किन्सासा– अफ्रिकी मुलुक कङ्गो लोकतान्त्रिक गणतन्त्रमा फैलिएको इबोला महामारी थप गम्भीर बन्दै गएको छ। अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी) ले हालको अवस्था कायम रहे आगामी तीन महिनाभित्र संक्रमितको संख्या २० हजारभन्दा बढी पुग्न सक्ने चेतावनी दिएको छ।
सीडीसीका अनुसार संक्रमितको समयमै पहिचान र अलग राख्ने कार्य प्रभावकारी नभए संक्रमण तीव्र रूपमा फैलिन सक्छ। हालको कमजोर नियन्त्रण अवस्थाले संक्रमित संख्या २० हजार नाघ्ने सम्भावना ६५ प्रतिशतसम्म रहेको जनाइएको छ।
स्वास्थ्य विज्ञहरूले संक्रमितलाई शीघ्र उपचार केन्द्रमा पुर्याई अलग राख्नु महामारी नियन्त्रणको सबैभन्दा प्रभावकारी उपाय भएको बताएका छन्। तर स्वास्थ्य सेवाको सीमित पहुँच, जनशक्ति अभाव र असुरक्षाका कारण प्रभावित क्षेत्रहरूमा संक्रमणको वास्तविक अवस्था पत्ता लगाउन कठिन भइरहेको छ।
इबोला नियन्त्रण अभियानमा संलग्न वरिष्ठ अधिकारी सतीश पिल्लईले संक्रमितहरूको वास्तविक संख्या अनुमानभन्दा बढी हुन सक्ने संकेत देखिएको बताउनुभएको छ। उहाँले हाल संक्रमितलाई अलग राख्ने प्रयास पर्याप्त प्रभावकारी नभएको उल्लेख गर्नुभयो।
यसैबीच, विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) र अफ्रिकी संघको सार्वजनिक स्वास्थ्य निकायले कङ्गो तथा छिमेकी देशहरूमा महामारी नियन्त्रणका लागि आगामी छ महिनामा ५१ करोड ८० लाख अमेरिकी डलर आवश्यक पर्ने जनाएको छ। उक्त रकम उपचार, निगरानी, खोप अभियान, जनचेतना र सीमा स्वास्थ्य सुरक्षा सुदृढीकरणमा खर्च गरिनेछ।
गत मे १५ मा कङ्गोको उत्तरपूर्वी क्षेत्रमा औपचारिक रूपमा घोषणा गरिएको यो महामारी दुर्लभ बन्डिबुग्यो प्रजातिको इबोला भाइरसका कारण फैलिएको हो। स्वास्थ्य अधिकारीहरूका अनुसार भाइरस घोषणा हुनुअघि नै समुदायमा फैलिन थालिसकेको थियो।
पछिल्लो तथ्यांकअनुसार कङ्गोमा हालसम्म ३८१ जनामा संक्रमण पुष्टि भएको छ भने ६४ जनाको मृत्यु भइसकेको छ। संक्रमण सबैभन्दा बढी इटुरी प्रान्तमा फैलिएको छ, जहाँ कुल संक्रमितमध्ये करिब ९० प्रतिशत र मृत्यु भएकामध्ये ७६ प्रतिशत रहेका छन्।
छिमेकी युगान्डामा पनि संक्रमण फैलिन थालेको छ। त्यहाँ १६ जनामा संक्रमण पुष्टि भएको छ भने एक जनाको मृत्यु भएको छ। उपचारपछि कङ्गोमा सात जना र युगान्डामा दुई जना संक्रमित निको भएका छन्।
स्वास्थ्य अधिकारीहरूले महामारी नियन्त्रणबाहिर जान सक्ने जोखिम रहेको भन्दै संक्रमितको खोजी, सम्पर्कमा आएका व्यक्तिको निगरानी, उपचार सेवाको विस्तार तथा जनचेतना अभियानलाई प्रभावकारी बनाउन अन्तर्राष्ट्रिय सहयोगको आवश्यकता औँल्याएका छन्।













प्रतिक्रिया