नेपाली कांग्रेसको १५औँ महाधिवेशन काठमाडौँमा जारी छ। विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापा नेतृत्वको कार्यसमितिले महाधिवेशन गरिरहँदा पूर्वसभापति शेरबहादुर देउवा समूहले पनि अधिवेशन गरिरहेको छ। तर देउवा समूहका सबैजसो नेता–कार्यकर्ता १५औँ महाधिवेशनमा जुटेपछि कांग्रेस एकताबद्ध भएको सन्देश गएको छ। कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री तथा कांग्रेस सहमहामन्त्री पदका उम्मेदवार जीवनबहादुर शाही १५औँ महाधिवेशनलाई एकताको महाधिवेशनको रूपमा बुझ्नुपर्ने बताउँछन्। कांग्रेसका नेता शाहीसँग महाधिवेशनको विषयमा केन्द्रत भएर गरिएको कुराकानीको सम्पादित अंश:
काठमाडौँमा जारी नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सहमहामन्त्री पदमै उम्मेदवारी किन दिनुभएको हो?
यो १५औँ महाधिवेशनमा मैले पिछडिएको क्षेत्रबाट सहमहामन्त्री पदमा उम्मेदवारी दिनुको मुख्य कारण १४औँ महाधिवेशनदेखिको निरन्तरता हो। त्यतिबेला म पराजित भएको थिएँ। हामीले धेरै संघर्ष गरेर पिछडिएको क्षेत्रको सहमहामन्त्रीको क्लस्टर बनायौँ। त्यतिबेला तत्कालीन सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापालगायतको सहयोगमा कर्णालीलगायत पिछडिएको क्षेत्र समेटिएको थियो।
संघीयतापछि प्रदेशमा गएर काम गरेको अनुभव र मेरो राजनीतिक पृष्ठभूमिका आधारमा, त्यस क्षेत्रको नीति–नियम पार्टीभित्र बहस गर्न तथा विकास निर्माणलाई अगाडि बढाउन यो उम्मेदवारी अपरिहार्य ठानेको छु। साविकको कर्णालीका ५ वटा जिल्ला, भेरीको जाजरकोट र सुदूरपश्चिमका ३ वटा गरी ९ वटा पिछडिएका जिल्लाको नेतृत्व गर्दै यसको कार्यान्वयनका लागि लाग्न मैले फेरि उम्मेदवारी दिएको हुँ।
संघीय मन्त्री र कर्णालीको मुख्यमन्त्री भइसकेको व्यक्तिलाई फेरि सहमहामन्त्री पद किन चाहियो भनेर आलोचकले प्रश्न उठाउने गरेका छन् नि?
उहाँहरूको प्रश्न स्वाभाविक जस्तो लाग्न सक्छ। तर पार्टी र जनप्रतिनिधि दुई फरक पाटो हुन्। जनप्रतिनिधि हुन पार्टीको टिकट र जनताको मत आवश्यक पर्छ भने पार्टी भनेको नीति निर्माण गर्ने ठाउँ हो। त्यसो हो भने त हिजो मन्त्री भइसकेका व्यक्तिहरू पार्टी सभापति पनि हुनुहुँदैन भन्ने तर्क आउन सक्छ, जुन तर्कपूर्ण छैन।
मैले २० वर्ष त केन्द्रीय सदस्य भएरै बिताएँ। अब विस्तारै जिम्मेवारी हस्तान्तरण गर्दै जाने कुरामा हामी सचेत छौँ, तर राजनीतिमा जोस मात्र नभई अनुभव र सीप पनि उत्तिकै आवश्यक पर्छ। वर्तमानको भिन्न परिस्थिति र पार्टीलाई एकताबद्ध बनाएर लैजानुपर्ने भएकाले पुराना तथा अनुभवी नेताहरूको भूमिका अझै पनि उत्तिकै महत्वपूर्ण हुन्छ।
मैले २० वर्ष त केन्द्रीय सदस्य भएरै बिताएँ। अब विस्तारै जिम्मेवारी हस्तान्तरण गर्दै जाने कुरामा हामी सचेत छौँ, तर राजनीतिमा जोस मात्र नभई अनुभव र सीप पनि उत्तिकै आवश्यक पर्छ। वर्तमानको भिन्न परिस्थिति र पार्टीलाई एकताबद्ध बनाएर लैजानुपर्ने भएकाले पुराना तथा अनुभवी नेताहरूको भूमिका अझै पनि उत्तिकै महत्वपूर्ण हुन्छ।
सहमहामन्त्रीमा उम्मेदवारी दिँदै गर्दा कांग्रेसको पुरानो साख फर्काउने तपाईंका प्रमुख एजेन्डाहरू के–के छन्?
२०७४ मा म कर्णाली प्रदेशबाट एक्लो मुख्यमन्त्री निर्वाचित भएको थिएँ। त्यसपछि ७९ को निर्वाचनमा आइपुग्दा हाम्रो पार्टी कर्णालीमा सबैभन्दा ठूलो दल बन्न सफल भयो। हामीले अन्य प्रदेशको दाँजोमा त्यहाँ ५१ प्रतिशतसम्म सिट जित्न सफल भयौँ। पार्टीको पद नहुँदा त हामीले यति राम्रो परिणाम ल्याएका छौँ भने, अब सहमहामन्त्रीको जिम्मेवारी पाएपछि यो साखलाई झन् बलियो बनाउन सकिन्छ भन्नेमा म विश्वस्त छु।
कर्णाली देशको सबैभन्दा ठूलो भूगोल तर पूर्वाधारको अभावमा पछाडि परेको प्रदेश हो। जलविद्युतको अपार सम्भावना (करिब १८ देखि २१ हजार मेगावाट निकाल्न सकिने भए पनि हाल ११.८ मेगावाट मात्र उत्पादन हुनु) र ‘गेटवे टु कैलाश’ जस्ता पर्यटकीय क्षेत्रहरूको विकासका लागि पार्टी नीतिमा सुधार गर्दै सरकारमा हुँदा वा नहुँदा पनि जनताको पक्षमा काम गर्ने मेरो मुख्य एजेण्डा हो। २२ वर्षको उमेरदेखि नै जनताको सेवामा खटिएको हुनाले कर्णाली र देशको विकासका लागि म पूर्ण रूपमा प्रतिबद्ध छु।
१४औँ महाधिवेशनको पराजयबाट पाठ सिकेर यसपटक साङ्गठनिक रूपमा कत्तिको तयारीका साथ आउनुभएको छ? त्यतिबेला म बहालवाला मुख्यमन्त्री थिएँ र मेरो सम्पूर्ण ध्यान तत्कालीन सभापति शेरबहादुर देउवालाई जिताउनमा केन्द्रित थियो। प्राविधिक कारणले मेरो व्यक्तिगत परिणाम फरक परे पनि यसपटक पार्टीका साथीहरू, कलाकार तथा देशैभरका मतदाताहरूको अपार माया र सद्भाव मप्रति छ। हिजो चुनावमा अलि टाढा रहेकाहरूले पनि आज मलाई साथ दिनुभएको छ। यो जनसमर्थन र रणनीतिक परिवर्तनले यसपटक हामीलाई विजयको नजिक पुर्याउनेछ र पिछडिएको क्षेत्र तथा देशको सेवा गर्ने अवसर मिल bनेछ भन्नेमा म पूर्ण आशावादी छु।
महाधिवेशन प्रतिनिधिले तपाईँलाई किन मत दिने ?
राजनीति भनेको समाजसेवा हो, यो केवल पेसा मात्रै होइन। पार्टी चलाउनका लागि केवल होहल्ला वा नयाँपन मात्रै काफी हुँदैन; त्यहाँ त्याग, तपस्या र लामो अनुभवको पनि उत्तिकै ठूलो मूल्य हुन्छ। आज विश्वका ठूला लोकतान्त्रिक देशहरूमा समेत अनुभवी र पोख्त नेतृत्वले देश हाँकेका छन्। त्यसैले हामीले युवा, मध्य उमेर र अनुभवी अग्रजहरू सबैलाई मिलाएर एउटा बलियो पर्खालझैँ पार्टीलाई अगाडि बढाउनुपर्छ। त्यसका लागि मेरो उम्मेदवारी हो।

यो १५औँ महाधिवेशनलाई हामीले केवल नियमित अधिवेशन मात्र नभई ‘एकताको महाधिवेशन’ बनाउनु पर्दछ। बाहिर रहेका सबै साथीहरूलाई पार्टीमा समेटेर लैजानुपर्छ। कसैप्रति पनि तुच्छ शब्द प्रयोग नगरौँ, सबै आदरणीय व्यक्तित्वहरूको सम्मान गर्दै अघि बढौँ भन्ने मेरो सबैमा हार्दिक आग्रह छ।














प्रतिक्रिया