काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघको ६०औँ वार्षिक साधारणसभा तथा निर्वाचन प्रक्रियामार्फत नयाँ नेतृत्व चयन भएको छ ।
महासंघको विधानअनुसार मंगलबार सम्पन्न साधारणसभासँगै बुधबारदेखि नै महासंघको नेतृत्व अञ्जान श्रेष्ठले गर्नेछन् । साथै, साधारणसभाबाट निर्वाचित र मनोनीत हुने उपाध्यक्षदेखि कार्यकारिणी सदस्यको नयाँ समूहले निजी क्षेत्रको सबैभन्दा ठूलो छाता संगठन आगामी तीन वर्षसम्म हाँक्नेछ ।
तर, कोभिड महामारीसँगै ठूलो क्षति व्यहोरेको निजी क्षेत्र बालेन्द्र शाह ‘बालेन’ नेतृत्वको सरकारसँगै पनि निगरानी तथा नियमनको प्राथमिकतामा परेको छ । बालेन नेतृत्वको सरकारले विगतमा भएका धेरै क्षेत्रका अनियमिततामाथि अनुसन्धान गर्ने प्रक्रिया अघि बढाइसकेको छ ।
पछिल्लो समयमा महासंघका पूर्व अध्यक्ष शेखर गोल्छा, शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाल, दीपक भट्ट, शुलभ अग्रवाल, स्मार्ट टेलिकमका सर्वेश जोशी लगायतका व्यवसायीहरूमाथि सरकारले विभिन्न मुद्दामा अनुसन्धान गरिरहेको छ । जसमध्ये केही हिरासतमा छन् भने केही तारिखमा रहेका छन् ।
निजी क्षेत्रका तीनवटै छाता संगठनले केही दिनअघि उद्योगी तथा व्यवसायी पक्राउको विरोध गर्दै अनुसन्धानपछि दोषी देखिएमा मात्रै कारबाही गर्न माग गर्दै संयुक्त विज्ञप्ति पनि जारी गरेका थिए । तर, सरकारले भने उनीहरूको सो मागलाई सुन्न तयार भएको देखिँदैन ।
नयाँ नेतृत्व सामु अवसर र चुनौती
लामो समयदेखि रुस युक्रेन र इरानमाथि अमेरिका इजराइलको आक्रमणले विश्व अर्थतन्त्रसँगै नेपाली अर्थतन्त्रलाई निकै प्रभावित बनाएको छ । नेपालमा अधिकांश वस्तुको मूल्यवृद्धिका साथै युद्ध लम्बिँदै जाँदा नेपालीको वैदेशिक रोजगार र रेमिट्यान्सको आप्रवाहमा पनि असर गर्ने अर्थशास्त्रीहरूले विश्लेषण गरेका छन् ।
अर्थविद् तथा विश्लेषक अनलराज भट्टराईले देशमा युवाको नेतृत्वमा ५ वर्षसम्म सञ्चालन हुने सरकार भएको अवस्थामा महासंघमा पनि नयाँ पुस्ताको नेतृत्व आएको हुँदा सरकारसँग सहकार्य गर्दै मुलुकको विकासको निम्ति काम गर्ने सकारात्मक सम्भावना देखिएको बताएका छन् ।
‘आर्थिक हिसाबले एकदमै अवसरको अवस्था छ, किनभने अहिले बैंकिङ क्षेत्रमा लगानीयोग्य तरलता अत्यन्तै उच्च रहेको, विदेशी मुद्राको सञ्चिति पनि उच्च भएको र स्थिर सरकार पनि भएको बजेट पनि केही समयमा नै आउने भएको हुनाले यो सरकारले लय कसरी लिन्छ भनेर प्रस्ट हुने, महासंघमा पनि युवा उद्यमी आएको हुँदा सरकारलाई पनि नयाँ जोशसहित सुझाव दिनसक्ने अवस्था छ’, उनले भने ।
उनले सरकारको सुरुवातमा निजी क्षेत्रका केही उद्योगी व्यवसायीमाथि धरपकड जस्तो देखिएपनि दीर्घकालमा सकारात्मक अवस्था सिर्जना हुनसक्ने आफूलाई लागेको बताए ।
‘सरकारले सुशासनको कुरा क्लियर गर्नपर्यो, त्यो म्यान्डेट नै लिएर आएको छ, व्यापारीलाई पनि सही ढंगले अगाडि बढ्दा हामी संरक्षण गर्छौँ भनिरहेको अवस्थामा र अब बजेट पनि बन्ने भएकोले यो बेलामा यो एकदमै सही मौका हुन्छ र नेपाललाई राम्रो लगानीको क्षेत्रको रूपमा स्थापना गर्न सकिन्छ जस्तो लाग्छ’, भट्टराईले भने ।
निवर्तमान वरिष्ठ उपाध्यक्ष हुँदै बुधबारबाट नै स्वतः अध्यक्षको जिम्मेवारी सम्हालेका अन्जन श्रेष्ठले सञ्चार माध्यमलाई छोटो प्रतिक्रिया दिँदै मुलुकको आर्थिक उन्नयनका लागि हरसम्भव प्रयत्न गर्ने बताएका छन् ।














प्रतिक्रिया