अब कांग्रेसले के गर्नुपर्छ ? « Khabarhub

अब कांग्रेसले के गर्नुपर्छ ?


२१ आश्विन २०८३, बुधबार  

पढ्न लाग्ने समय : 4 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

नेपाली कांग्रेस कुनै व्यक्ति, गुट वा अमुक पुस्ताको मात्र पार्टी होइन; आठ दशकभन्दा लामो राजनीतिक यात्रा, लोकतान्त्रिक संघर्ष र हजारौँ सहिद तथा योद्धाहरूको त्यागमय बलिदानबाट सिञ्चित ऐतिहासिक राजनीतिक विरासत हो। हामी प्रत्येक सदस्य त्यही गौरवशाली त्यागका उत्तराधिकारी हौँ। हाम्रो काँधमा यस विरासतलाई अझ सुदृढ बनाएर भावी पुस्तालाई हस्तान्तरण गर्नुपर्ने गहन दायित्व छ। यति लामो यात्रामा एकताबद्ध कांग्रेसले सधैँ इतिहास रचेको छ।

कांग्रेस कमजोर हुँदा सिङ्गो मुलुकले नै मूल्य चुकाउनुपरेको यथार्थ हाम्रासामु छर्लङ्ग छ। त्यसैले, व्यक्तिभन्दा विचार, गुटभन्दा संगठन र पदभन्दा पार्टीलाई माथि राख्दै आन्तरिक लोकतान्त्रिक बहसलाई संगठन सुदृढीकरणको ऊर्जामा बदल्नु र सबल एवं विधिप्रधान पार्टी निर्माण गर्नु अब नेपाली कांग्रेसको प्राथमिक दायित्व हो।

लोकतन्त्र आवधिक निर्वाचनको प्राविधिक प्रक्रियामा मात्र सीमित हुन सक्दैन। आजको लोकतन्त्र संविधान र विधिको शासनअनुसार चल्ने तथा नागरिकको दैनन्दिन जीवनमा परिवर्तनको प्रत्यक्ष अनुभूति दिलाउने जीवन्त पद्धति बन्नुपर्दछ।

राजनीतिक अधिकार प्राप्तिको संघर्ष पूरा भइसकेको आजको नवीन चरणमा प्रत्येक नागरिकले राज्यबाट सहज न्याय पाउनु, गुणस्तरीय शिक्षा र स्वास्थ्यको प्रत्याभूति हुनु तथा युवाले आफ्नै माटोमा सम्मानजनक रोजगारी र उज्यालो भविष्य देख्न सक्नु नै लोकतन्त्रको वास्तविक सार्थकता हो। त्यसैले, केवल सत्ताको अङ्कगणितमा सीमित नरही लोकतान्त्रिक संस्थाहरूलाई अझ उत्तरदायी, पारदर्शी र परिणाममुखी बनाउँदै आम नागरिकको भरोसायोग्य अभिभावक बन्नु नेपाली कांग्रेसको आजको ऐतिहासिक अभिभारा हो।

लोकतन्त्रको विकल्प अझ उन्नत र परिष्कृत लोकतन्त्र हो भन्ने दृढ विश्वासका साथ नागरिकमा देखिएको असन्तुष्टिलाई नेपाली कांग्रेसले आत्मसुधार र नवजागरणको सकारात्मक सन्देशका रूपमा ग्रहण गर्नुपर्दछ।

लोकतन्त्रको विकल्प अझ उन्नत र परिष्कृत लोकतन्त्र हो भन्ने दृढ विश्वासका साथ नागरिकमा देखिएको असन्तुष्टिलाई नेपाली कांग्रेसले आत्मसुधार र नवजागरणको सकारात्मक सन्देशका रूपमा ग्रहण गर्नुपर्दछ। यसका लागि अग्रज पुस्ताको गौरवपूर्ण संघर्षको उच्च सम्मान गर्दै नवीन सोच र ऊर्जा बोकेको युवा पुस्तालाई नीति निर्माण र नेतृत्वको मूल प्रवाहमा स्थापित गर्नु कांग्रेसको कर्तव्य हो।

महिला, दलित, आदिवासी जनजाति, मधेसी, थारू, मुस्लिम, श्रमिक, किसान र प्रवासमा रहेका नेपालीहरूको बदलिँदो आकांक्षालाई पार्टीको मूल राजनीतिक एजेन्डासँग जोड्दै भुइँतहका नागरिकसँग जीवन्त संवाद कायम राख्ने जिम्मेवारी कांग्रेसकै काँधमा आएको छ।

इतिहासका हरेक कठिन मोडमा निरंकुशताविरुद्ध लडेर राजनीतिक निकास र शान्तिको नेतृत्व गरेको नेपाली कांग्रेससामु आज समाजमा व्याप्त निराशा, भ्रम र ध्रुवीकरणलाई चिर्नुपर्ने युगान्तकारी कार्यभार छ। अबको हाम्रो प्रतिस्पर्धा एकअर्कालाई निषेध गर्ने होइन, बरु आफ्नै कमजोरीहरूलाई जितेर सुशासन, पारदर्शिता र आर्थिक समृद्धिको महाअभियानलाई सफल पार्न केन्द्रित हुनुपर्दछ। इतिहास हाम्रो गौरव हो भने भविष्य हाम्रो जिम्मेवारी हो। तसर्थ, अतीतको गौरवगाथालाई आत्मसात् गरेर वर्तमानको कार्यभारलाई कुशलतापूर्वक बहन गर्दै समुन्नत देश निर्माण गर्नु नेपाली कांग्रेसको मूल कर्तव्य हो।

कांग्रेसले नागरिकका असन्तुष्टिलाई आफूलाई सुधार्ने सन्देशका रूपमा बुझ्नुपर्छ। अब हामीले दोषारोपण होइन, आत्मसमीक्षा गर्नुपर्छ। हामीले अरूलाई प्रश्न गर्नुअघि आफूलाई पनि प्रश्न गर्नुपर्छ- के कांग्रेसको संगठन नागरिकसँग पर्याप्त जोडिएको छ? के नयाँ पुस्ताले कांग्रेसमा आफ्नो भविष्य देखेको छ? के हाम्रो राजनीति विचार र नीति, जनभावनाप्रतिकूल त छैन? के हामीले कार्यकर्ताको योगदानलाई उचित सम्मान गरेका छौँ? के हामीले नागरिकका दैनिक जीवनका समस्यालाई पर्याप्त प्राथमिकता दिएका छौँ? यी र यस्तै थुप्रै प्रश्न हाम्रासामु छन्। त्यसैले, यी प्रश्नहरूबाट भागेर कांग्रेस बलियो हुँदैन; हामीले जवाफ दिन सक्नुपर्छ। आत्मसमीक्षा गर्नु कमजोरी होइन, सुधारको सुरुवात हो।

नेपाली कांग्रेसमा एकता हुनुपर्दछ। कांग्रेसभित्र एकताको अपिल गरिरहँदा कसैले यसलाई आलोचना वा विमतिको बन्द गर्ने आह्वान ठान्न हुँदैन। म त्यस्तो एकताको पक्षमा छैन जहाँ प्रश्न गर्न पाइँदैन। म त्यस्तो एकताको पक्षमा छु जहाँ फरक विचार राख्ने अधिकार सुरक्षित हुन्छ, तर अन्तिम निर्णयपछि पार्टीको सामूहिक जिम्मेवारी स्वीकार गरिन्छ। म त्यस्तो एकताको पक्षमा छु जहाँ नेतृत्वलाई प्रश्न गर्न सकिन्छ तर व्यक्तिगत अपमान गरिँदैन। कांग्रेसभित्र प्रतिस्पर्धा हुन्छ तर प्रतिस्पर्धीलाई शत्रु बनाइनु हुँदैन। हामीलाई यस्तो कांग्रेस चाहिएको छ जहाँ गुटभन्दा माथि संगठन हुन्छ, व्यक्तिभन्दा विचार ठूलो हुन्छ र पदभन्दा पार्टी ठूलो हुन्छ।

अब कांग्रेसले के गर्नुपर्छ?

हामीले केही आधारभूत संकल्प गर्नुपर्छ- १. पार्टीभित्र लोकतान्त्रिक संस्कार बलियो बनाउने। २. नीति र कार्यक्रमलाई व्यक्ति केन्द्रित राजनीतिभन्दा माथि राख्ने। ३. युवा पुस्तालाई निर्णय प्रक्रियामा अर्थपूर्ण सहभागिता दिने। ४. सुशासन, पारदर्शिता र भ्रष्टाचारविरुद्ध स्पष्ट राजनीतिक प्रतिबद्धता कायम गर्ने। ५. रोजगारी, उत्पादन, गुणस्तरीय शिक्षा, स्वास्थ्य तथा आर्थिक अवसरलाई राजनीतिको केन्द्रमा राख्ने। ६. संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र, विधिको शासन, स्वतन्त्र न्यायपालिका र नागरिक स्वतन्त्रताको रक्षा गर्ने। ७. नागरिकसँग निरन्तर संवाद गर्ने र आलोचनाबाट सिक्ने। र सबैभन्दा महत्वपूर्ण- कांग्रेसभित्रको असहमति कांग्रेसको शक्ति बन्नुपर्छ, विभाजनको कारण होइन।

हामीले इतिहासमा धेरै कठिन समय देखेका र भोगेका छौँ। राणाशासनको निरंकुशता थियो-हामी लड्यौँ। प्रजातन्त्र खोसियो- हामी लड्यौँ। पञ्चायत आयो- हामी लड्यौँ। लोकतन्त्र पुनःस्थापित भयो- हामीले संविधान निर्माणको जिम्मेवारी लियौँ। शान्ति प्रक्रियामा चुनौती आयो- हामी संवाद र सहमतिको बाटोमा हिँड्यौँ। आज चुनौतीको स्वरूप फेरिएको छ। अब प्रश्न लोकतन्त्र ल्याउने मात्र होइन, लोकतन्त्रलाई नागरिकको जीवनमा अनुभूति हुने व्यवस्था बनाउने हो। त्यसैले आज हामीले एकअर्कालाई हराउने होइन, आफ्ना कमजोरीलाई हराउने संकल्प गर्नुपर्छ। एकअर्कालाई समाप्त गर्ने होइन, निराशालाई समाप्त गर्ने अभियान चलाउनुपर्छ। पदका लागि होइन, परिवर्तनका लागि प्रतिस्पर्धा गर्नुपर्छ।

म नेपाली कांग्रेसका सबै नेतृत्व, पार्टी सदस्य, शुभेच्छुक र लोकतन्त्रमा विश्वास गर्ने सम्पूर्ण साथीहरूलाई आग्रह गर्दछु- आउनुहोस्, हामी सबैले विगतको योगदानलाई सम्मान गरौँ, वर्तमानको जिम्मेवारी स्वीकार गरौँ र भविष्यका लागि नयाँ कांग्रेस निर्माण गरौँ।

म नेपाली कांग्रेसका सबै नेतृत्व, पार्टी सदस्य, शुभेच्छुक र लोकतन्त्रमा विश्वास गर्ने सम्पूर्ण साथीहरूलाई आग्रह गर्दछु- आउनुहोस्, हामी सबैले विगतको योगदानलाई सम्मान गरौँ, वर्तमानको जिम्मेवारी स्वीकार गरौँ र भविष्यका लागि नयाँ कांग्रेस निर्माण गरौँ। हामीभित्र फरक विचार रहोस्, बहस रहोस्, प्रतिस्पर्धा रहोस्, तर कांग्रेस नटुटोस्। कांग्रेसको एकता कुनै व्यक्तिको राजनीतिक भविष्यको विषयमात्र होइन; यो त लोकतन्त्रको भविष्यसँग जोडिएको विषय हो। आज देशलाई कमजोर कांग्रेस होइन, आफूलाई सुधार्न सक्ने, जनताको कुरा सुन्न सक्ने, लोकतन्त्रको रक्षा गर्न सक्ने र सुन्दर भविष्यसहितको नेपाल निर्माण गर्ने कांग्रेस चाहिएको छ।

त्यसैले, व्यक्ति होइन विचार रोजौँ, गुट होइन संगठन र पार्टी रोजौँ, मौनता होइन संवाद रोजौँ, विभाजन होइन एकता रोजौँ। अतीतका योगदानमा गर्व गर्दै भविष्य निर्माणको संकल्प गरौँ।

हामी इतिहासले धेरै कुरा दिएको छ; अब हाम्रो पुस्ताको पालो हो- त्यो इतिहासलाई अझ उज्यालो भविष्यमा रूपान्तरण गर्ने।

अन्त्यमा: म नेपाली कांग्रेसको महामन्त्री पदको उम्मेदवारका रूपमा पार्टीलाई वैचारिक रूपले सुस्पष्ट, साङ्गठनिक रूपले सबल एवं एकताबद्ध र कार्यशैलीका हिसाबले गतिशील बनाउने दृढ संकल्प गर्दछु। मैले प्रस्तुत गरेको यस मार्गचित्रले नेपाली कांग्रेसलाई आगामी दिनमा मुलुकको भरोसायोग्य र सर्वाधिक लोकप्रिय राजनीतिक शक्तिका रूपमा स्थापित गर्नेछ। (नेपाली कांग्रेस १५ औँ महाधिवेशनमा महामन्त्री प्रदीप पौडेलले सार्वजनिक गरेको दृष्टिकोणबाट साभार)

प्रकाशित मिति : २१ आश्विन २०८३, बुधबार  २ : १९ बजे

वधशाला र मासु पसलमा नयाँ मापदण्ड प्रस्ताव

काठमाडौँ– कृषि, वन तथा पर्यावरण मन्त्रालयले पशु वधशाला र मासु पसललाई

कांग्रेस सभापतिको दौडबाट पछि हटे राठौर,  अब गगनका प्रतिस्पर्धी श्यामकृष्ण 

काठमाडौं– नेपाली कांग्रेसको सभापति पदका उम्मेदवार किशोर सिंह राठौरले आफ्नो

खाने तेल व्यवसायीको माग- भन्सार दर घटाऔँ

काठमाडौं- भारतले सुर्यमुखी तेलको भन्सार दर करिब ११ प्रतिशत घटाएपछि

रास्वपाको ‘हामी आउँदैछौँ’ अभियान सुरु

काभ्रेपलाञ्चोक– सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को हामी आउँदैछौँ’ भन्ने

कांग्रेस महाधिवेशन : मत माग्न व्यस्त उम्मेदवार (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा पदाधिकारी र सदस्य पदका