काठमाडौं– २०८२ चैत १३ गते बनेको वालेन्द्र शाह ‘बालेन’ नेतृत्वको सरकारको काममा समर्थन र मौनता साँध्ने नीति लिँदै आएको सत्ताधारी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा) विस्तारै आलोचनामा उत्रिन थालेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले शुक्रबार प्रतिनिधिसभा बैठकमा आफ्नै सरकारको कार्यशैलीमाथि प्रश्न उठाउँदै ग्यास अभाव, कृत्रिम संकट, सुशासन, स्वास्थ्य सेवा र सामाजिक सुरक्षाका विषयमा सरकारको ध्यानाकर्षण गराए।
बैठकमा बोल्ने केही सांसदहरूले सरकारको आलोचना गरे । उनीहरूले सरकारले अन्य पक्षसँग सल्लाह नगरेको, समस्या केहो यथार्थ नभनेको, आफूहरूलाई पनि जिम्मेवारी दिन वा जनतामा सत्य भन्न आवश्यक रहेको जस्ता विचार अभिव्यक्त गरे ।
शुक्रबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै सांसद मनिष झाले सरकारको नियत र इमानदारीमाथि प्रश्न नरहे पनि कार्यशैलीमा सुधार आवश्यक रहेको धारणा राखे ।
‘हामीले कालो स्टिकर त हटायौँ, अब कालो चस्मा पनि हटाउनुपर्छ,’ उनले भने, ‘आगो मात्रै निभेको हो, दाउरा निभेको छैन ।’ उनले मधेशको उदाहरण दिँदै गरिब नागरिकले ल्याएको २५ रुपैयाँको चिप्ससमेत जफत गरिने तर विमानस्थलबाट महँगा मदिरा सहजै भित्रिन दिने प्रवृत्तिले राज्यको दोहोरो मापदण्ड उजागर गरेको बताए ।
‘एउटा गरिबबाट २५ रुपैयाँको चिप्स खोसिन्छ, तर एयरपोर्टबाट ब्लु लेबलजस्ता महँगा रक्सी सहजै भित्रिन्छन् । चिप्स ल्याउनेलाई अपमान गर्ने तर महँगा रक्सी भित्रिन दिने व्यवस्था हुँदा समाजमा सन्तुलन कसरी कायम हुन्छ ?’ उनले प्रश्न गरे ।
त्यस्तै, सांसद झाले सरकार चलाउनेहरूले आफूलाई सबै कुरा थाहा छ भनेको झैँ गरेर चलाएको भन्दै नजानेको कुरा अरुबाट सिक्न भन्दै कटाक्ष व्यक्त गरे । ‘मलाई केही थाहा छैन भनेर बस्ने होइन। नजानेको कुरा सिक्नुपर्छ, सरकार सञ्चालन गर्नेहरूले आफूलाई थाहा नभएको विषय अरूसँग सिक्न तयार हुनुपर्छ,’ उनले भने ।
रास्वपा सभापति रवि लामिछानेसँग लामो समयदेखि निकट रहँदै आएका सरकारको पक्षमा दह्रोसँग प्रस्तुत हुँदै आएका अर्का सांसद रमेश प्रसाइँले पनि शुक्रबार प्रतिनिधिसभामा बोल्दै सरकारको चर्को आलोचना गरे । उनले ग्यासको अभाव देशैभरी हुँदा प्रधानमन्त्री र मन्त्री क्वाटरमा छ कि छैन भनेर प्रश्न गरे ।

‘यो ग्यासको अभाव देशैभरी छ, मेरो प्रधानमन्त्री र मन्त्री क्वाटरमा ग्यासको अभाव छ कि छैन ?’, उनले प्रश्न गर्दै भने, ‘जनताले नयाँ सरकार चाहेको भनेको चिल्ला हेन्डसम नयाँ अनुहार खोजेको होइन, नयाँ चरित्र खोजेको हो ।’
उनले चुनावको बेलामा आफूले गरेको बाचा र अहिलेको अवस्था देखेर आफूलाई नै लाज लागेको पनि बताए ।
अर्का रास्वपाका सांसद पारसमणि गेलालले पनि किसानहरू मलको लाइनमा बसेको र ग्यास नपाएको भन्दै सरकारले छ वा छैन भन्न आवश्यक भएको बताए ।
‘मल लाइनमा बस्नुभएको विभिन्न सञ्चारमाध्यमबाट मलाई ट्याग गरेर भिडियोहरू आइरहेका छन्, यसतर्फ पनि सम्बन्धित मन्त्रालयको ध्यानाकर्षण गराउन चाहन्छु, साँच्चै मल छैन भने मन्त्रालयले छैन भनिदिनुपर्यो’, उनले भने, ‘मन्त्रालयले मल पर्याप्त छ भनिरहेको अवस्थामा हामी त्यो मल सम्बन्धित नगरपालिकाका मेयर ज्युहरूसँग को–अर्डिनेसन गरेर त्यहाँ पुर्याउन तयार छौँ, हामी सांसदहरूलाई त्यसको भूमिका दिनुपर्यो ।’
ग्यासको हाहाकार भएको धेरै नागरिकले गुनासो गरिरहेको भन्दै सरकारले ग्यास छ वा छैन भन्न आवश्यक भएको र नभएको भए जनतालाई वैकल्पिक उर्जा प्रयोग गर्न आफूहरूले आह्वान गर्ने पनि उनले बताए ।
सांसद रिमा विश्वकर्माले पनि प्रतिनिधिसभामा बोल्दै किसान मलको लाइनमा भएको बताउँदै कृषि मन्त्रालयलाई समस्या समाधान गर्न भनिन् ।
‘बिडम्बना मलको अभावको आज किसानको बालीसँगै नेपालको खाद्य भविष्य ओइलाएको छ, हामी सबैको भोक मेटाउने किसान आफैँ भोकै सुत्न बाध्य छन्, हाम्रा गाउँ क्रमशः रित्तिँदै छन् खेत बाँझा हुँदैछन्’, उनले भनिन्, ‘कृषि मन्त्रालयलाई मेरो बिनम्र आग्रह छ, बेलैमा रासायनिक मलप्रतिको परनिर्भरता न्यूनीकरण गर्दै स्वदेशी मलको उत्पादन र प्रवर्धनलाई प्राथमिकता दिइयोस ।’
रास्वपाका अर्का सांसद कमल सुवेदीले बजारमा देखिएको ग्यासको कृत्रिम अभाव र कालोबजारीप्रति सरकारको भूमिका कमजोर रहेको भन्दै प्रश्न उठाए। ‘कृत्रिम अभाव सिर्जना गर्ने र कालोबजारी गर्नेलाई किन कारबाही भएन ?’ उनले सरकारसँग प्रश्न गरे।
अर्का सांसद बदनकुमार भण्डारीले स्वास्थ्य सेवा प्रभावकारी नहुँदा वृद्धवृद्धाले उपचार नपाएर दुःख पाएको उल्लेख गर्दै सरकार नागरिकको समस्याप्रति जिम्मेवार बन्नुपर्ने बताए। ‘वृद्ध बाबुआमा उपचार नपाएर बेपत्ता हुनुभयो, तर यो सरकार बेपत्ता नहोस्,’ उनले भने।

यस्तै, सांसद टीका संग्रौला (ज्वाला) ले गरिब र विपन्न नागरिकको सम्मानजनक अन्त्येष्टिको व्यवस्था राज्यले गर्नुपर्ने माग राखिन्। ‘गरिब र निमुखा मर्दा कम्तीमा एक भारी दाउरा, शरीर ओगट्ने ठाउँ र एक काँटी सलाई राज्यले निःशुल्क उपलब्ध गराउनुपर्छ,’ उनले भनिन्।
शुक्रबारको संसद् बैठकमा रास्वपा सांसदहरूले आफ्नै सरकारप्रति समर्थन जनाउँदै पनि सेवा प्रवाह, सुशासन र जनजीविकाका सवालमा सरकारलाई थप जिम्मेवार र उत्तरदायी बन्न आग्रह गरे।
रास्वपाका सभापति रवि लामिछाने समूह र प्रधानमन्त्री बालेन्द्र शाह समूहको बीचमा दूरी बढ्दै गएको नेता महामन्त्री विपिनकुमार आचार्य र गणेश कार्की लगायतका नेताले सांकेतिक रूपमा अभिव्यक्त गर्दै आएका थिए ।
सरकारको कार्यशैलीलाई लिएर केही समयअघि देखि नै सांसद डा. अमरेशकुमार सिंहले चर्को आलोचना गर्दै आएका थिए । सुरूमा प्रधानमन्त्री शाहबारे बोल्नै डराउने सांसदहरू अहिले एकपछि अर्को सरकारको कडा आलोचनामा उत्रिन थालेका छन्।
शुक्रबारसम्मको बैठकमा आइपुग्दा रास्वपाका ठूलो संख्याका सांसदहरू नै खुलेर सरकारको आलोचना गर्नुले अब रास्वपाभित्रको ध्रुवीकरण तीव्र हुँदै गएको संकेत गरेको छ । शुक्रबार बोल्ने अधिकांश सांसदहरू सभापति रवि लामिछानेनिकट भएकाले पनि यस कुरालाई थप बल पुगेको हो ।












प्रतिक्रिया