नेपाल–रुस परामर्श संयन्त्रको तेस्रो बैठक आज बस्दै « Khabarhub

नेपाल–रुस परामर्श संयन्त्रको तेस्रो बैठक आज बस्दै


२१ आश्विन २०८३, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल र रुसबीचको द्विपक्षीय परामर्श संयन्त्रको तेस्रो बैठक आज काठमाडौँमा बस्दैछ । नेपाल र रुसले कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वर्ष मनाइरहेका बेला हुन लागेको बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्र सचिव अमृतबहादुर राई र रुसी प्रतिनिधिमण्डलको नेतृत्व नेपाल भ्रमणमा रहेका रुसी उपविदेशमन्त्री आन्द्रेई रुडेन्कोले गर्नेछन् ।

नेपाल र रुसबीच नियमित परामर्श तथा द्विपक्षीय, क्षेत्रीय र अन्तर्राष्ट्रिय विषयमा विचार आदानप्रदान गर्ने उद्देश्यले सन् १९९५ मा परामर्शसम्बन्धी प्रोटोकलमा हस्ताक्षर भएको थियो । संयन्त्रको पहिलो बैठक सन् २००७ मा मस्कोमा र दोस्रो बैठक सन् २०१८ अप्रिल १७ मा काठमाडौँमा भएको थियो ।

आजको बैठकमा नेपाल–रुस सम्बन्धको समग्र अवस्थाको समीक्षा गर्नुका साथै व्यापार, लगानी, पर्यटन, शिक्षा, संस्कृति तथा प्राविधिक सहयोगलगायतका क्षेत्रमा सहकार्य विस्तारका विषयमा छलफल हुने अपेक्षा गरिएको छ । क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मामिला र बहुपक्षीय मञ्चमा सहकार्यका विषयले पनि बैठकमा स्थान पाउनेछन् ।

यसैबीच, उपविदेशमन्त्री रुडेन्कोले मङ्गलबार साँझ काठमाडौँमा रुसी दूतावासले आयोजना गरेको ‘ओपन डाइलग’मा बाढीबाट नेपालमा भएको जनधनको क्षतिप्रति नेपाल सरकार र नेपाली जनताप्रति गहिरो समवेदना व्यक्त गरे ।

उनले प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसङ्घको महासभामा जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेको जोखिमबारे उठाएको विषयको प्रशंसा गर्दै जलवायु परिवर्तनसम्बन्धी समस्या विश्वका लागि ‘अलार्म बेल’ भएको बताए ।

नेपालले भोगिरहेको विपद्का बेला रुस आफ्नो क्षमताअनुसार सहयोग गर्न तयार रहेको उनले बताए । रुस आफैँ विभिन्न चुनौती र समस्यासँग जुधिरहेको भए पनि नेपाललाई आवश्यक सहयोगका लागि सम्भव सबै प्रयास गर्न तयार रहेको उनको भनाइ थियो ।

ओपन डाइलगमा उनले नेपालका विद्यार्थीलाई उच्च शिक्षाका लागि रुसमा अध्ययन गर्ने अवसरबारे पनि जानकारी दिँदै आगामी शैक्षिक वर्षमा नेपाली विद्यार्थीका लागि ५२ छात्रवृत्ति कोटा उपलब्ध गराउने बताए ।

उपविदेशमन्त्री रुडेन्कोले शिक्षा, संस्कृति तथा जनस्तरको सम्बन्धलाई नेपाल–रुस सम्बन्धको महत्वपूर्ण आधारका रूपमा उल्लेख गर्दै यस्ता क्षेत्रमा सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे ।

रुसी उपविदेशमन्त्री रुडेन्कोको नेपाल भ्रमणका क्रममा नेपाली नागरिक रुसी सेनामा भर्ती भएको विषय, बेपत्ता तथा मृत्यु भएका नेपालीका परिवारलाई क्षतिपूर्तिलगायतका विषयमा पनि नेपाली पक्षले छलफलमा उठाउने अपेक्षा गरिएको छ ।

साथै उनले क्षेत्रीय र अन्तर्राष्ट्रिय चासोका विषयमा बहुपक्षीय मञ्चहरुमा नेपालसँग सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे । मस्कोले नेपालसँगको कूटनीतिक महत्वलाई उच्च प्राथमिकता दिएको उनको भनाइ थियो ।

प्रकाशित मिति : २१ आश्विन २०८३, बुधबार  ८ : ०१ बजे

बझाङी ठट्यौलीदेखि राष्ट्रिय मञ्चसम्म, सन्तोषको कमेडी यात्राले खिच्दै छ ध्यान

कुनै समय गाउँको सानो मेला, स्थानीय पर्व र सांस्कृतिक कार्यक्रम।

यूईएफए नेसन्स लिगमा चेकियाविरुद्ध इंग्ल्याण्डको जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा चेकियाविरुद्ध इंग्ल्याण्डले सहज जित निकालेको छ

एनपीएलको तयारी अन्तिम चरणमा, त्रिवि मैदानको स्तरोन्नति तीव्र

काठमाडौँ– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण नजिकिँदै गर्दा

नेपाल–रुस परामर्श संयन्त्रको तेस्रो बैठक आज बस्दै

काठमाडौँ– नेपाल र रुसबीचको द्विपक्षीय परामर्श संयन्त्रको तेस्रो बैठक आज

नारायणी नदीको बाढी : एक हजार १५० मिटर तटबन्धमा क्षति

चितवन– नारायणी नदीमा आएको बाढीका कारण चितवनतर्फ नदीकिनारमा बनाइएको एक