पाटन (ललितपुर)- चौथो संस्करणको काठमाडौं–कलिङ्गा साहित्य महोत्सव आजदेखि ललितपुरमा सुरु भएको छ । ‘सीमाभन्दा पर, परिवर्तनशील विश्वमा दक्षिण एसियाली साहित्य’ भन्ने नाराका साथ सुरु भएको महोत्सवमा दक्षिण एसियाली मुलुकका लेखक, कलाकार, फिल्मकर्मी, सङ्गीतकार, कूटनीतिज्ञ र बुद्धिजीवीको सहभागिता रहेको छ ।
महोत्सवको उद्घाटन गर्दै पूर्वप्रधानमन्त्री सुशीला कार्कीले आफू केवल पूर्वप्रधानन्यायाधीश वा पूर्वप्रधानमन्त्री मात्र नभई एक साहित्य अनुरागीसमेत भएको बताइन् । उनले भनिन्, “अब म साहित्यतिर ध्यान दिनेछु, यो मेरो आफ्नो अन्तर्मनको रुचि हो ।” पूर्वप्रधानमन्त्री कार्कीले आफ्नो साहित्यिक यात्राको स्मरण गर्दै सन् १९९० को जनआन्दोलनका क्रममा दुई महिनाको जेल जीवनमा त्यहाँका महिला बन्दीको पिडा र भोगाइलाई नजिकबाट नियालेपछि आफूले ‘कारा’ नामक उपन्यास लेखेको बताइन् ।
उनले आफूसँग अझै धेरै कथा र उपन्यासका अवधारणा र आधा लेखिएका पाण्डुलिपीहरू रहेको जानकारी दिँदै ती कृतिहरू समय मिलाएर प्रकाशनमा ल्याउने आफ्नो योजना रहेको बताइन् । यशश्वी पुस्तक प्रतिष्ठानकी अध्यक्ष तथा महोत्सव निर्देशक रञ्जना निरौलाले साहित्य केवल शब्द र पुस्तकमा सीमित नरहेको बताउँदै यसले विचार, संस्कृति, स्मृति, संवेदना र मानवीय सम्भावनाको साझा उत्सव मनाउने अवसर प्रदान गर्ने धारणा राखिन् ।
उनले महोत्सव केवल साहित्यिक कार्यक्रमका लागि गरिएको जमघट नभई मानिसहरूबीच आत्मीयता र समझदारी बढाउने साझा मञ्च भएको उल्लेख गरिन् । महोत्सवमा समूहगत छलफल, कविता वाचन, साङ्गीतिक प्रस्तुति, लेखकसँग अन्तरक्रिया, पुस्तक विमोचन, कार्यशाला, सांस्कृतिक साँझ तथा अन्तरदेशीय साहित्यिक सहकार्यका कार्यक्रम पनि आयोजना हुने क्युरेटर रश्मीरञ्जन परिडाको भनाइ छ ।
महोत्सवमा गायिका इला अरुण, लेखक प्रतिभा राय, अभिनेता तथा लेखक पियुष मिश्र, लेखक एवं फिल्मकर्मी राज शेखर, आध्यात्मिक व्यक्तित्व आचार्य प्रशान्तलगायत सहभागी छन् । निर्देशक परिडाले महोत्सवमा दक्षिण एसियाली साहित्य, कला र बौद्धिक परम्पराले आजको विश्व परिवेश, सांस्कृतिक परिवर्तन, पहिचान, समावेशिता, अध्यात्म तथा सामाजिक परिवर्तनसँग कसरी संवाद गरिरहेका छन् भन्ने विषयमा छलफल हुने जानकारी दिए ।
महोत्सवको उद्घाटन सत्रमा डा वासुदेव त्रिपाठी, डा मीना वर्मा, ज्योस्तिका गाँगुली, विश्वजीत दास गुप्ता, सविता गौतम दाहाल, भवानी खतिवडा, जयराम तिमल्सिना र दीपेन्द्र तिमल्सिनालाई सम्मान गरिएको थियो ।













प्रतिक्रिया