काठमाडौं । भारतले विदेश मन्त्रालयका सचिव (आर्थिक सम्बन्ध) सुधाकर दलेलालाई नेपालको लागि नयाँ राजदूत बनाएको छ ।
भारतको विदेश मन्त्रालयले दलेलाको नामको एग्रिमो स्वीकृतिको लागि परराष्ट्र मन्त्रालयमा पठाएको छ । नेपालले एग्रिम स्वीकृत गरेर पठाएपछि भारतले दलेलालाई नेपालको लागि भारतीय राजदूतमा नियुक्त गर्नेछ ।
“भारतले नेपालको लागि नयाँ राजदूतमा सुधाकर दालेलाको नाम पठाएको छ,” परराष्ट्र मन्त्रालय उच्च स्रोतले भन्यो ।
भारतीय राजदूत नवीन श्रीवास्तव आफ्नो कार्यकाल सम्पन्न गरी हालै मात्र स्वदेश फर्किएका थिए । त्यसपछि भारतले नेपालको लागि नयाँ राजदूतमा दलेलाको नाम पठाएको हो ।
सुधाकर दलेला सन् १९९३ मा भारतीय विदेश सेवामा प्रवेश गरेका थिए । उनले आफ्नो कूटनीतिक करियर इजरायलको तेल अभिभबाट सुरु गरेका थिए । त्यसयता उनले ब्रासिलिया, शिकागो, ढाका, जेनेभा, थिम्पु र वासिङ्टन डि.सी.स्थित भारतीय नियोगहरूमा सेवा गरेका छन् ।
हालसालै उनले भुटानका लागि भारतको राजदूत (सन् २०२२-२०२५) को रूपमा कार्य गरेका थिए ।
दलेलाले नयाँ दिल्लीमा महत्त्वपूर्ण जिम्मेवारीहरू सम्हालेका थिए । उनले प्रधानमन्त्रीको कार्यालयमा निर्देशक (सन् २००९-२०११) को भूमिका निर्वाह गरेका थिए । यस क्रममा उनले दक्षिण एसियाली छिमेकीहरू, पूर्वी एसिया, इन्डो-प्यासिफिक क्षेत्र, खाडी मुलुक, मध्य पूर्व र अफ्रिकाका देशहरूसँग भारतको सम्बन्ध विस्तारमा केन्द्रित रही काम गरेका थिए ।
उनले विदेश मन्त्रालयमा निर्देशक (उत्तर- सन् २००६ देखि २००७) र पछि सह-सचिव (उत्तर – सन् २०१६ देखि २०१९) को रूपमा भुटान र नेपालसँग भारतको सम्बन्धको जिम्मेवारी हेरेका थिए ।
उनले नयाँ दिल्लीस्थित वाणिज्य विभागमा निर्देशक (व्यापार नीति) र विश्व व्यापार संगठन (WTO) स्थित भारतको स्थायी नियोगमा दुई पटक (सन् २०१४-२०१६ मा भारतको उप-स्थायी प्रतिनिधिको रूपमा समेत) सेवा गरेका थिए ।
उनले १ सेप्टेम्बर २०२५ मा मन्त्रालयमा सचिव (आर्थिक सम्बन्ध) को जिम्मेवारी सम्हालेका थिए ।
भारतीय विदेश सेवामा प्रवेश गर्नुअघि दलेलाले इलेक्ट्रोनिक्स इन्जिनियरिङमा स्नातक तहको अध्ययन पूरा गरेका थिए ।














प्रतिक्रिया