देउवाले मिलाउन खोज्दा प्रचण्डलाई बिच्क्याए ओलीले « Khabarhub

राष्ट्रिय सभा निर्वाचन

देउवाले मिलाउन खोज्दा प्रचण्डलाई बिच्क्याए ओलीले

एक सिट दिन नमान्दा अन्तिममा भाँडियो सहमति



काठमाडौं- नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी र जनता समाजवादी पार्टीबीच राष्ट्रिय सभामा सिट बाँडफाँड गरेर जाने सहमति अन्तिममा भाँडिएको छ।

यी चार दल मङ्गलबार सहमतिनजिक पुगिसकेका थिए । तर बुधबार बिहानसम्म नेताहरू सिट बाँडफाँटका लागि टुङ्गोमा नपुगेसँगै नेकपा एक्लै चुनावी प्रतिस्पर्धामा गएको छ।

नेकपाको मतभारअनुसार कांग्रेस-एमालेले सिट नदिएपछि राष्ट्रिय सभामा निर्वाचनमा एक्लै गएको हो । नेकपाले मागेको चार सिट दिन कांग्रेस तयार थियो ।तर एमाले तयार नभएपछि कुरो बिग्रिएको कांग्रेसका एक शीर्ष नेताले बताएका छन् ।

नेकपा नेता राजेन्द्र पाण्डे कांग्रेसका सभापति शेरबहादुर देउवा सकारात्मक देखिए पनि एमाले अध्यक्ष केपी शर्मा ओली चार सिट दिन तयार नहुँदा गठबन्धन भाँडिएको बताउँछन् । त्यहीकारण नेकपा एक्लै मैदानमा उत्रिएको उनले बताए ।

पाण्डेका अनुसार देउवाले गणतन्त्रवादी शक्तिहरू एक ठाउँमा उभिएर जानुपर्ने प्रस्ताव गरेका थिए। त्यसमा एमाले अध्यक्ष ओलीले सहमति जनाएर नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्डलाई सोध्ने निर्णय भएको थियो।

सहमतिअनुसार देउवाको योजनामा ओली र प्रचण्डबीच भेटवार्ता भएर राष्ट्रिय सभा निर्वाचनमा मिलेर जाने कुरा टुङ्गो लागेको थियो। तर प्रचण्ड दिल्ली जानुपर्ने भएपछि सिट बाँडफाँट टुङ्गिएको थिएन।

प्रचण्ड दिल्लीबाट फर्किएपछि मंगलबार नेकपाको परामर्श बैठक बस्यो । यता एमालेको पनि सचिवालय बैठकले गठबन्धनमार्फत् राष्ट्रिय सभा निर्वाचन सामना गर्ने निर्णय गरेको थियो।

काङ्ग्रेसले पनि मङ्गलबारै कार्यसम्पादन समितिको बैठक राखेर अन्य पार्टीसँग मिलेर राष्ट्रिय सभा निर्वाचनमा सहभागी हुने निर्णय गरेपछि चार दल एक भएर निर्वाचनमा जाने तयारीमा थिए । तर सिट बाँडफाँटमा कुरा नमिलेपछि तत्कालका लागि कांग्रेस, एमाले र जसपा गठबन्धन भर्सेस नेकपा भएको छ।

‘सात सिट लिने अडान ओलीले नछाडेपछि गठबन्धन नहुने भएको हो। सबैको मतभार हिसाब गर्दा कांग्रेसलाई ७ सिट, एमालेलाई ६ सिट, नेकपालाई चार सिट र जसपालाई एक सिट हुन्थ्यो, त्यसमा सहमति जनाएका थियौँ’, पाण्डेले खबरहबलाई भने, ‘तर एमाले अध्यक्ष ओलीले सात सिट छाड्नु भएन । हामीलाई तीन सिट मात्रै दिने भनेपछि सहमति भएन। त्यसपछि तपाईंहरू आफ्नो ढंगले अगाडि बढ्नुस्, हामी आफ्नो ढंगले जान्छौँ भनेर बाटो लागेका हौँ ।’

एमाले उपाध्यक्ष पृथ्वी सुब्बा गुरुङ पनि कांग्रेस–एमालेले सबै प्रदेशमा जित्ने बलियो सम्भावना हुँदाहुँदै पनि नेकपालाई समेट्न खोजेको बताउँछन् । तर नेकपा बाउँठिएको उनले आरोप लगाए ।

‘हामीले नेकपालाई समेट्न खोजेका हौँ तर उहाँहरूले क्षमताभन्दा बढी सिट मागेपछि कुरा मिल्ने अवस्था भएन’, गुरुङले खबरहबलाई भने, ‘कांग्रेसका साथीहरूले पनि मिलाउन धेरै प्रयत्न गर्नुभयो तर अहिलेलाई सकिएन ।’

यस्तो थियो देउवाको प्रस्ताव

नेकपाले मतभार अनुसार चार सिट मागेको थियो । तर, ओलीले तीन सिट मात्रै दिन चाहे । ओलीले अडान नछाडेपछि कांग्रेस सभापति देउवाले पनि मिलाउने कोसिस गरे । तर ओलीले अडान नछाडेपछि सहमति भाँडिएको हो ।

बुधबार बिहान पनि नेताहरू सिट संख्या मिलाउन जुटे। छलफलपछि नेकपा संयोजक प्रचण्डले चार सिट नपाए सहयात्रा गर्न नसक्ने देउवालाई सुनाए । देउवाले ओलीलाई फोन गरेर ६ सिटमा मान्न आग्रह गरे । तर ओलीले नमानेपछि देउवाले पनि थप अनुरोध गरेनन् ।

‘सभापतिज्यूले बिहान पनि ओलीलाई फोन गरेर ६ सिट लिएर जानुस् भन्नुयो। तर ओलीले सातबाट यताउता नगर्ने भनेपछि कुरा मिलेन’, काङ्ग्रेस कार्यवाहक सभापति पूर्णबहादुर खड्कानिकट एक नेताले भने, ‘नेकपाले आफ्नो मतभारका आधारमा चार सिट छोड्न मानेन । एमाले पनि सात सिटबाट पछि नहट्दा कुरा मिलेन । कांग्रेसले थप एक सिट छोड्ने कुरा भएन । गणतन्त्रवादी एक बनाउन कांग्रेस लचिलो भएकै हो। एमालेले ६ लिएर गएको भए राम्रै हुन्थ्यो ।’

देउवाले जेन-जी आन्दोलनपछि नयाँ दलहरूलाई चुनौती दिन गणतन्त्र पक्षधर एक ठाउँमा जुटाउन लागेका थिए । ओलीका कारण यो योजना अहिलेलाई असफल भएको कांग्रेसको निष्कर्ष छ।

यो पनि पढ्नुहोस् :

कांग्रेस नेता रमेश लेखक पनि पटक-पटक चार पार्टी एक भएर राष्ट्रिय सभा निर्वाचनमा जाने प्रयत्न गरिएको बताउँछन् । ‘सकभर हामीले मिलेर जाने कोसिस गरेका थियौँ । तर अहिले सकिएन। निर्वाचनसम्म नयाँ विकल्प आउन सक्ला’, उनी भन्छन् ।

नेकपा नेता देव गुरुङ गठबन्धन गरेर अगाडि बढ्दा लचिलो हुनुपर्ने बताउँछन् । आफूले मागेजति सिट नपाउने थाहा हुँदाहुँदै पनि कांग्रेस–एमालेले नेकपालाई कर गरेकोप्रति उनी प्रश्न गर्छन् ।

एमाले–कांग्रेसबारे उनी भन्छन, ‘चार सिट नदिने भए उहाँहरूले जित्ने निश्चित हुँदाहुँदै हामीलाई किन लिएर जानुपर्‍यो । लचिलो नहुने भए तपाईंहरू आफैं मिलेर जानुस् भनिदियौँ ।’

कांग्रेस एमाले र नेकपाका नेताहरू आगामी प्रतिनिधिसभाको निर्वाचनसम्म सहमति गरेर अगाडि बढ्न सक्ने अवस्थामा देखिन्छन् । यसबारे एमाले सचिव शेरधन राई भन्छन, ‘मनोनयन दर्ता भइसकेपछि निर्वाचनमा त्यसैअनुसार अगाडि बढिन्छ भन्ने लाग्छ। काङ्ग्रेस, एमाले, जसपा एक भए । नेकपासँग अहिलेलाई सहमति टुटेको रुपमा बुझौं ।’

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव आफूहरू काङ्ग्रेस–एमालेसँग मिलेर राष्ट्रिय सभा निर्वाचनमा जान तयार भएको बताउँछन्। ‘हामीले त नेकपालाई सँगै लिएर जाऊँ भनेका हौँ। तर नेकपा नजाने भएपछि हामीलाई पनि सिट थपिएला भन्ने लागेको छ’, उनी भन्छन् ।

प्रकाशित मिति : २३ पुस २०८२, बुधबार  २ : ३८ बजे

राष्ट्रियसभाका अध्यक्ष दाहालले गरे संसद् भवनको अनुगमन

काठमाडौं – राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले निर्माणाधीन सङ्घीय संसद् भवनको

समानुपातिक सिट बाँडफाँट, रास्वपालाई ५७ सिट मिल्दा श्रमसंस्कृति र राप्रपालाई ४-४ सिट

काठमाडौं- निर्वाचन आयोगले फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचन मतगणनाकार्य

सुर्खेतकी इनिसाको मृत्यु ‘जबरजस्ती करणी’बाटै, सीआईबीको टोली पनि पुग्यो

वीरेन्द्रनगर- सुर्खेतको गुर्भाकोट नगरपालिका निवासी १६ वर्षीया किशोरी इनिसा विकको

होर्मुजको जलक्षेत्र बन्द नै रहनेछ, शहीदका रगतको बदला लिइनेछ : सर्वोच्च नेता खामेनी

काठमाडौं– इरानका नवनियुक्त सर्वोच्च नेता आयातोल्लाह मोज्ताबा खामेनीले होर्मुजको जलडमरुमध्य