सिड्नी- अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले शनिबार सिड्नीमा आयोजित नेपाल फेस्टिभल २०२६ मा सहभागी हुँदै नेपाली समुदायसँग तिहार मनाएका छन् ।
नेपाली समुदायसँग तिहार मनाउन पाउँदा खुसी लागेको उल्लेख गर्दै प्रधानमन्त्री अल्बानिजले सामाजिक सञ्जालमार्फत आफ्नो अनुभव सार्वजनिक गरेका हुन् ।
‘आज सिड्नीमा नेपाली समुदायसँग तिहार मनाउन पाउँदा निकै खुसी लागेको छ । विविधता नै हाम्रो शक्ति हो र अस्ट्रेलियाको समाजमा नेपाली समुदायको महत्वपूर्ण स्थान छ,’ उनले लेखेका छन् ।
सिड्नीको डार्लिङ हार्बरस्थित टुम्बालोङ पार्कमा आयोजित नेपाल फेस्टिभलमा नेपाली समुदायका सदस्य, अस्ट्रेलियाली नागरिक तथा विभिन्न देशका आगन्तुक सहभागी भएका थिए ।
महोत्सवमा नेपाली कला, संस्कृति, परम्परा, खानाका परिकार, संगीत र मौलिक पहिचान झल्काउने विभिन्न कार्यक्रम प्रस्तुत गरिएको थियो । कार्यक्रममा परम्परागत सांस्कृतिक प्रस्तुति, नृत्य, संगीत तथा सामुदायिक गतिविधि सञ्चालन गरिएका थिए ।
नेपालको प्रमुख पर्व तिहारकै अवसरमा आयोजित महोत्सवले अस्ट्रेलियाली समुदायमाझ नेपालको सांस्कृतिक पहिचान र विविधता प्रस्तुत गर्ने अवसर प्रदान गरेको छ ।














प्रतिक्रिया