काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारको कार्यशैलीप्रति गम्भीर प्रश्न उठाउँदै सरकार जनताको भावना र वास्तविकतासँग अझ जोडिनुपर्ने बताएका छन्।
शुक्रबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै झाले सरकारको नियत र इमानदारीमाथि प्रश्न नरहे पनि कार्यशैलीमा सुधार आवश्यक रहेको धारणा राखे।
‘हामीले कालो स्टिकर त हटायौँ, अब कालो चस्मा पनि हटाउनुपर्छ,’ उनले भने, ‘आगो मात्रै निभेको हो, दाउरा निभेको छैन।’
उनले मधेशको उदाहरण दिँदै गरिब नागरिकले ल्याएको २५ रुपैयाँको चिप्ससमेत जफत गरिने तर विमानस्थलबाट महँगा मदिरा सहजै भित्रिन दिने प्रवृत्तिले राज्यको दोहोरो मापदण्ड उजागर गरेको बताए।
‘एउटा गरिबबाट २५ रुपैयाँको चिप्स खोसिन्छ, तर एयरपोर्टबाट ब्लु लेबलजस्ता महँगा रक्सी सहजै भित्रिन्छन्। चिप्स ल्याउनेलाई अपमान गर्ने तर महँगा रक्सी भित्रिन दिने व्यवस्था हुँदा समाजमा सन्तुलन कसरी कायम हुन्छ ?’ उनले प्रश्न गरे।
झाले जननिर्वाचित प्रतिनिधि सधैँ जनतासँग जोडिएको हुनुपर्नेमा जोड दिए। लोकतान्त्रिक शासन व्यवस्थाको आधार राज्यप्रतिको जनविश्वास र नागरिकको आत्मविश्वास भएको उल्लेख गर्दै उनले राज्य सञ्चालन त्यही सिद्धान्तअनुसार हुनुपर्ने बताए।
‘राज्यप्रतिको भरोसा र नागरिकको आत्मविश्वासलाई केन्द्रमा राखेर शासन सञ्चालन गरियो भने मात्रै हामीले अपेक्षित उपलब्धि हासिल गर्न सक्छौँ,’ उनले भने।
सरकारको नियत र इमानदारीमाथि आफूले प्रश्न नउठाएको स्पष्ट पार्दै उनले कार्यसम्पादनको शैलीमा भने सुधार आवश्यक रहेको बताए।
‘अहिलेको सरकारको इन्टिग्रिटी र इन्टेन्सनमा प्रश्न छैन। तर कताकता कार्यशैली पुगेन कि भन्ने देखिएको छ,’ उनले भने।
झाले आफूलाई सबै कुरा थाहा छ भन्ने सोच त्यागेर सिक्ने संस्कार विकास गर्न सरकारलाई सुझाव दिए।
‘मलाई केही थाहा छैन भनेर बस्ने होइन। नजानेको कुरा सिक्नुपर्छ। सरकार सञ्चालन गर्नेहरूले आफूलाई थाहा नभएको विषय अरूसँग सिक्न तयार हुनुपर्छ,’ उनले भने।
यस क्रममा उनले गुगलका प्रमुख कार्यकारी अधिकृत सुन्दर पिचाईको भनाइ उद्धृत गर्दै भने, ‘जुन दिन तपाईंलाई आफूलाई सबै थाहा छ भन्ने लाग्छ, त्यो दिन तपाईंको जीवन मृत्युसमान हुन्छ।’
उनले राज्य सञ्चालनका विषयमा सरकार अझ धेरै सिक्नुपर्ने आवश्यकता औँल्याउँदै शिक्षा, राजनीति, लोकतन्त्र र सामाजिक न्याय एकअर्कासँग अन्तरसम्बन्धित रहेको बताए।
‘समाज शिक्षित नभएसम्म राजनीति बलियो हुँदैन। राजनीति बलियो नभए लोकतन्त्र बलियो हुँदैन। लोकतन्त्र बलियो नभए सामाजिक सन्तुलन रहँदैन। सामाजिक सन्तुलन नभए सामाजिक न्याय सम्भव हुँदैन, र सामाजिक न्यायबिना समृद्धि र विकासको आधार निर्माण हुन सक्दैन,’ उनले बताए।












प्रतिक्रिया