एनपीएलमा लुम्बिनीको पहिलो हार, काठमाडौं ३६ रनले विजयी « Khabarhub

एनपीएलमा लुम्बिनीको पहिलो हार, काठमाडौं ३६ रनले विजयी


२१ कार्तिक २०८३, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – साविक विजेता लुम्बिनी लायन्सको अपराजित यात्रामा पूर्णविराम लगाउँदै काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ ।

शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा काठमाडौंले लुम्बिनीलाई ३६ रनले पराजित गरेको हो । अस्ट्रेलियन स्टार डेभिड वार्नरको अर्धशतक र बलरहरूको उत्कृष्ट प्रदर्शन काठमाडौंको जितको आधार बन्यो ।

काठमाडौंले दिएको १६१ रनको लक्ष्य पछ्याएको लुम्बिनी १९।३ ओभरमा १२४ रनमै समेटियो । लुम्बिनीका लागि सन्दीप जोराले सर्वाधिक ४४ रन बनाए । तर, अन्य ब्याटरले उल्लेखनीय योगदान दिन नसक्दा टोलीले लक्ष्य भेट्टाउन सकेन ।

यो हारसँगै दोस्रो संस्करणको च्याम्पियन लुम्बिनीको यस सिजनको अपराजित यात्रा टुंगिएको छ । अघिल्लो संस्करणमा लगातार ६ खेल जितेको लुम्बिनीले यसपटक पनि सुरुवाती चार खेलमा हार बेहोरेको थिएन । एनपीएलमा लगातार १० खेलसम्म अपराजित रहेको लुम्बिनीले अन्ततः काठमाडौंसँग हार बेहोरेको हो ।

हारका बाबजुद लुम्बिनी ५ खेलबाट ७ अंक जोड्दै अंकतालिकाको शीर्ष स्थानमा कायमै छ । पहिलो खेलमा पराजित भएयता लगातार तीन जित निकालेको काठमाडौं ४ खेलबाट ६ अंकसहित दोस्रो स्थानमा उक्लिएको छ । समान खेलबाट ६ अंक जोडेको सुदूरपश्चिम रोयल्स रनरेटमा काठमाडौंभन्दा पछाडि छ ।

लक्ष्य पछ्याउने क्रममा लुम्बिनीको सुरुवात निकै निराशाजनक रह्यो । पावरप्ले नसकिँदै टोलीले ६ विकेट गुमाइसकेको थियो । ओपनर डार्सी सर्ट ४, आसिफ १, निरोशन डिकवेला १४ र ग्रान्ड स्टेवार्ट ६ रनमा आउट भए । कप्तान रोहित पौडेल र दिलीप नाथले त खातासमेत खोल्न सकेनन् ।

काठमाडौंका जहानदाद खान र करण केसीले सुरुवातदेखि नै लुम्बिनीका ब्याटरमाथि दबाब बनाए । जहानदादले आफ्नो पहिलो स्पेलमै ३ ओभर बलिङ गर्दै ४ विकेट लिएपछि लुम्बिनीको ब्याटिङ क्रम धराशायी बन्यो ।

एकपछि अर्को विकेट गुमाइरहेको लुम्बिनीका लागि सन्दीप जोरा भने केही समय क्रिजमा टिके । उनले रुबेन ट्रम्पलम्यानसँग सातौं विकेटका लागि २१ रनको साझेदारी गरे । ट्रम्पलम्यान ११ रनमा आउट भएपछि जोरा र अभिषेक गौतमले आठौं विकेटका लागि ४६ रन जोड्दै इनिङ्स अघि बढाए ।

अभिषेकले १७ बलमा १ चौकासहित १६ रन बनाए । जोरा १८औं ओभरको चौथो बलमा आउट भए । उनले ४५ बलमा ३ चौकासहित ४४ रन जोडे । शेर मल्लले १२ रन बनाए भने तिलकराज भण्डारी १ रनमा अविजित रहे ।

काठमाडौंका लागि जहानदाद खानले ४ ओभरमा २३ रन खर्चेर सर्वाधिक ४ विकेट लिए । कप्तान करण केसीले ४ ओभरमा १ मेडनसहित २४ रन दिँदै २ विकेट हात पारे । शाहब आलम, सन्तोष यादव, राशिद खान र सहान अराचिगेले समान एक विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौंले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १६० रन बनाएको थियो ।

काठमाडौंलाई बलियो सुरुवात दिलाउने क्रममा वार्नर र साहिल पटेलले पहिलो विकेटका लागि १०४ रनको शतकीय साझेदारी गरेका थिए । १२ ओभरमा टोलीले कुनै विकेट नगुमाई १०० रन पूरा गरेको थियो ।

अस्ट्रेलियाका अनुभवी ब्याटर वार्नरले ५० बलमा ९ चौका र १ छक्काको मद्दतले सर्वाधिक ६६ रन बनाए । साहिलले ३६ बलमा २ चौका र २ छक्कासहित ३८ रन जोडे ।

तर, पटेल १४औं ओभरमा आउट भएपछि काठमाडौंको ब्याटिङमा एकाएक गिरावट आयो । १६औं ओभरको पाँचौं बलमा वार्नर पनि सन्दीप जोराको हातबाट क्याच आउट भए । उनलाई शेर मल्लले पेभेलियनको बाटो देखाएका थिए ।

त्यसपछि लुम्बिनीका बलरले काठमाडौंको मध्यक्रम र तल्लो क्रमका ब्याटरलाई टिक्न दिएनन् । अभिषेक गौतमले १७औं ओभरको सुरुवाती दुई बलमै कप्तान करण केसी र विलियम बोसिस्टोलाई आउट गरे । करणले ९ रन बनाउँदा बोसिस्टो खाता नखोली फर्किए ।

त्यसपछि राशिद खान १, जहानदाद खान ६, मोहम्मद आदिल आलम १ र सन्तोष यादव २ रनमा आउट भए ।

अन्तिमतिर सहान अराचिगेले आक्रामक ब्याटिङ गर्दै काठमाडौंको स्कोर उकासे । उनले १५ बलमा ३ चौका र १ छक्कासहित अविजित ३४ रन बनाए ।

लुम्बिनीका लागि रुबेन ट्रम्पलम्यान, शेर मल्ल र अभिषेक गौतमले समान २ विकेट लिए । अभिषेकले ४ ओभरमा १५ तथा शेरले ४ ओभरमा १९ रन खर्चिए । ट्रम्पलम्यानले ३ ओभरमा २४ रन दिए ।

वार्नरको ब्याटिङ र जहानदादको घातक बलिङसँगै काठमाडौंले लुम्बिनीको विजयी लय रोक्न सफल भयो । यो जितले काठमाडौंलाई अंकतालिकाको शीर्ष स्थानको दौडमा थप बलियो बनाएको छ ।

प्रकाशित मिति : २१ कार्तिक २०८३, शनिबार  ८ : ४४ बजे

एनपीएलमा लुम्बिनीको पहिलो हार, काठमाडौं ३६ रनले विजयी

काठमाडौं – साविक विजेता लुम्बिनी लायन्सको अपराजित यात्रामा पूर्णविराम लगाउँदै

चितवनमा उत्पादित सयपत्री र मखमली फूलको माला बेलायत, हङ्कङ र दुबई निर्यात

चितवन – चितवनमा उत्पादित सयपत्री र मखमली फूल तथा माला

कोप–३१ मा जलवायु परिवर्तन र स्वास्थ्यसम्बन्धी उच्चस्तरीय छलफलको अध्यक्षता गर्दै मन्त्री मेहता

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले जलवायु परिवर्तनले

लुम्बिनीको इनिङ धराशायी

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत शनिबारको एक मात्र खेलमा