दक्षिणी युरोपमा डढेलोको कहर, ग्रिसमा विषाक्त धुवाँको चेतावनी « Khabarhub

दक्षिणी युरोपमा डढेलोको कहर, ग्रिसमा विषाक्त धुवाँको चेतावनी


२२ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

एथेन्स- पोर्चुगल, ग्रिस र स्पेनमा फैलिएको भीषण डढेलो नियन्त्रणबाहिर जाने जोखिम बढ्दै गएको छ। सयौँ अग्निनियन्त्रक, दर्जनौँ हवाई साधन र अन्तर्राष्ट्रिय सहयोग परिचालन गरिए पनि आगो पूर्ण रूपमा नियन्त्रणमा आउन सकेको छैन। ग्रिसमा डढेलोसँगै विषाक्त धुवाँको खतरा बढेपछि केही क्षेत्रमा स्थानीयवासीलाई घरभित्रै बस्न र झ्याल–ढोका बन्द गर्न निर्देशन दिइएको छ।

ग्रिसको दोस्रो ठूलो सहर थेस्सालोनिकीस्थित ओराइओकास्ट्रो उपनगर नजिक रहेको रिसाइक्लिङ प्लान्टमा शनिबार साँझ लागेको आगो तीव्र हावाका कारण फैलिएको थियो। त्यसबाट निस्किएको विषाक्त धुवाँका कारण आसपासका तीन उपनगर तथा १५७ अपाङ्गता भएका व्यक्तिहरू बसोबास गर्ने आवासका लागि सतर्कता जारी गर्दै आंशिक स्थानान्तरण गरिएको छ।

आगो नियन्त्रणका लागि करिब १६० अग्निनियन्त्रक रातभर खटिएका थिए भने आइतबार बिहानदेखि पानी बोक्ने विमान परिचालन गरिएको थियो। स्थानीय मेयर पान्डेलिस साकिरिसका अनुसार केही घर र व्यवसायमा क्षति पुगेको छ, यद्यपि क्षतिको विस्तृत विवरण आउन बाँकी छ।

यसैबीच, एथेन्सको पश्चिमस्थित मन्द्रा क्षेत्रमा देवदारको जङ्गलमा लागेको अर्को डढेलो नियन्त्रण गर्न २१० अग्निनियन्त्रक, स्वयंसेवक, विशेष टोली तथा २९ हवाई साधन परिचालन गरिएको छ। रात परेपछि हवाई उद्धार प्रभावित हुने भएकाले अधिकारीहरूले साँझअघि नै आगो नियन्त्रणमा ल्याउने प्रयास तीव्र पारेका छन्।

पोर्चुगलको मध्य भाउजेला क्षेत्रमा बिहीबारदेखि लागेको डढेलो निभाउन एक हजार २०० भन्दा बढी अग्निनियन्त्रक, करिब ४०० सवारीसाधन र १५ वटा विमान परिचालन गरिएको छ। युरोपेली सङ्घ (इयु)को कोपर्निकस स्याटेलाइट प्रणालीका अनुसार आइतबारसम्म आगोले करिब १२ हजार हेक्टर क्षेत्र जलाइसकेको छ।

पोर्चुगललाई सहयोग गर्न स्पेनले १२० अग्निनियन्त्रक र ४५ सवारीसाधन पठाएको छ भने इटाली र स्पेनबाट तीनवटा अग्निनिवारण विमान पनि परिचालन गरिएका छन्। अधिकारीहरूका अनुसार आगोको तीव्रता केही घटे पनि केही स्थानमा अझै तातो केन्द्रहरू बाँकी छन्।

स्पेनको उत्तरपूर्वी गिरोना क्षेत्रमा शुक्रबारदेखि फैलिएको डढेलोले करिब दुई हजार २०० हेक्टर क्षेत्र जलाइसकेको छ। क्याटालोनिया अग्नि सेवाका अधिकारी एडवर्ड मार्टिनेजका अनुसार आगोको परिधि करिब ४० किलोमिटर पुगेको छ र तत्काल नियन्त्रणमा आउने सम्भावना कम देखिएको छ।

ग्रिसको अग्निशमन विभागले थेस्सालोनिकीको आगलागी सडकछेउको वनस्पतिमा गाडीबाट निस्किएको स्पार्कका कारण सुरु भएको आशङ्कामा ७६ वर्षीय एक व्यक्तिलाई पक्राउ गरेको जनाएको छ। केही दिनअघि सोही क्षेत्रनजिकै अर्को डढेलोमा १२ वर्षीय बालक र उनका बुबाको मृत्यु भएको थियो।

अग्निशमन विभागका प्रवक्ता ब्रिगेडियर आयोनिस आर्टोपियोसका अनुसार ग्रिसका करिब ८५ प्रतिशत डढेलो मानवीय लापरवाहीका कारण लाग्ने गरेका छन्। कृषि उपकरणबाट निस्कने स्पार्क, चुरोटका ठुटा र खुला स्थानमा बारबेक्यु गर्दा हुने असावधानी डढेलोका प्रमुख कारण हुन्। अधिकांश आगलागी सचेतना अपनाएर रोक्न सकिने उनले बताए।

ग्रिसले हरेक वर्ष गर्मीयाममा विनाशकारी डढेलोको सामना गर्दै आएको छ। सन् २०१८ मा एथेन्सनजिकैको डढेलोमा १०० भन्दा बढीको मृत्यु भएको थियो भने सन् २०२३ मा उत्तरपूर्वी ग्रिसमा लागेको डढेलो युरोपेली सङ्घको इतिहासकै सबैभन्दा ठूलो वनडढेलो बनेको थियो।

जलवायु परिवर्तनका कारण बढ्दो जोखिमलाई मध्यनजर गर्दै ग्रिसले हालै प्रक्षेपण गरिएका चार उपग्रहमार्फत डढेलो निगरानी प्रणाली थप सुदृढ बनाउने तयारी गरेको छ।

प्रकाशित मिति : २२ असार २०८३, सोमबार  ५ : ३४ बजे

टेरामक्स प्रकरणमा दिगम्बर झालाई एक वर्ष जेल सजाय, मोहन बस्नेतलाई सफाई

काठमाडौं- विशेष अदालतले नेपाल दूरसञ्चार प्राधिकरणको टेलिकम्युनिकेसन ट्राफिक मोनिटरिङ एन्ड

सरकारी जग्गा ओगटेर बनेका ट्रेड युनियनका भवन तीन दिनभित्र खाली गर्न मन्त्रालयको निर्देशन

काठमाडौं- भूमि व्यवस्था, सहकारी तथा सङ्घीय मामिला तथा सामान्य प्रशासन

कोशी प्रदेशसभा : बजेटमाथिको प्रश्नमा मन्त्रीहरूको जवाफ

विराटनगर- कोशी प्रदेशसभाको सोमबार बसेको बैठकमा विनियोजन विधेयकमाथिको छलफलका क्रममा उठेका

४१ वर्षीय रोनाल्डो भर्सेज १८ वर्षीय यामाल : स्पेन र पोर्चुगलको रोचक भीडन्त आज

काठमाडौं- फिफा विश्वकपको अन्तिम १६ अन्तर्गत आज राति बहुप्रतीक्षित र