साढे ३ सय क्षतविक्षत शव पहिचानमा खटिइन् निडर प्रकृति (तस्बिरहरू) « Khabarhub

साढे ३ सय क्षतविक्षत शव पहिचानमा खटिइन् निडर प्रकृति (तस्बिरहरू)


२२ भाद्र २०८३, सोमबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चितवनको टन्टलापुर गर्मी । बाढीमा परेकाको शव गन्हाउन थालेका थिए । घाइतेको उपचार गर्ने तयारी गरिरहेको अस्पतालमा एकपछि अर्को शव आउन थालेको थियो । शव देखेर भरतपुर अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारी आत्तिन थालिसकेका थिए ।

घाइतेको उपचार गर्न तयार अस्पताल शव व्यवस्थापनमा जुट्नुपर्ने भयो । यसपछि अस्पताल प्रशासनले जिम्मेवारी बाँड्यो । नर्स प्रकृति तिमिल्सिनाको भागमा जिम्मा आइपर्‍यो – शवहरूको विवरण राख्ने र डीएनए संकलनमा सहयोग गर्ने ।

सामान्य दिनमा अस्पतालको थालासेमिया डे–केयर एकाइमा बिरामीको सेवा गर्ने प्रकृतिको जिम्मेवारी पछिल्लो एकसाता शवकै आसपास रहेर बित्यो । उनी पछिल्लो एक साता बाढीमा ज्यान गुमाएका ३ सय ३५ भन्दा बढी शवको विवरण राख्ने र डीएनए संकलनमा सहयोग गर्न व्यस्त रहिन् । 

‘हामी नर्सिङ पढेपछि सधैँ जीवित बिरामीको उपचार गर्छौं,’ उनले शव आसपास काम गर्नुपर्दाको अनुभव सुनाइन्, ‘यो मेरो लागि एकदमै फरक र चुनौतीपूर्ण काम थियो । तर मेडिकल फिल्डमा भएपछि यस्तो विपद्को बेला मैले नै गर्नुपर्छ भन्ने मेरो मनमा लाग्यो र म आफैँ अगाडि सरेँ ।’

यसरी शवगृहमा यति धेरै शवको रेकर्ड राख्नु उनको पहिलो अनुभव थियो । शवगृहमा काम गर्ने भनेपछि धेरैले असहज मान्छन् । प्रकृतिका लागि यो निडरता नयाँ कुरा थिएन । उनी पीसीएल नर्सिङ पढ्दादेखि नै निकै साहसी भएको स्वअनुभव गर्छिन् । 

‘मलाई सुरूदेखि नै यस्ता कुरामा डर लाग्दैनथ्यो । पीसीएल पढ्दा भर्खरै सुई (इन्जेक्सन) लगाउन सिक्ने बेला धेरै साथीहरू डराउँथे । तर म पहिलो दिनदेखि नै ‘म लगाउँछु’ भन्दै आफैँ अघि सर्थेँ,’ उनले विगत सम्झिइन् ।  

मृत शरीर र चरम दुर्गन्धसँग काम गर्दा आफूलाई असहज नलागेको उनी सुनाउँछिन् । उनको मनमा अज्ञात मृतक र उनीहरूका शोकाकुल परिवारप्रति गहिरो सहानुभूति मात्र थियो ।

 यो कठिन काममा उनी एक्लै थिइनन् । १० जना सहयोगी दाइहरू र ६–७ जना डाक्टरहरूको टिम थियो । डाक्टरहरूमा भरतपुर अस्पतालका दुई जना फरेन्सिक विशेषज्ञका साथै काठमाडौँ, भेरी र लुम्बिनी अस्पतालबाट बोलाइएका विज्ञहरू थिए । 

कसरी राखिन्थ्यो रेकर्ड ?

शवगृहमा काम गर्ने तरिका निकै संवेदनशील र व्यवस्थित थियो । सुरूमा प्रहरीले शव लिएर आउँथे । सहयोगी दाइहरूले बाढीको माटो र हिलोले पुरिएका शवहरूलाई पानीले धोएर सफा गर्थे । माटो पखालिएपछि प्रकृतिले शवको मसिनो विवरण टिप्न थाल्थिन् । 

उनले शवको शरीरमा ट्याटु छ कि छैन, कोठी कता छ, कुनै चोटको दाग, दाँतमा बाँधिएको ब्रेसेस, कपालको रंग र लम्बाइ कति छ-सबै कुरा नापेर डायरीमा रेकर्ड गर्थिन् ।

मृतकको कानमा भएका सुनका गहनाहरू प्रहरीले सुरक्षित निकाल्थे र प्रकृतिले त्यसको पनि रेकर्ड राख्थिन् । उनको मनमा लागिरहन्थ्यो – मैले राखेको रेकर्डले परिवारलाई हराएकाहरू खोज्न सहज होला कि नहोला ? 

‘हामीले आफ्नो शत प्रतिशत दिएर काम गर्‍यौँ, किनभने हाम्रो सानो विवरणले गर्दा पछि कुनै परिवारले आफ्नो हराएको मान्छे चिन्न सकोस् र सम्मानपूर्वक दाहसंस्कार गर्न पाओस् भन्ने हाम्रो आशा थियो,’ उनले भनिन् ।

एउटा सिङ्गो शवको विवरण लिन २५ देखि ३० मिनेट लाग्थ्यो । टुक्रिएको अंग मात्र हुँदा १० देखि १५ मिनेट लाग्थ्यो । त्यसपछि डीएनए संकलनका लागि दाँत वा हड्डी निकालिन्थ्यो र त्यसलाई अस्पताल र प्रहरीको छुट्टाछुट्टै कोडिङ मिलाएर सुरक्षित रूपमा लेबलिङ गर्ने काम प्रकृतिले गर्थिन् । 

काम सुरू गरेको पहिलो र दोस्रो दिन उनलाई सजिलो नै महशुस भएको थियो । त्यसपछिका दिन गर्मीका कारण शवहरू छिट्टै सड्न थालेपछि गन्ध सहनै नसक्ने हुन थाल्यो । 

‘हामीले अनुहारमा दुई–तीनवटासम्म मास्क लगाउँथ्यौँ । सास फेर्नै गाह्रो हुन्थ्यो,’ उनले काम गर्दाका असहजता सुनाइन् । बिहान ८ बजेदेखि बेलुका ७ बजेसम्म लगातार ११ घण्टा शवहरूकै बीचमा आफूहरू काममा खटिएको उनले बताइन् ।

क्षतविक्षत शव र बडी ब्याग देख्दा नआत्तिने कुरा पनि भएन । सुरूमा उनी डराइन् । ‘सुरूमा यति धेरै बडी ब्याग र शवहरू देख्दा साह्रै डर लागेको थियो । यो काम कसरी सकिएला भन्ने लागेको थियो,’ उनले आफ्नो डर लुकाइनन्, ‘मानसिक रूपमा म निकै थाकेकी थिएँ, राति सुत्न पनि गाह्रो हुन्थ्यो । तर आफ्नो जिम्मेवारी पहिलो प्राथमिकता हो भन्ने सोचेर मैले त्यो डर र घिनलाई मनबाट हटाएँ ।’ 

यति ठूलो संख्यामा शव व्यवस्थापन, डीएनए संकलन गर्ने यो जटिल कार्य अस्पताल व्यवस्थापन र पूरै टिमको अनवरत प्रयास र सहकार्य भएको उनको भनाइ छ ।

अस्पताल प्रशासन आवश्यक सामग्रीहरू तत्काल उपलब्ध गराउन सधैँ ‘स्ट्यान्डबाई’ रहने र फरेन्सिक टोलीका सदस्यहरूले काँधमा काँध मिलाएर काम गरेकै कारण यो कठिन कार्यमा खटिन सम्भव भएको उनको भनाइ छ ।

सात दिन खटिँदा प्रकृतिलाई केही दृश्यले मन कुँडियो । २–३ वर्षका बच्चाको टुक्रा–टुक्रा शव देख्दा उनले आँसु थाम्न सकिनन् । ‘म आफैँ पनि एउटी आमा हुँ । त्यसैले साना बच्चाहरूको त्यस्तो अवस्था देख्दा मेरो मुटु च्यातिएर आयो,’ उनी भावुक भइन्, ‘त्यो दृश्यले मलाई भित्रैदेखि हल्लाइदियो । जिन्दगी कति अनिश्चित छ ! को मान्छे कहाँबाट बगेर कहाँ पुग्छ, केही थाहा नहुने रहेछ भन्ने लाग्यो ।’

प्रकृतिको नियम : अस्पतालका कुरा घरमा बन्द !

एक आमा र नर्सको भूमिकालाई उनले परिपक्व ढंगले व्यवस्थापन गरिन् । यसमा उनका सासु–ससुरा र श्रीमानको भूमिका बलियो खम्बा बन्यो । घरमा बच्चाको रेखदेख हजुरबा–हजुरआमाले पारिवारिक जिम्मेवारीका साथ सम्हालिदिएकाले उनी आफ्नो कर्तव्य निर्वाह गर्न जाँदा निकै आश्वस्त थिइन् ।

प्रकृतिले आफ्नो पारिवारिक र व्यावसायिक जिम्मेवारी निर्वाह गरिन् । दिनभर शवगृहको कहालीलाग्दो वातावरणमा काम गरेर घर फर्किएपछि प्रकृतिले एउटा नियम बनाइन् — घरमा कहिल्यै पनि यसबारे कुरा नगर्ने ! ‘म घर पुगेपछि फ्रेस हुन्थेँ र बच्चा अनि परिवारसँग हाँसीखुसी समय बिताउँथेँ । म घरमा शवगृहको कुरा कहिल्यै निकाल्थिनँ ।  किनकि त्यसले परिवारमा झन् तनाव बढाउँथ्यो,’ उनले भनिन् ।
 
काम सकिएपछि प्रकृतिको ढाड र खुट्टा असाध्यै दुखेका थिए, उनी शारीरिक रूपमा निकै थाकेकी थिइन् । तर, ३ सय ५० भन्दा बढी शव र अंगहरूको सफल व्यवस्थापन गरिसकेपछि उनलाई मनमा एउटा ठूलो सन्तुष्टि मिल्यो ।

सामाजिक सञ्जाल र समाजमा पनि सबैले उनको यो निस्वार्थ कामको ठूलो प्रशंसा गरे, सबैले ’गर्व छ’ भने । प्रकृति भन्छिन्, ‘मलाई यो काम गर्न पाएकोमा अहिले झन् बढी गर्व महसुस हुन्छ ।’

अहिले उनी फेरि भरतपुर–१०, अस्पताल रोडमा रहेको भरतपुर अस्पतालको आफ्नो नियमित ड्युटीमा फर्किसकेकी छन् । रसुवा बाढीले उनको मनमा एउटा कुरा गहिरो गरेर बसेको छ – जिन्दगीको केही भरोसा छैन, त्यसैले बाँचुञ्जेल सकेसम्म सबैलाई सहयोग गर्नुपर्छ । आफ्नो धर्म निस्वार्थ निर्वाह गर्नुपर्छ ।

यो कठिन घडीमा प्रकृतिजस्तै निरन्तर खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, स्वयंसेवकसहित सबै धन्यवादका पात्र हुन् ।

निशा श्रेष्ठ, चितवन/नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : २२ भाद्र २०८३, सोमबार  ७ : ०० बजे

भोटेकोशी बाढीबाट जनधनको क्षतिप्रति भारतद्वारा दु:ख व्यक्त

काठमाडौं- गत भदौ १० गते बुधबार रसुवास्थित भोटेकोशी नदीमा आएको

विश्वसँग दान र सहयोग होइन, क्षतिपूर्ति मागौं : वातावरण कानुनका ज्ञाता श्रेष्ठ

काठमाडौं- नेपालले लामो समयदेखि भोगिरहेको जलवायु परिवर्तनको असरसम्बन्धी कानुनी लडाईमा

भोटेकोशी बाढीमा ज्यान गुमाउनेको सम्झनामा पर्यटन बोर्डमा दीप प्रज्वलन (तस्बिरहरू)

काठमाडौं– रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान

रूसको उत्तरी क्षेत्रमा हिमपहिरो : ११ जनाको मृत्यु, छ बेपत्ता

मस्को-  रुसको उत्तरी काकेसस क्षेत्रमा रहेको काबार्दिनो–बाल्कारिया गणतन्त्रमा हिमपहिरोमा परी ११

भोटेकोशी बाढी पीडितका लागि राहत र पुन:र्निर्माण प्रभावकारी बनाउन सरकारसँग ओलीको माग

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भोटेकोशीमा आएको विनाशकारी