसैले आत्महत्या गर्याे भने त्यो ब्रम्हहत्या हुन्छ भन्ने डरले राणा शासक युवाहरूको खानतलासी गर्थे ।
एकपटक त एउटा युवाको इँजारमा भेटिएको धुलो खानेकुरा मिसाएर कुकुरलाई दिँदा कुकुर ठाउँका ठाउँ मरेको थियो । साइनाइट उपलब्ध गराएको भनेर कम्पाउन्डर चन्द्रमान सैँजूलाई कठघरामा उभ्याइयो । सत्य बकाउन उनलाई केरकार, पिटपाट, कोर्रा, कटक र बिजुली गरी घोर यातना दिइएको थियो । जुन घटनालाई साइनाइट पर्व भनेर पनि केही इतिहासकारहरूले व्याख्या गर्ने गरेका छन् ।
संसारमा हातखुट्टा नभएका करोडौँ छन् तर बजारमा तिनीहरूका लागि भनेर सर्ट, पाइन्ट नसिलाए पनि उनीहरूको लाज छोपिएकै छ ।
हो, यस्तो दल प्रजा परिषद आज कहाँ पुग्यो ? आफूलाई संसारको निर्विकल्प शक्ति भन्ने दावी गर्नेहरूले यो तथ्यलाई पनि ह्याकुलामा राख्नु जरुरी छ । जसले जुन समयमा राज्यका लागि गुन लगाएको हुन्छ, त्यसलाई त्यही समय सम्झिएर उसको मर्यादा राखिनुपर्छ । संसारमा हातखुट्टा नभएका करोडौँ छन् तर बजारमा तिनीहरूका लागि भनेर सर्ट, पाइन्ट नसिलाए पनि उनीहरूको लाज छोपिएकै छ ।
मुलुकलाई सुशासनमा लैजाने कागजी प्रयास त उहिल्यैदेखि भएकै हो । कागजमा घोडाको सुन्दर तस्वीर बनाउनेहरूले तबेलामा घोडा बाँध्दा आइपर्ने चुनौती र त्यसको तयारीलाई पटक्कै ध्यान दिएनन् । तत्कालीन राजा महेन्द्रको भाषा आफैँ बोल्छ– ‘आजदेखि भ्रष्टाचार निवारण अफिस, पब्लिक सर्भिस कमिसन, सेन्ट्रल इन्टलिजेन्स ब्युरो, कमाण्डरी किताब खाना मैले आफ्नै मातहत राखी काम चालू गर्ने भएको छु । त्रुटि मानिसबाटै हुन्छ । सो दोहोरिन नदिनु पनि मानिसकै गुण हो । जनताको आवाजलाई महत्व दिई प्रजातान्त्रिक तरिकाले छलफल, सरसल्लाह गरी जो उचित ठहरिएला सो बमोजिम यथाशीघ्र जनताको विश्वास पात्र भई देशको हित गर्ने योग्य मन्त्रिमण्डल खडा गर्नेछु ।’ रोग पुरानै छ । डाक्टर फेरिएका छन् । प्रश्न यति हो– चुस्त चालकको हातमा पुरानो गाडी थमाइयो भने के हुन्छ ?














प्रतिक्रिया