वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो कडा आप्रवासन नीतिका प्रमुख योजनाकार स्टिफन मिलरलाई ह्वाइट हाउसको नयाँ चिफ अफ स्टाफ (प्रमुख कर्मचारी) नियुक्त गरेका छन्।
मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीले ठूलो हार बेहोरेपछि ट्रम्पले प्रशासनमा गरेको यो नियुक्तिलाई थप आक्रामक नीतिगत कदमको सङ्केतका रूपमा हेरिएको छ ।
४१ वर्षीय मिलरले सुसी वाइल्सको स्थान लिनेछन् । डेमोक्रेटिक पार्टीले यस साताको सुरुमा उल्लेखनीय जित हासिल गरेपछि वाइल्स ह्वाइट हाउसबाट बाहिरिने पहिलो उच्चपदस्थ अधिकारी बने । ह्वाइट हाउसका एक अधिकारीका अनुसार उनले बिहीबार राति नै राजीनामा दिएका थिए ।
मिलर ट्रम्पका निकट तथा विश्वासिला सहयोगी हुन्। उनले ट्रम्पको ‘अमेरिका फर्स्ट’ नीतिअनुरूप कडा आप्रवासन नीतिको वकालत गर्दै आएका छन् । नीतिसम्बन्धी उपप्रमुख तथा आन्तरिक सुरक्षा सल्लाहकारका रूपमा उहाँ ट्रम्पको दोस्रो कार्यकालमा अघि बढाइएको बृहत् देशनिकाला अभियानका प्रमुख योजनाकार थिए।
गत जनवरीमा मिनियापोलिसमा आप्रवासन अधिकारीहरूले दुई प्रदर्शनकारीलाई गोली हानी हत्या गरेपछि मिलरको व्यापक आलोचना भएको थियो । उनले उक्त घटनामा संलग्न अधिकारीहरूको बचाउ गरेका थिए। घटनापछि अमेरिकाका विभिन्न स्थानमा विरोध प्रदर्शन भएका थिए ।
मिलरको नियुक्तिप्रति डेमोक्रेटिक पार्टीका अल्पमत नेता चक शुमरले आलोचना गरेका छन्। उनले मिलरलाई प्रशासनका कठोर नीतिका प्रमुख योजनाकारको संज्ञा दिँदै डेमोक्रेटिक पार्टीले उहाँका कदमको हरेक तहमा विरोध गर्ने बताएका छन् ।
नियुक्तिबारे पत्रकारले सोधेको प्रश्नमा राष्ट्रपति ट्रम्पले प्रशासनमा परिवर्तन आवश्यक भएकाले यस्तो निर्णय गरेको बताए। उनले मिलरलाई उत्कृष्ट योद्धा र सुरुदेखिकै विश्वासिलो सहयोगी भन्दै प्रशंसा गरे।
यसअघि ट्रम्पले वाइल्सले उत्कृष्ट काम गरेको बताउँदै उनी अब आफ्नो राजनीतिक अभियानमा संलग्न हुने जानकारी दिएका थिए । वाइल्स ह्वाइट हाउसको चिफ अफ स्टाफ बन्ने पहिलो महिला हुन्। ट्रम्पको पहिलो कार्यकालमा देखिएको कर्मचारीबीचको विवाद र प्रशासनिक अव्यवस्थालाई दोस्रो कार्यकालमा नियन्त्रण गर्न उनले महत्वपूर्ण भूमिका निर्वाह गरे ।
वाइल्सले सामाजिक सञ्जाल एक्समार्फत ह्वाइट हाउसमा ट्रम्पको सेवा गर्न पाउनु आफ्नो जीवनकै ठूलो सम्मान भएको बताउँदै शुक्रबार आफ्नो अन्तिम कार्यदिन रहेको जानकारी दिए ।
यसैबीच, ट्रम्पले सीबीएस न्युजको कार्यक्रम ‘६० मिनेट’ लाई दिनुभएको अन्तर्वार्तामा प्रशासनका अन्य केही कर्मचारी पनि परिवर्तन हुन सक्ने सङ्केत गरेका छन् ।














प्रतिक्रिया