काठमाडौँ- चाडपर्व नजिकिँदै गर्दा बाढी तथा पहिरोका कारण अवरुद्ध मुख्य सडक मर्मत गरी दसैँअघि नै सञ्चालनमा ल्याउने तयारी तीव्र पारिएको छ।
सडक विभागले प्राकृतिक विपद्का कारण क्षति पुगेका राजमार्ग तथा सडकको मर्मतसम्भारलाई प्राथमिकताका साथ अघि बढाएको जनाएको छ। विभागका प्रवक्ता शुभराज न्यौपानेका अनुसार अवरुद्ध मुख्य राजमार्ग दसैँअघि नै सञ्चालनमा ल्याउने गरी काम भइरहेको छ।
‘भोटेकोशी बाढी प्रभावित रसुवासहित नुवाकोट, धादिङ, चितवन र गोरखाका सडक मर्मतको काम पनि अघि बढाइएको छ,’ प्रवक्ता न्यौपानेले भने, ‘आगामी चार–पाँच दिनभित्र रसुवाको धुन्चेसम्म यातायात सञ्चालन गरिनेछ भने मुस्ताङतर्फको सडक पनि चाँडै सुचारु हुँदैछ।’
उनका अनुसार सडकमा केही असहजता भए पनि सडक अवरुद्ध भएका कारण उपत्यकाबाट घर जाने यात्रु रोकिइरहने वा खाद्यान्न तथा अत्यावश्यक वस्तुको ढुवानी प्रभावित भइरहने अवस्था नहुने गरी काम भइरहेको छ।
नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार भदौ १० गते आएको भोटेकोशी बाढीका कारण बागमती प्रदेशको रसुवा जिल्लाका मुख्य राजमार्गहरू अवरुद्ध छन्।
त्यस्तै, गण्डकी प्रदेशको म्याग्दीस्थित रघुगङ्गा गाउँपालिका–२ बैसरीमा असोज १० गते गएको पहिरोका कारण बेनी–जोमसोम सडकखण्ड पूर्ण रूपमा अवरुद्ध छ।
नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को बौदीकाली गाउँपालिका–३ स्थित जन्ती पहिरो क्षेत्रमा असोज १४ गतेदेखि कालीगण्डकी करिडोर प्रभावित भए पनि हाल एकतर्फी रूपमा सञ्चालनमा आएको छ। प्रहरीले उक्त सडकमा ठूला सवारीसाधन भने सञ्चालन हुन नसकेको जनाएको छ।
यसैगरी, असोज १८ गते आएको बाढीका कारण प्रभावित मनाङको बेँसीसहर–खाङ्सार सडकखण्ड पनि हाल एकतर्फी रूपमा सञ्चालनमा आएको छ।
अवरुद्ध अन्य सडकलाई समेत यथाशीघ्र पूर्ण रूपमा सञ्चालनमा ल्याउन सम्बन्धित निकायबीच आवश्यक समन्वय गरी काम भइरहेको प्रहरीले जनाएको छ।














प्रतिक्रिया