काठमाडौँ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध जारी युद्ध ‘निकै चाँडै’ अन्त्य हुने बताएका छन् ।
ऊर्जाको मूल्यवृद्धिबारे सोधिएका प्रश्नको उत्तर दिँदै राष्ट्रपति ट्रम्पले यो युद्ध धेरै लामो समयसम्म जारी रहन नसक्ने बताएका हुन्।
यसैबिच मध्यपूर्वको अति संवेदनशील मानिने होर्मुज लाई पुनः सञ्चालनमा ल्याउनका लागि अमेरिका, इरान र ओमान एउटा अस्थायी सहमतिको नजिक पुगेका छन्।
यस सहमतिले मध्यपूर्वमा जारी उच्च तनावलाई कम गर्न र विश्वव्यापी ऊर्जा संकटमा केही राहत पुर्याउन सक्ने आकलन गरिएको छ।

यता अमेरिकाको मध्यस्थतामा रोममा जारी युद्धविराम वार्ता निष्कर्षमा पुग्न नसकिरहेका बेला इजरायली सेनाले लगातार दोस्रो दिन पनि दक्षिण लेबनानमा तीव्र हवाई हमला जारी राखेको छ।
मजदेल जुन नजिकै भएको विष्फोटमा दुई इजरायली सैनिकको मृत्यु भएपछि इजरायली सेनाले मन्सूरी शहरलाई लक्षित गरी आक्रमण थपेको हो।
लगातारका आक्रमणबाट घरहरू ध्वस्त भएका छन् भने सर्वसाधारण पुनः विस्थापित हुन बाध्य भएका छन्। इजरायलले युद्धविराम सम्झौताको उल्लङ्घन भएकाले त्यसको जवाफमा सैन्य कारबाही गरिएको दाबी गरेको छ। यद्यपि, दुई सैनिक मारिएको विष्फोटको जिम्मेवारी हिज्बुल्लाहले हालसम्म लिएको छैन।
रोममा भइरहेको कूटनीतिक प्रयासमा खासै प्रगति हुन सकेको छैन। इजरायलले दक्षिण लेबनानबाट आफ्ना सैनिक पूर्ण रूपमा फिर्ता बोलाउनुअघि हिज्बुल्लाहको पूर्ण निशस्त्रीकरण हुनुपर्ने अडान राखेका कारण वार्ता अझै अनिर्णित बनेको छ।












प्रतिक्रिया