पार्टीको नीति एकातिर, प्रधानमन्त्री बालेन्द्रको कार्यशैली अर्कातिर : बलावती शर्मा  « Khabarhub

पार्टीको नीति एकातिर, प्रधानमन्त्री बालेन्द्रको कार्यशैली अर्कातिर : बलावती शर्मा 



काठमाडौं– सरकारले १०० दिन परिणाममुखी काम गरेको दाबी गरिरहँदा प्रतिपक्षहरू खुसी छैनन्। तल्लो तहका वर्गलाई उपेक्षित गरिएको र मध्यमवर्गीय क्षेत्रलाई पोस्ने काम गरेको भन्दै विपक्षीहरू आलोचनामा उत्रिएका छन् ।  

नेपाली कम्युनिस्ट पार्टीकी सांसद बलावती शर्मा, कानुनको विद्यार्थी समेत हुन् । शर्मा पार्टीको स्पष्ट दृष्टिकोण आउँदा सरकार गन्तव्यविहीन भएको बताउँछिन् । 

उनको विश्लेषणमा प्रधानमन्त्री बालेन्द्र तानाशाह उन्मुख प्रवृत्तितिर लम्किएका छन् । बालेन्द्रलाई पार्टीले समेत गाइड गर्न नसक्दा सरकारले परिणाममुखी काम दिन नसकेको विश्लेषण उनको छ । 

पार्टीको नीति कार्यक्रम एकातर्फ र प्रधानमन्त्रीको कार्यशैली अर्को तर्फ हुनाले पनि सरकारले १०० दिनमा आफ्ना प्रतिबद्धता पूरा गर्न नसकेको र जनतालाई आशावादी बनाउन नसकेको नेकपाको तर्क छ । 

प्रधानमन्त्री बालेन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने बीचको सम्बन्धमा पनि तीन महिनामा कताकता दरार आएको विश्लेषण शर्मा गर्छिन् । शर्मासँग सरकारका १०० दिनको सन्दर्भमा खबरहबले ६ प्रश्नमा केन्द्रित रहेर  कुराकानी गरेको छ ।

सरकारको १०० दिनको काम कस्तो लाग्यो  ?

उहाँहरूले ६०, ७०, ८० के के प्रतिशत भन्दै दिनुभएको छ  । त्यो उहाँहरूको कुरा भयो । उहाँहरू कानुनी शासन संविधान र लोकतन्त्र प्रति जबाफदेही हुनुहुन्न । संघीयताको विषय प्रदेश खारेज गर्ने कुराहरू उठाएर पहिला त्यो माथि आक्रमण गर्नुभयो । विधिको शासन विपरीत गएर तानाशाहा उन्मुख कार्यतिर लाग्नुभयो । निरंकुशतातर्फ उन्मुख भएर आफ्नो हिसाबले सत्ता चलाउने दिशातिर हुनुहुन्छ । 

दोस्रो कुरा उहाँहरू गरिब निमुखा र तल्लो तहका वर्गसँग जोडिएर काम गर्नुहुन्न भन्ने कुरा एक महिनापछि सुकुम्वासी बस्ती हटाएको विषयले पनि देखाउँछ । 

उहाँहरू स्टनबाजतर्फ लाग्नुभयो। तत्काल जे भन्दा बिक्री हुन्छ त्यो भन्दिने तर परिणाम नदेखाउने । 

मन्त्रालयको सङ्ख्या घटाउने ठिक छ ।  तर सचिवहरूको सङ्ख्या बढ्ता भयो। पासपोर्ट ठेक्का प्रकरणमा पनि प्रधानमन्त्री कार्यालय र परराष्ट्र मन्त्रालयबीच विवाद देखिन्छ। अलिकति प्रतिशोध साँध्ने कामतर्फ लाग्नुभयो। भदौ २३ र २४ को घटना हेर्ने हो भने त्यसलाई कार्यान्वयन गर्न सरकार गठन भएको भोलिपल्टै राजनीतिक दलका नेताहरू पक्रन सुरु भयो । 

२४ गते भएको विध्वंसको काहीँ जिम्मा पनि लिनुभएन र अनुसन्धान पनि अगाडि बढाउनुभएन । १०० दिनमा प्रचारबाजीमा सीमित हुनुभयो । यति हुँदाहुँदै केही कुरा गरेर देखाउन चाहिँ खोज्नुभएको छ । 

अनलाइन सेवालाई छिटो छरितो बनाउने कुरा लगायतमा केही गर्न खोज्नुभएको छ। सेवा प्रवाहको कुरा र कार्यालयहरूमा देखिएको अनियमितता र बिचौलियालाई हटाउन पहल गर्नुभएको हो । 

एसईईको रिजल्ट एक महिनामै निकाल्ने, १२ कक्षाको रिजल्ट पनि छिटो निकाल्ने त भन्नुभयो तर विद्यार्थीहरू सडक आन्दोलनमा किन निस्किए त्यतातर्फ ध्यान भएन । १२ का विद्यार्थी अहिले धर्नामा छन् । विवादरहित चाहिँ भएन। सरकारले गर्न खोजेको छ तर स्वच्छ मनले गर्ने भन्दा पनि देखाउन खोज्ने गरी काम भएका छन् ।  उहाँले जति नम्बर दिए पनि १०० दिनमा अपेक्षित सफल हुनुभएन ।

तपाईँहरू चाहिँ १०० मा सरकारलाई कति नम्बर दिनुहुन्छ ? 

नम्बरै चाहिँ कति दिने हो र ! तर जनतालाई जे कुरा भनेर उहाँहरू निर्वाचित हुनुभएको थियो, त्यो अनुभव हुने गरी काम भएन । जस्तो विदेशमा जाने युवाहरूलाई रोजगारी सिर्जना गर्ने, उनीहरूलाई यहीँ राख्ने भन्नुभएको थियो, त्यो पनि गर्नुभएन । भोट माग्दा प्रदेशलाई अधिकार सम्पन्न गराउने भन्नुभएको थियो तर उहाँहरू यसमा चुक्नुभयो । 

सुकुम्वासी बस्तीमा लालपुर्जा बाँड्ने भन्नुभएको थियो । तर अहिले होल्डिङ सेन्टरमा विचलित छन् । सुकुम्वासी बस्ती हटाउँदा छाती थाप्छौँ भन्नुभएको थियो । तर निकालेर हटाउनुभयो । ठ्याक्कै परिणाम देखिने गरी के गर्नुभयो भन्दा देखिँदैन । 

तपाईँहरू पनि पटक पटक सरकारमा पुग्नुभयो। तपाईँहरूले चाहिँ के गर्नुभयो भन्ने पनि प्रश्न उहाँहरूले तेर्स्याउनु होला। तर के के चाहिँ गर्न सक्थ्यो सरकारले यो सय दिनमा ? 

तीनै महिनामा कायापलट हुन्छ भन्ने हाम्रो कुरा होइन। दुई तिहाइको सरकार भएकोले उहाँले धेरै कुराको सुरुवात गर्न सक्नुहुन्थ्यो । कानुनी झन्झट फुकाउन सकिन्थ्यो । धेरै कुरामा कानुनी झन्झट छ । विकास निर्माणको सन्दर्भमा अर्थमन्त्रीले धेरै कुरा गर्नुभएको छ मध्यम वर्गको सवालमा कताकता न्यायोचित हुने निर्णयहरू पनि भएका होलान् तर तल्लो वर्ग समेटिएन । 

गरिब, उत्पीडित र निम्न वर्गमाथि प्रहार छ । सरकार दिशा र विचारविहीन भयो कहाँ जाने कसरी जाने भन्ने कुरामा ठेगान भएन। संघीय लोकतान्त्रिक गणतन्त्र हामी कम्युनिस्टले भन्छौँ । कांग्रेसले समाजवाद भन्छ । हामीले पनि न्याय सहितको समाजवाद भन्छौँ। उनीहरूले यो पनि राम्रोसँग भन्न सक्दैनन् । 

संविधानमा लेखिएको समाजवाद उन्मुख राजनीति व्यवस्था भन्न पनि सकेनन् । गन्तव्य क्लियर छैन जिकज्याक छ । अर्थमन्त्रीले भन्ने प्रदेश खारेज भन्ने , सभापतिले चाहिँ अस्पष्ट ढङ्गले व्याख्या गर्ने । उहाँहरूको बीचमै दृष्टिकोण क्लियर छैन। दृष्टिकोण र गन्तव्य क्लियर नभएपछि नीति, कार्यक्रम क्लियर हुँदैनन् । 

मेरो एक शब्दमा उहाँहरूलाई भन्नु के छ भने पहिला दृष्टिकोण नीति, विचार स्पष्ट पार्नुहोस्। जे भन्नुहुन्छ त्यही अनुसार काम गर्दै गर्दै जाँदा धेरै गर्न सकिन्छ । सुशासन र समृद्धि ल्याउन सक्नुहुन्छ । रोजगारी दिने उद्योगधन्दा कलकारखाना पनि खोल्ने कुरामा प्राथमिकता दिनुभएन । विदेशबाट नेपाली ल्याउने भन्नुभएको छ । तर ठोस योजना छैन । 

यो तीन महिनाको कामलाई हेर्दा पाँच वर्षमा उहाँले आफ्नो प्रतिबद्धता पूरा गर्ने अवस्था छ कि छैन ?

तीन महिनामा मर्निङ सोज द डे जस्तो चाहिँ हुनुपर्ने थियो, त्यो भएन । राजनीतिक दलहरूसँग सहकार्य गरेर अगाडि बढ्ने कानुन संशोधन गर्ने कुराहरूमा सरकार चुक्यो। उहाँहरूको नियतमा थोरै प्रतिशोधात्मक भावना आयो ।  हिजो दलहरूले यसो गरेका थिए हामी यसो गरौँ भन्ने अवस्था देखियो । 

३५ वर्षसम्म केही पनि भएन भन्ने भाष्य सिर्जना गर्न उहाँहरू उन्मुख हुनुभयो तर ३५ वर्षमा के के भयो फर्केर पढिदिनु भएन । दललाई नेगेटिभल्ली प्रचार गर्ने तर आफूमा नयाँपन नदेखाउने । हाम्रो समाज र युवाहरूलाई उक्साउने काम भयो । ३५ वर्षमा कमी कमजोरी भए, नभएको होइन तर के के गरे भन्ने कुरालाई पनि प्रचार गरिएन । 

छलफल सहकार्य गरेर सुशासन र समृद्धिको पाटोमा उहाँहरू लाग्नुभएन । उहाँहरूको राजनीतिक एजेन्डा देखिएन सुशासन भन्ने मात्रै देखियो । अहिलेको सरकारमा भएका व्यक्तिहरूले जति कमाउने जे गर्ने छुट दियो तर पुराना दलहरूको मात्रै छानबिन तर्फ उन्मुख भयो । उहाँहरूले पाँच वर्षमा जनताले जे अपेक्षा गरेका छन् त्यो पूरा गर्नुहुन्छ भन्नेमा शङ्कै छ ।  

पाँच वर्ष सरकार टिक्ने विषयमा पनि सशंकित नै हो ?

पाँच वर्ष टिकोस् , अस्थिरता नहोस्। जनताले पाँच वर्ष चुनेर पठाएका हुन् । देशलाई स्थायित्वतर्फ लानुस् भन्ने कामना छ । 

यहाँ त कानुनको पनि अध्येता राजनीतिक हिसाबले टिप्पणी गर्दा तीन महिनाको अवधिमा पार्टी सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन्द्र शाहको सम्बन्ध कस्तो देखिन्छ ?

लोकतन्त्रमा पार्टी प्रमुख हुन्छ। पार्टीको नीति विचार कार्यक्रम सरकारले अगाडि सार्ने हो। सरकारले यदि गलत गर्छ भने पार्टीले खबरदारी गर्ने हो । रास्वपामा अलिकति फरक देखियो । प्रधानमन्त्री बालेन्द्र शाह हाबी भएको जस्तो देखिन्छ। मन्त्रालयमा मन्त्रीहरूको, सांसदहरूको र हामीसँग नजिक भएका साथीहरूको गुनासो सुन्दा सदन र सरकारलाई उहाँले लत्त्याइरहनु भएको छ । जसको प्रतिनिधित्व प्रधानमन्त्रीले गरिरहनुभएको छ । 

प्रधानमन्त्रीले नियमावली र कानुन पालना गर्नुहुन्न । उहाँहरूकै कारण सांसदहरू आजित र उकुसमुकुस हुनुहुन्छ जस्तो हामीलाई कुरा गर्नुहुन्छ । 

पार्टीका व्यक्तिहरूले भनेको कुरा त्यति सुन्नुहुन्छ कि जस्तो विश्लेषण हामीले गरेका छैनौँ। बाहिरबाट हेर्दाखेरि र्‍याङ, ठ्याङ ठ्याक्कै मिलेको छैन । पार्टीको नीति सिद्धान्त र कार्यक्रम त्यहीअनुसार बोकेको जस्तो देखिँदैन।

तपाईँहरूले त नेकपा एकता र फुट पनि झेल्नुभयो । कांग्रेसको पनि लगभग विवाद नजिकबाट हेर्नु भइरहेको छ । सबै राजनीतिक परिदृश्य केलाउँदा बालेन रवि मिलेर पाँच वर्ष सरकार चलाउँछन् भन्ने ग्यारेन्टी छ ?

अहिले त्यस्तरी नभनूँ जस्तो लाग्छ । तर उहाँहरूको तीन महिनाको जो सहकार्य छ, पार्टी र सरकारबीच समन्वय भएको जस्तो मलाई लाग्दैन । उहाँहरू भोट बटुल्न र सत्ताको लागि एक ठाउँमा हुनुभएको हो । खासमा नीति सिद्धान्तले एक ठाउँमा हुनुभएको होइन। विचारदर्शन सङ्घर्ष र कार्यक्रमले एक भइदिएको भए पृथक् हुन्थ्यो । 

जसरी पनि बहुमत ल्याउने र सत्ता चलाउने भन्ने हिसाबले अगाडि बढेको कारण त्यसकारण पनि उहाँहरूको दृष्टिकोण विचार र समाजलाई हेर्ने नजरमा एकरुपता आउन नसकेको हो । जो सत्तामा जान्छ, सत्ता र पार्टी सञ्चालन गर्नेबीच दरार आएको देखिन्छ । विगतमा पनि त्यो अभ्यास भएको हो। नेकपामा पनि त त्यही भएको हो । 

प्रधानमन्त्री ओली हुनुहुन्थ्यो, पार्टी चलाउने प्रचण्ड हुनुहुन्थ्यो। समन्वय नभएकै कारण विवाद भएर फुटेको हो । कांग्रेसमा पनि त्यस्तै स्थिति देखिन्छ । त्यसकारण यहाँ पनि आशंका गर्ने ठाउँ चाहिँ छ । तर हामी चाहन्छौं उहाँहरू पाँच वर्ष सफल हुनुहोस् । पुराना जो फुटहरू थिए त्यहाँबाट पाठ सिकेर अगाडि बढ्नुहोस् ।

प्रकाशित मिति : २२ असार २०८३, सोमबार  १२ : २८ बजे

संविधान संशोधनबाट नागरिक अधिकार कुण्ठित गर्न खोजियो : ज्ञानेन्द्र शाही

काठमाडौं-  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले सरकारले

संसद्‍मा ज्ञानेन्द्र शाहीको प्रश्न- कर्णालीका नागरिकको ज्यानको मूल्य कति हो ?

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानेन्द्र शाहीले कर्णालीमा भएको सवारी

कोशी अस्पतालको अतिक्रमित संरचना हटाउन गृहमन्त्रीसँग संयुक्त निरीक्षणमा मन्त्री मेहता

विराटनगर– स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले कोशी अस्पतालको सरकारी

चीनको क्षेप्यास्त्र परीक्षणले बढायो चासो

एजेन्सी– चीनले सोमबार प्रशान्त महासागरमा रणनीतिक आणविक पनडुब्बीबाट क्षेप्यास्त्र परीक्षण

नेविसंघको आरोप- सरकारले विश्वविद्यालय र प्राज्ञिक स्वायत्ततामाथि हस्तक्षेप गर्‍यो

काठमाडौं– नेपाल विद्यार्थी संघले वर्तमान सरकारले विश्वविद्यालय र प्राज्ञिक स्वायत्ततामाथि हस्तक्षेप